|
फाइल तस्बिर

बैतडी : दशैंको अवसरमा सुदूपश्चिमकै सबैभन्दा बढी पशुबलि हुने बैतडीका शक्तिपीठहरुमा यस वर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाइएको छ। यहाँ रहेका  प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, उदयदेव भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी मन्दिर, त्रिपुरा सुन्दरी, रणशैनी मन्दिरलगायतका मन्दिरमा महाअष्टमी र महानवमीमा पशुबलि दिइन्छ। ती शक्तिपीठमा हुने जात्रा तथा मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्दछन्।

बैतडीको सबैभन्दा बढी पशुबलि हुने दशरथचन्द नगरपालिका–२ देहिमाडौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा यस वर्ष महाष्टमीको दिन लाग्ने मेलामा नित्य पूजाबाहेक अन्य कार्यक्रम नहुने भएको छ। कोरोना भाइरसको जोखिम बढ्ने भएकाले नित्य पूजाबाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए। 

महाष्टमीको मेलालाई मध्यनजर गरेर आज र भोलि दुई दिन देहीमाडौं बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय समेत भएको देहीमाण्डौं बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्रबहादुर बोहराले बताए। महाष्टमीको अवसरमा लाग्ने मेलामा कुनै प्रकारको भीडभाड नगर्न यस्तो निर्णय गरिएको हो। मेलामा भीडभाड नहोस् भनेर बजार पूर्ण रुपमा बन्द गर्ने, मन्दिरमा भीडभाड गर्न नदिने निर्णय भएको दशरथचन्द नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रनबहादुर बोहराले बताए। मेलाको दिन यही कात्तिक ८ गते सवारी साधन पूर्ण रुपमा रोक लगाएको छ। 

वडा कार्यालयले सूचना जारी गर्दै कसैले अवज्ञा गरेमा कानुन बमोजिम कारवाही हुने समेत जनाइएको छ। मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिवाना, मदिरा बिक्री वितरण गरेको पाइएमा १० हजार रुपैयाँ जरिवाना र जुवातास खेलेको अथवा खेलाइएको पाइएमा पाँच हजार रुपैयाँ जरिवाना गरिने सूचनामा उल्लेख गरिएको छ।

यस्तै, उदयदेव मन्दिरमा पनि यस .वर्ष पशुबलि नहुने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘भीडभाडले कोरोनाको जोमिम बढ्ने भएकोले जात्रा, मेलामा रोक लगाएका छौं।’ तल्लोस्वराडमा रहेका मेलौली भगवती मन्दिरमा हुने पनि पशुबलि र मेला रोक लगाइएको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्। 

जिल्ला सुरक्षा समितिले पनि जिल्लामा हुने मेला, जात्रा, बलि तथा भीडभाड हुने किसिमका सबै क्रियाकलापमा रोक लगाएको छ।  गृह मन्त्रालयको निर्देशनअनुसार नै सबै किसिमका भीडभाड हुने क्रियाकलापमा नहुने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए। बैतडीमा हालसम्म ४६६ जनामा कोरोना पुष्टि भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.