|

भक्तपुर : कोरोना कहरबीच भक्तपुरको ब्रम्हायणीमा आज मेला लागेको छ। स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि दशैँमा शक्तिपीठ खुल्ला नगरे पनि सर्वसाधारण बिहानैदेखि ब्रम्हायणी दर्शनका लागि पुगेका थिए।

बडादशैँको दशौं दिन विजयादशमीको अवसरमा ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्दछ। भक्तपुरका नगर र आसपासका गाउँबाट समेत विजयादशमीको दिन बाजागाजासहित दर्शन गर्न आउने प्रचलन रहेको छ। 

यसवर्ष कोरोना महामारीका कारण ब्रम्हायणीको मन्दिर प्रवेशमा रोक लगाएको कारण भक्तजनको भिडभाड र चहलपलहमा कमी आएको छ। नगरपालिकाले ब्रम्हायणी मन्दिर परिसरमा बाँसले बेरेर दर्शनार्थीहरूलाई भित्र प्रवेश गर्न बन्देज गरेको छ।

नगरपालिकाले स्वयम सेवक परिचालन गरेर भक्तजनलाई भिडभाड नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेको छ।

यसैगरी भक्तपुरको प्रसिद्ध तान्त्रिक नाच नवदुर्गा नाचका देवगणले सिद्धि प्राप्ति गरेका छन। महानवमीको दिन भक्तपुर गँछेंस्थित नवदुर्गा देवघरबाट दौडाएर ब्रम्हायणी पुयाएको खम्येको बलिसँगै नवदुर्गा देवगणले सिद्धि प्राप्ति गरेको हो। यसका साथै नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ। 

विजयादशमीको दिन भक्तपुरको तौलाछें टोलको झट्टाप्वा नासद्यः(नाट्यश्वरी)मा नवदुर्गाका मूल पुजारीले देवगणलाई तान्त्रिक विधि अनुरुप पुजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघुँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको हो।

देवगणले सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारीले देवगणलाई तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र काय“ बाजा तथा घ“घलाहरु नास द्यःको अगाडि राखि तान्त्रिक विधिपूर्वक पुजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी जुलाल कर्माचार्यले बताए।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका देवगणले नास द्यः अघितिर बाजाबजाई नवदुर्गा नाचको पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको पुजारी कर्माचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.