|

दमक (झापा) : नवरात्रि अर्थात् दशैं शुरु भएसँगै झापा र मोरङका दक्षिणी गाउँ रातभरि गुन्जयमान हुन्थे। ठाउँठाउँमा दशैं मेला लाग्ने गर्थे। ती मेलाका मुख्य आकर्षण हुने गरेका थिए, यसै भूगोलका आदिवाासी सन्थालहरु।

सन्थाल समुदायको परम्परागत भेषभूषा, बाजा र नृत्य झापा र मोरङमा लाग्ने दशैं मेला बजारहरुका मुख्य आकर्षण हुन्। सन्थाल समुदायमा दुर्गा तथा कालीलाई ईष्ट देवताका रुपमा पूजा गर्ने हुनाले पनि देवीको भक्तिगान गाउने पर्व दर्शैं यस समुदायका लागि विशेष हुने गर्दछ।

झापा गौरीगञ्ज गाउँपालिका–२ का राजु निरौला यसपालिको दशैं शून्यजस्तो लागेको बताउँछन्। अघिल्ला वर्षहरुमा यस बेलासम्म सन्थाल नृत्यको रौनकले गाउँ गुन्जिने गरेको थिए। ‘यसपाला यस्तो छैन,’ उनले भने, ‘कोरोनाका कारण ढोल बजेका छैनन्, गाउँ नै निस्त्याए जस्तो भएको छ।’

बर्सेनि सन्थाल नृत्य प्रतियोगिता गर्दै आएको झापाको कमल गाउँपालिका–५ को सगुन युवा क्लबले पनि यस वर्ष कुनै तयारी गरेको छैन। क्लबका अध्यक्ष देवेन्द्र आङदेम्बेका अनुसार प्रतियोगीतामा भारतको बिहारदेखि सन्थाल नृत्य टोली आउने गरेका थिए। टोलीहरुबीच प्रतिष्पर्धा गराई निश्चित रकम दिएर हरेक वर्ष प्रोत्साहन गरिँदै आएको उनले बताए। यस वर्ष कोरोनाका कारण सामूहिक रुपमा पर्व मनाउन र मेला लगाउन सक्ने अवस्था नभएका कारण कुनै तयारी पनि नगरिएको उनको भनाइ छ।

संस्कार धान्नै गाह्रो

यस वर्ष महामारीका कारण नृत्यको कुनै तयारी नगरिएको सन्थाल अगुवाहरु बताउँछन्। घर र थानमा मात्र पूजाको तयारी गरिएको कमल–४ का सरकार सोरेनले बताए। उनी स्थानीय जोगिचौन टोलका माझीहडाम हुन्। माझीहडाम सन्थाल बस्तीका प्रमुख पनि हुन्। उनैको अगुवामा हरेक समुदायका हरेक निर्णय हुने गरेका छन्।

यस वर्ष कतै पनि नृत्यको तयारी नभएको उनले जानकारी दिए। यस्तै, झापाकै गौरादह नगरपालिका–९ का बब्लु सोरेन पनि दशैं तयारीमा समय नदिएको बताउँछन्। दशैंको समयमा विभिन्न स्थानमा हुने दशैं मेलाहरुमा अघिल्ला वर्षहरुमा नृत्य देखाउने गरिएको भए पनि यस वर्ष मेला लाग्न सक्ने अवस्था पनि नरहेकाले घरैमा मात्र पूजा गर्ने तयारी रहेको उनले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.