|

बाँके : थारू समुदायमा दशैँमा नाचिने ‘सख्या’ नाचको धार्मिक तथा सांस्कृतिक महत्व छ। सखिया नाचमा युवतीले कृष्ण लीलामा आधारित गीतलाई लयबद्ध गरेपछि युवाले मादल बजाउँछन्।

खासगरी थारू समुदायका युवा, युवतीले दशैँ आउन १५-२० दिन अघिदेखि दशैँको सखिया नाच नाच्छन्। करिब एक महिनासम्म नाचिने ‘सख्या’ नाचले थारू बाहुल्य गाँउमा निकै उल्लासमय बनाउने गर्दछ।

तन्त्रमन्त्र बोकेको ‘सख्या’ नाचमा थारू समुदायका अविवाहित युवा–युवतीले गाउँको मटावाको घरको आँगनमा सख्या नाच नाच्छन्। दुईवटा समूह बनाएर नाचिने यो नाचमा धार्मिक कथावस्तु समेटिएको छ। प्रत्येक एउटा समूहको अगुवासमेत बनाइएको हुन्छ। नेतृत्व गर्ने समूहको अगुवाई गर्ने युवतीलाई ‘मोह्रिन्या’ भनिन्छ। त्यही ‘मोह्रिन्या’ले सुरुमा गीत गाएपछि समुहमा सहभागी युवतीले गीतको लय टिप्छन्।

त्यसैगरी, अर्को समूहको अगुवा युवतीलाई ‘पछ्गिन्या’ भनिन्छ। पहिलो समूहले गाएको गीतलाई दोस्रो समूहका युवतीले लय मिलाएर गाउँछन्।

त्यसैगरी, मादल बजाउने समूहको पनि एकजा अगुवा ‘मोह्रिन्या’ हुन्छन्। युवतीले गीत गाएपछि युवाले मादल बजाउँछन्। जुन समुहको युवतीले गीत गाउँछन् त्यही समूहमा गएर युवाले मादल बजाउँछन्। मादल बजाउनेको नेतृत्व गर्ने युवाको तालमा सहभागी अन्य युवाले मादलमा साथ दिन्छन्।

पैँया’

सख्या नाचमा पैँयाको आफ्नै महत्व छ। सख्या नाचको बीच–बीचमा पैँया नाच गर्ने गरिन्छ। यसलाई थारू भाषामा पैँया लग्ना भनिन्छ। सख्या नाचमा युवतीहरु मादलको थरिथरि तालमा पैँया लाग्ने गर्दछन्।

पैँया नाचमा युवा र युवती वीच प्रतिस्पर्धा हुन्छ। यसले नाचमा थप रौनकता थप्छ। ‘सख्या’ नाचमा विभिन्न देवता, अन्नबाली, चराचुरुङ्गी, जनावरको नाम समेत लिने गरिन्छ। कृष्ण जन्माष्टमीमा आधारित कथा नसकिदासम्म युवतीहरु नाच्ने गर्दछन्।

कृष्ण जन्माष्टमीपछि नाचिने ‘सख्या’ नाच दशैँ सकिएको तीन या पाँच दिनपछि समापन गरिन्छ, तर युवायुवती शिक्षा आर्जन र जागिरीको शिलशिलामा बाहिर जानुपर्ने भएपछि यो नाच छोटो बनाउन थालिएको छ।

समापनको दिन मादल बजाउने युवालाई माछा, मासु, जाँड खुवाउने चलन छ। यसलाई थारू भाषामा ‘ख्यारा खैना’ भन्दछन्। भने, अर्को शब्दमा ‘डिउँटा बैठैना’ पनि भन्ने गरिन्छ। गीत नसकिँदासम्म नाच्नुपर्ने भए पनि हिजोआज गीत सिकाउने महिलाले गीत गाएर सकाउन थालेका छन्। महाभारतमा आधारित गीत सकिएपछि गाउँमा रहेको भुइँह्यार थानमा भएका देवताको पूजा गरिन्छ। सख्या नाच नाच्नुअघि देवताको अघि झ्वाङ मारे जस्तै नाच सकिएपछि पनि झ्वाङ मारेर नाचको अन्त्य गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.