भक्तपुर : बडादशैंको नवौं दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी धुमधामले मनाउँदैछन्। यसै दिन नेवार समुदायले पनि मोहनी नखःको आज नवौं दिन महानवमीको अवसरमा स्याक्वट्याक्वको रुपमा आफ्ना इष्टदेवको पूजा गरी गच्छेअनुसार बली दिएर मनाउँदैछन्।
नवमीको दिन मोहनी नखःको मुख्य दिन हो। यस दिन नेवार समुदायले काटमार गर्ने, आफ्ना औजार, भिमसेनलगायतका देवी देवता र विशेषगरी माता दुर्गाको पूजा आराधना गर्ने र बलि दिने गर्दछन्।
बिहानैदेखि भक्तपुरका विभिन्न धार्मिक तिर्थस्थल, शक्तिपीठ र टोलटोलका मठमन्दिरहरुमा भक्तजनको भिड लागेको छ। परम्पराअनुसार भक्तजनहरु कोरोना संक्रमणको प्रवाह नगरी पूजामा व्यस्त देखिन्छन्। स्थानीय प्रशासन र नगरपालिकाले दशैंलाई सामान्य पूजामा सीमित गरी औपचारिकता मात्र दिन आग्रह गरे पनि मठमन्दिरमा पूजा गर्नेहरुको आस्थालाई कोरोनाले रोक्न नसकेको सर्वसाधारणहरु बताउँछन्।
मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीस्थित सिद्धिकाली मन्दिरमा बलि पुजा गर्न व्यस्त न्हुँछेबहादुर प्रजापतिले आसुरी शक्तिमाथि दैवी शक्तिको जितको प्रतीकको रुपमा रहेको मोहनी नखःमा यसवर्ष कोरोना महामारी छिट्टै नियन्त्रण होस् भन्ने कामनासहित पूजा गरेको बताए। कोरोना कै कारण बिस्काः जात्रादेखि कुनै पनि पर्व खुलेर मनाउन नपाएको बताउँदै उनले मोहनी नखःमा गरेको पूजा आराधनाले कोरोना छिट्टै परास्त हुने आशा व्यक्त गरे।
मोहनी नखःमा नेवार समुदायले विशेष खालको कालो टीका तयार गर्दछन्। यही टीकालाई मोहनी भनिन्छ, दशैंमा तान्त्रिक विधिद्वारा पूजा गरी सली (माटोको सानो भाँडो)मा मोहनी तयार गरिन्छ। मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ। त्यस दियोमाथि सली घोप्टो पारेर राखिन्छ। सलीमाथि पूजा गरिन्छ। यसरी सलीको भित्री भागमा दियोको धुवाँ जम्मा भएर मोहनी टीका तयार हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।