|

रुकुम : रुकुममा आयोजित मध्यपश्चिम रुकुम व्यापार महोत्सवमा चटपटेदेखि भटभटेसम्मका स्टल चर्चामा छन्। १ सय बढी व्यापारिक, पर्यटन, कृषि र सूचना प्रविधिस्थलमध्ये चटपटे र भटभटेको अलि बढी चर्चा छ।

महोत्सवस्थल भित्र र बाहिर गेट छेउछाउमा चटपटेको ब्यापार निकै छ भने भित्र रुकुमकै एक ब्यक्तिले बनाएको हेलिकप्टर (भटभटे) पनि निकै चर्चामा छ। रुकुम छिबाङ ४ का ३३ बर्षीय मञ्जित बिकले बनाएको उक्त हेलिकप्टर महोत्सव उद्घाटनको दिन र्‍याली सहित बजार परिक्रममा समेत गरिएको थियो। त्यस्तै महोत्सव उद्घाटनमा आएका प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले समेत अवलोकन गरेका थिए।

आकारमा केही सानो भएपनि झट्ट हेर्दा उड्ने हेलिकप्टर जस्तै नै देखिने उक्त सीप उनै मञ्जितले लगाएर बनाएका हुन्। मोटरसाइकलको इन्जिन प्रयोग गरेर पंखा घुम्ने सहितका अन्य पाटपूर्जा बनाइएको उक्त हेलिकप्टर अहिले निकै चर्चामा छ। २ सय १५ किलो तौल रहेको उक्त हेलिकप्टर उचाल्न कम्तीको आधा दर्जन ब्यक्तिहरु चाहिने गरेको छ।

दैनिक १० हजार दर्शक

महोत्सवमा दैनिकजसो झण्डै १० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघले जनाएको छ।  ‘कृषि, जडिबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मूल आधार’ भन्ने नारासहित रुकुमको बराहटाकुरमा  सञ्चालन भइरहेको हो।

महोत्सवबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन वस्तुको बजारीकरण गर्ने लक्ष्य रहेको मूल आयोजक समिति संयोजक टेकबहादुर पुनले जानकारी दिए। फागुन १२ गते उद्घाटन भएको महोत्सव २१ गतेसम्म सञ्चालन हुनेछ। दर्शकहरुको माग बढेका महोत्सव एक/दुई दिन बढाउने तयारी समेत आयोजकले गरेको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले बिभिन्न प्रस्तुतिहरु देखाइरहेका छन्।

महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु टीका पुन, नवीन पौडेल, भूमिका गिरी, राजु परियार, जीवन शर्मा, मिलन लामा सहित भद्रगोल टेलिसिरियलका कलाकारहरु सहित हास्य कलाकार कमल गाउँलेले समेत प्रस्तुति देखाएका छन्। त्यस्तै महोत्सवक अन्तिम दिन चर्चित मोडल जोतिम मगरलाई पनि ल्याउने तयारी गरिएको सांस्कृतिक उपसमिति संयोजक तिलक खड्काले जानकारी दिए।

महोत्सवमा करोडौंको कारोबार

महोत्सवमा राखेका स्टलहरुमाबाट करोड भन्दा बढी कारोबार भएको छ। बिभिन्न १ सय बढी स्टलहरु रहेको महोत्सवमा करिब ७ करोड बढीको कारोबार भएको हुनसक्ने आयोजकले अनुमान गरेको छ। त्यस्तै कम्तीमा ५० हजार दर्शकले मेला अवलोकन गरेको पनि अनुमान गरेको छ। आयोजकले १५ करोड बराबरको कारोबार र डेढ करोडको टिकट बिक्री गर्ने लक्ष्य राखेको छ। टिकट बिक्रीबाट आएको रकमले रुकुमको दुर्गम क्षेत्रका बिरामीहरुलाई ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको आर्थिक उपसमिति संयोजक प्रविर डाँगीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.