|
फाइल तस्बिर

कैलाली : टीकापुर नगरपालिका–५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैंसी छन्। नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन्। भैंसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार रुपैयाँभन्दा बढी हुन्छ।

विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैंसीपालन गरेकी छन्। दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैंसी पाल्ने योजना बनाएकी छन्।  ‘‘दुई भैंसी पालेर घाँस खेती समेत गरेकी छु,’ नेहाले भनिन्, ‘दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ। मेरो घर राम्रै चलेको छ।’

उनी मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताउँछिन्। ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो,’, नेहाले भनिन्, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, म सन्तुष्ट छु।’

भैंसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ। घरमा बसेर व्यावसायिकरुपमा भैंसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन्। टीकापुर–३ की तारा सुनारले पनि मासिक १२ हजार रुपैयाँसम्म आम्दानी लिइरहेकी छन्। ‘दूध  बेचेको आम्दानीले घर राम्रै चलेको छ,’ सुनार भन्छिन्, ‘‘म पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन।’

बजारमा दुधको माग बढिरहेको छ। बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षित भएका हुन्। महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन्। वडा नम्बर ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी १२ देखि १५ हजार रुपैयाँसम्म हुन्छ। ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ,’ ओडले भनिन्,  ‘‘समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु।’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैंक तथा अन्य लघुवित्त बैँकवाट भैंसी खरिदको लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भँैसीपालन गर्न सहज भएको हो। देउराली भञ्याङ कृषि सहकारीका प्रवन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदानसहितको ऋण भैंसीपालनका लागि दिएको बताइन्।

‘‘४२ हजार रुपैयाँ ब्याजमा ऋण दिन्छौं। त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ,’ प्रवन्धक चौधरीले भनिन्, ‘‘भैसी किनिसकेपछि गोठ निर्माणका लागि १८ हजार अनुदान दिन्छौँ। समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ।’ पहिले आम्दानी नभएर फुर्सदिला रहेका महिला भैंसीपालन गरेर मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका चौधरीले बताइन्।

टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बंगुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी र बंगुरका पाठा हुर्काउने कार्यक्रम राखेको छ। किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैंसीका पाडा र बंगुरका पाठा खरिद गरेर दिने पशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.