मुस्ताङमा एकजना, मनाङमा मात्रै छैन कोरोना

|

काठमाडौं :  दशैँ विदापछि पिसिआर परीक्षण क्रमश: बढ्दै जाँदा देशभर एक हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ८ सय ९६ नयाँ संक्रमित थपिएका छन् भने हिमालपारिको जिल्लामा मुस्ताङमा पनि एकजना महिलालाई कोरोना पुष्टि भएको छ।

८ हजार २ सय ४८ व्यक्तिको पिसिआर परीक्षण गरिँदा ७ सय ५८ महिला र एक हजार एक सय ९६ पुरुषमा कोरोना देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। बाग्मती प्रदेशमा मात्रै एक हजार ६३ जनालाई कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश १ मा ५७२ जनालाई कोरोना भएको छ। लुम्बिनी प्रदेशमा २२, गण्डकी प्रदेशमा १९१, प्रदेश २ मा ८७, सुदुरपश्चिम प्रदेशमा १३ र सबैभन्दा थोरै कर्णाली प्रदेशमा ६ जना नयाँ संक्रमित थपिएका छन्।

बुधबार प्रदेश १ को इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ७८, तेह्रथुममा ३, धनकुटामा ५, भोजपुरमा १, मोरङमा २५३, संखुवासभामा ४, सुनसरीमा २०३ र सोलुखुम्बुमा ९ जनालाई कोरोना पुष्टि भएको छ।

अर्कातिर प्रदेश २ को धनुषामा ८, पर्सामा २०, बारामा ३,  महोत्तरीमा २७, रौतहटमा ३, सप्तरीमा ११, सर्लाहीमा ६, सिराहामा  ९ जना संक्रमित थपिएका छन्। 

बागमती प्रदेशको काठमाडौंमा ६९६, काभ्रेमा ८, चितवनमा १६३, धादिङमा २, नुवाकोटमा ५, भक्तपुरमा २९, ललितपुरमा ११८, सिन्धुपाल्चोकमा ३ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।

उता गण्डकीको कास्कीमा ९९,  गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा ५०, पर्वतमा १, मुस्ताङमा १, लमजुङमा २, बाग्लुङमा ४, स्याङ्जामा १३ जना थपिएका छन्। 

लुम्बिनीको गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा १, पाल्पामा १, बर्दियामा ६, बाँकेमा १, रुपन्देहीमा ७ जना थपिएका छन्। कर्णालीको दैलेखमा ६ जना थपिँदा सुदूरपश्चिमको अछाममा ४, कञ्चनपुरमा २ र कैलालीमा ६ जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ८२ सय ४८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख ९ हजार २९५ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

सरकारको पछिल्लो विवरण अनुसार देशभर ३ सय ६२ जना कोरोना भाइरस संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.