|

भक्तपुर : विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औं सम्मेलन भक्तपुरमा बुधवार सम्पन्न भएको छ। नेपाल भाषा साहित्यको विकास, संरक्षण र सम्र्बद्धनको उद्देश्यले स्थापना गरिएको गुठीको सम्मेलनमा विभिन्न साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गरेका थिए।

सम्मेलनको उद्घाटन गर्दै गुठीका पूर्व अध्यक्ष गोविन्दमान श्रेष्ठले पञ्चायतकालमा नेपाल भाषा साहित्यको माध्यमबाट जनतामा राजनैतिक चेतना ल्याउने र मुलुकमा प्रजातन्त्रको स्थापना, विभिन्न जनजातीहरुको भाषा, साहित्य, कलासँस्कृतिको विकास बिस्तारको लागि गुठीको स्थापना गरेको बताए। उनले मुलुकमा विभिन्न कालखण्डमा राजनैतिक परिवर्तन हुँदैं गणतन्त्र स्थापना भइसक्दा पनि भाषा साहित्यको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गरे।

गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न सम्मेलनमा नेपाल भाषा साहित्यकारहरु रेणु श्रेष्ठ, शौरभ शाक्य, न्हुँछेभक्त कवाँ, शरद कसा, नारायण बज्राचार्य, लोककवी राजभाई चकमी, बसन्त नकर्मी, हरिगोविन्द, गोविन्दमान श्रेष्ठलगायतले नेपाल भाषाको कविता वाचन गरेका थिए।

त्यसैगरी तेजकृष्ण श्रेष्ठ, नरेन्द्र प्रसाद जोशी र बाबुकाजी सुवालले गजल र साहित्यकारहरु सुरेश प्रधान र धर्मराज राजकर्णिकारले हाइकु वाचन गरेका थिए। कार्यक्रममा त्रिभुवन विश्व विद्यालयको स्नातककोत्तर तहमा नेपाल भाषामा नेपाल प्रथम हुन सफल कविन श्रेष्ठलाई गुठीका स.स्थापक स्व. रत्नगोपाल साँयजुको स्मृतिमा उनको परिवारले स्थापना गरेको विराट ज्वलन्त सिरपा र गतवर्षको एसईई परीक्षामा नेपाल भाषामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सुश्रीसुस्मिता राजभण्डारीलाई नेपाल भाषा पदकले सम्मान समेत गरेको थियो।

सो अवसरमा गुठीका अध्यक्ष कर्माचार्य, कोषाध्यक्ष रामगोपाल चगुठी, नविन प्रकाश श्रेष्ठ, सम्मानित व्यक्तित्व कविन श्रेष्ठ र सुस्मिता राजभण्डारीलगायतले गुठीले नयाँ पुस्तालाई नेपाल भाषा साहित्यको क्षेत्रमा आकर्षित गराउन, उनीहरुको अभिरुचि अभिवृद्धि गराउन कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.