गोयलको भ्रमणले नेपाली राजनीति अझै तरंगित

|
फाइल फोटो

काठमाडौं : जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय जासूसी संस्था रअ प्रमुख सामन्त कुमार  गोयलसँगको भेटबारे पहिलो पटक मुख खोलेका छन्। 

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत काठमाडौंमा भएको भनिएको उक्त भेटबारे बोलेका छन्। उनले लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको ट्वीटको जवाफ फर्काउँदै उक्त कुराको खण्डन गरेका हुन्। 

लेखक संग्रौलाले रअ प्रमुख गोयललाई जसपामा पहिलो वरीयताका अध्यक्ष भट्टराईले सुटुक्क भेटेको आरोप लगाएका थिए। तर, त्यसबारे बोल्दै भट्टराईले आफ्नो कान नछामी कागको पछि दौडिने देशमा सत्य के अपेक्षा गर्नु? भन्दै जवाफ फर्काएका छन्।

'डा. बाबुराम भट्टराई रअ प्रमुख सामन्त गोयललाई सुटुक्क भेट्ने, सामन्त गोयल बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने अनि यता बाबुराम आइसोलसनमा, उता सामन्त आइसोलेसनमा', लेखक संग्रौलाले भनेका छन्, 'देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो।'

पत्नी हिसिलासहितलाई कोरोना संक्रमण देखिएपछि नेता भट्टराई आइसोलेसनमा बसेका छन्। तर, नेता भट्टराईलाई कोेरोना देखिएपछि रअ प्रमुख गोयल पनि आइसोलेसनमा बसेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गोयलले भेटेका नेताहरुको सूचीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि छन्। 

अध्यक्ष दाहाल, नेता नेपाल लगायतका नेताहरुले गोयलसँगको भेटलाई सार्वजनिक रुपमै खण्डन गरिरहेका छन्। र, प्रधानमन्त्री ओलीसँगको भेटवार्तालाई लिएर चौतर्फि रुपमा टिकाटिप्पणी भइरहेको छ।

यही आरोप लागिरहेको बेलामा जनता समाजवादीका अध्यक्ष भट्टराईले आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्यको अपेक्षा गर्न नहुने तर्क गरेका छन्। 

'खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य न्याय, बुद्धि विवेकको के अपेक्षा गर्नु?' उनले भनेका छन्, 'भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश बिपी र पिएललाई बाँचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश अनि हामी पछि नपरे को त?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.