भक्तपुर : नेवार समुदायले बडादशैंको आठौं दिन महाअष्टमीको अवसरमा शनिवार साँझ कुछि भ्वय् खाएर महाअष्टमी पर्व मनाएका छन्।
नेवार समुदायले दशैंलाई मोहनी नखःको रुपमा मनाइन्छ। विशेष गरेर अष्टमीलाई कुछी भ्वय्, नवमीलाई स्याक्वट्याक्व नखः र दशमीलाई चाँलको रुपमा भवानीको प्रसाद ग्रहण र टिकासँगै दशैं मनाइन्छ।
आश्विन शुक्ल प्रतिपदाको दिन नलाः स्वनेगु अर्थात् जमरा राखेर नेवार समुदायले मोहनी नखःको शुरुवात गर्दछन्। अष्टमीको दिन कुछी भ्वय् खाँदै मोहनी नखःको भोजको शुरुवात गर्दछन्। कुछी भ्वय् खाएपछि दशमीको दिन बिहान भवानीको प्रसाद ग्रहण नगरेसम्म भात खान नहुने प्रचलन समेत रहेको छ।
वर्षभरि मनाईने चाडपर्वमध्ये मोहनी नखः सबैभन्दा महत्त्वपूर्ण र ठूलो चाड हो। मोहनी नखः मनाउन घर परिवारदेखी टाढा परदेशमा नोकरी गर्ने, व्यापार व्यसाय गर्नेहरु समेत घर आउने गर्दछ। त्यसैगरी छुट्टिएर भिन्न बसेका दाजुभाइहरु पनि ज्येष्ठ सदस्य भएको घरमा जम्मा भई मोहनी नखः मनाउने गर्दछ।
विभिन्न चाडपर्वलाई विशेष र मौलिक परम्पराका साथ मनाउन सिपालु नेवार समुदायमा अष्टमीको खाने कुछी भ्वय्को विशेष महत्त्व रहेको छ। यसको परिकार समेत अन्य भोजको भन्दा भिन्न प्रकारको हुन्छ।
कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला (पोलेको मासु) पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने प्रचलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए। कुछी भ्वय्मा फलफुलमा अम्बा र केरा अनिर्वाय मानिन्छ।
कुछि भ्वय् खाने बेलामा माटोको सानो घैँटोमा जाँड अथवा रक्सी राखेर ‘थापिँचा स्वनेगु’ गर्ने प्रचलन रहेको धौभडेलले बताए। थापिँचा स्वने बेला माटोको सानो घैंटोलाई सलिँचाले घैंटोलाई छोप्नेर त्यसमाथि राँगोको मासु एक टुक्रा राख्ने प्रचलन रहेको धौभडेलले बताए। यसरी थापिँचा स्वनेगु गर्दा राखेको जाँड र मासु नवमीको दिन प्रसादको रुपमा खाइन्छ। यो प्रसाद खाँदा पेट सम्बन्धी विकार हट्ने विश्वास रहेको छ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानु पर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ। नयाँ बुहारी ल्याएको घरमा दाजुभाईलाई विवाह भोज खुवाएको छैन भने ती नयाँ बुहारीलाई कुछी भ्वय्मा सहभागी नगराउने प्रचलन समेत रहेको छ।
कुछीको अर्थ दुई माना हो भने भ्वय्को अर्थ भोज हो। दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय् रहन गएको एकथरीको भनाइ रहेको छ। अर्को थरी संस्कृतिकर्मीहरुले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय् हुन गएको र पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।