|
फाइल फोटो

ओखलढुंगा :वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ।

विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि पहिलो चरणमा माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको गाउँपालिकाले जनाएको छ।

कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न गाउँपालिकाले पहिलो चारणमा ८, १० र १२ कक्षा सञ्चालनमा रहेका १५ वटा विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए। दोस्रो चरणमा आधारभूत तहका विद्यालयमा समेत इन्टरनेट सेवा जडान गर्ने योजना रहेको उनको भनाइ छ। इन्टरनेट सेवा प्रयोग गरेबापत मासिक शुल्क भने विद्यालय स्वयंले बुझाउनुपर्ने छ।

इन्टरनेटको सुविधा भएपछि विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने मात्र होइन, विद्यालयको प्रशासनिक कामकाज पनि छिटोछरितो र सहज हुने विश्वास लिइएको छ।

इन्टरनेट सेवाले शिक्षकको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने शिक्षकहरुको दाबी छ। यसअघि गाउँपालिकाले सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि यहाँका नौ वटै वडा कार्यालयमा इन्टरनेट सुविधा जडान गरिसकेको छ। कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.