प्रवक्ता श्रेष्ठ भन्छन् : अर्को निर्णय भइसकेको छैन

|
फाइल फोटो

काठमाडौँः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक अनिश्चित भएको छ। पार्टी एकता महाधिवेशनको तयारीस्वरूप कात्तिक १५ देखि १७ गतेसम्मका लागि डाकिएको बैठक अनिश्चित भएको हो। 

कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको हुनाले केन्द्रीय कमिटीको बैठक अनिश्चिच बनेको हो। भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशनको कार्ययोजना बनाउनका लागि केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो। 

बैठकको मिति नजिकिँदै गर्दा बैठक बस्ने नबस्नेबारे कुनै थप निर्णय भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘अहिलेसम्म बैठक बस्ने नबस्ने भन्नेबारेमा थप निर्णय भइसकेको छैन। तर, बैठक सर्न सक्छ’ उनले थाहाखबरसँग भने।

पार्टीको तर्फबाट अर्को निर्णय नभइसकेको भए पनि अहिलेको परिस्थितिमा बैठक बस्न सक्ने अवस्था नरहेको स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 
‘अहिलेसम्म पार्टीले बैठकको बारेमा जानकारी गराएको छैन। तर, बैठक बस्न सक्ने अहिले अवस्था छैन’ उनले भने, ‘कोरोनाको प्रकोप बढिरहेको बेलामा केन्द्रीय कमिटीको बैठक बस्नै सक्दैन। बैठक सर्छ’ उनले भने। 

बैठकको मिति नजिकिँदै गर्दा अहिलेसम्म पार्टीले बैठकको बारेमा कुनै जानकारी नगराएको केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्। ‘बैठक बस्ने नबस्ने भन्नेबारेमा पार्टीकोे तर्फबाट कुनै जानकारी आएको छैन’ उनले भने। 

नेकपा नेताहरूको अनुसार अहिलेको परिस्थितिमा केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने ठहर गरिरहेका छन्। नेकपा केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्य रहेका छन्। सरकारले नै जमघट र धेरै मानिस एकठाउँमा भेला नहुन आग्रह गरिरहेको बेलामा सत्ताधारी दलले जम्बो टोलीको बैठक राख्न नहुने नेताहरू बताउँछन्। 

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनिरहेको बेलामा केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने नेताहरूको तर्क छ। 

एकताको अड्को 

पार्टीभित्रको लामो विवाद साम्य भएपछि असोज ६ गतेको बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई १० दिनको कार्ययोजना बनाउने जिम्मा दिइएको थियो। तर, अझैसम्म पनि बनाउन सकेका छैनन्।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखसमेत एकीकरण सम्पन्न गर्ने निर्णय गरेको थियो।

तर, अध्यक्षद्वय र महासचिवबाट पार्टी एकताको साङ्गठानिक प्रतिवेदन निर्माण ढिलाइ भइरहे चैतमा तोकिएको एकता महाधिवेशनसम्म असर गर्नसक्ने नेताहरुले बताउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.