|

बैतडी : बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट ६ दिनमै कोरोनामुक्त भएका छन्।  यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले ६ दिनमै कोरोना जितेका हुन्।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको दोस्रो परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।  आत्मबल, साहस  र जडीबुटीको सेवनले छोटो समयमै कोरोना जित्न सफल भएको प्रदेश सभा सदस्य भट्टले बताए।

उनले भने‘२२ प्रकारका घरायसी जडीबुटी, बेसार, तातोपानीको प्रयोगले ६ दिनमै कोरोना जित्न सफल भए,होम आइसोलेसनमै बसेर कोरोना जितेको हुँ।’

 संक्रमणका बेला बिषेश गरेर गुर्जो, टिमुर, अदुवा, तुलसीपत्ता, जामुन पत्ता, लेक टिमुर, बेसार, तातोपानीको सेवन गरेको उनले बताए।  संक्रमण भइहाल्यो भन्दै नडराई आत्मबल र साहसले कोरोना जित्न  सकिने उनको भनाई छ। संक्रमणको बेला नकारात्मक सोच नराखि आत्मबल बढाई  कोरोनालाई सहजै रुपमा भगाउन सकिने उनको अनुभव रहेको छ। 

संक्रमित भएको बेला घाँटी दुख्ने, खसखस हुने, रुघाखोकी, ज्वरो आउने जस्ता लक्षण देखिएका थिए।  उनले भने
‘मनोवैज्ञानिक रुपमा आत्मबल बढाउने, सहजता अपनाउने, साहस बढायो भने कोरोना संक्रमणमुक्त हुन सकिने रहेछ।’

यसअघि स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउदा कात्तिक १ गते उहाँलाई कोरोना पोजेटिभ देखिएको  थियो।  गत असोज २५ गतेदेखि होम क्वारेन्टाइनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको र पुष्टि भएपछि उनी सदरमुकामस्थित गढीमा रहेका घरमै होम आइसोलेसनमा बसिरहेको थियो।

 गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किनुभएका प्रदेश सभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थियो। उनका गाडी चालकको भने पिसिआर रिपोर्ट भने यसअघि नै नेगेटिभ आएको छ।

भट्ट प्रदेश सभा सदस्यमा बैतडी निर्वाचन क्षेत्र नम्बर १ ख बाट नेकपाका  तर्फबाट निर्वाचित भएका थिए ।

कोरोना संक्रमित ४५९ पुगे

बैतडीमा  हाल कोरोना संक्रमितको संख्या ४५९ रहेको छ। जसमध्ये ३४ जनामात्रै सक्रिय संक्रमित रहेका छन्।  १ जनाको मृत्यु भइसकेकोको छ। अन्य संक्रमितले कोरोना जितेका हुन्।

 सबैभन्दा बढी जिल्लाको पाटन नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।  यस्तै मेलौली नगरपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् भने सिगास र सुर्नया गाउँपालिकामा ३/३ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा २÷२ जना सक्रिय संक्रमित रहेका छन् भने शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन्।

 जिल्लाको दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकामा हाल सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना भाईरसको जोखिम कायमै रहेकाले बढी भीडभाड हुने खालका कार्यक्रममा सहभागी नहुन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.