|

काठमाडौं : बडादशैंको सातौं दिन आज नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। त्यसक्ममा कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरिएको छ।

तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरिएको हो। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो। समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र  दुर्गा भजनको धुन प्रस्तुत गर्‍यो।

 कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो।

यस पटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड-१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो।

बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो। समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित थिए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुगेका थिए। उनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत अभिवादन गरेका थिए।

बढाइँ कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। बढाइँ हेर्न विगतमा जस्तो टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो देखिन्नथ्यो। राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएका थिए।

वसन्तपुरमा फूलपाती भित्र्याउँदै

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.