हत्यारालाई कारबाही गर्न ३७ केन्द्रीय सदस्यको माग

|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मातृका यादवले पर्सा घटना सुनियोजित रुपमा भएको बताएका छन्। उनले थाहाखबरसँग संक्षिप्त कुराकानी गर्दै पर्सा घटना सुनियोजित रुपमा घटाइएको आरोप लगाएका हुन्। 

‘घटनाको पृष्ठभूमि हेर्दा घटना सुनियोजित जस्तो देखिन्छ। घटना भएको एक साता काटिसक्दासमेत आजसम्म घटना दर्ता भएको छैन’ उनले भने, ‘हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको देखिन्छ। त्यसैले यस घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्छ।’

अहिले त्यही घटनाको वास्तविकताबारे छानविन गर्नका लागि घटना भएको जिल्लामै रहेको उनले बताए। ‘अहिले त्यही घटनाबारे थप बुझ्नेको लागि यहीँ आएको छु’ उनले भने।

कात्तिक ६ गते पर्साको विन्दवासीनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओलीनिकट कार्यकर्ताहरूबीच झडप हुँदा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको थियो।

कारबाहीको माग

पर्सा जिल्लामा भएको घटनाको दोषीलाई कारबाही गर्नका लागि नेकपाका प्रदेश २ का ३७ केन्द्रीय सदस्यले माग गरेकोे छन्। पूर्वमन्त्रीसमेत रहेको यादवको नेतृत्वमा ३७ केन्द्रीय सदस्यले दोषीलाई कारबाहीको माग गरेका छन्। 

‘विन्दवासीनी गाउँपालिका ५ प्रसौनीमा कात्‍तिक ६ गते हाम्रो पार्टी कम्युनिष्ट पार्टी (नेकपा) को गाउँपालिका कमिटीका पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण कार्यकम स्थलमा केही आपराधिक व्यक्तिहरुबाट भएको सांघातिक आक्रमण र त्यस आक्रमणबाट भएको पार्टी जिल्ला कमिटीका सदस्य तथा त्यसै गाउँपालिका कमिटीका सचिव क. मुकेश चौरसियाको हत्या बारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ ३७ केन्द्रीय सदस्यले जारी गरेको वक्तव्यमा भनिएको छ।

‘घटनाको पृष्ठभूमि हेर्दा पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू निर्विवादित थिए। शपथग्रहण कार्यक्रम आयोजना भयो। कार्यकम सुरु हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको योजनामा अपराधीहरू बाँसका भाटालगायत हतियार बोकी कार्यक्रमस्थल पुगे। पार्टीको ब्यानर र झण्डा च्यात्न थाले क. मुकेश चौरसियाले रोक्न खोज्‍दा निहत्था कमरेडहरूमाथि आक्रमण गरे’ वक्तव्यमा भनिएको छ। 

कार्यक्रममा बाँसको भाटाले अन्धाधुन्ध प्रहार भएपछि उनको मृत्यु भएको थियो। ६ गते घाइते भएको उनले उपचारको क्रममा ७ गते अस्पतालमा ज्यान गएको थियो। 

‘घटनाको प्रकृति हेर्दा, सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ। यस घटनाको जति भर्सना गरे पनि कमै हुन्छ। त्यसैले यस घटनाका सम्पूर्ण दोषीहरूलाई कडाभन्दा कारबाही गरिनुपर्छ’ भनिएको छ। 

हालसम्म पीडितको जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्जले जाहेरी नलिनुलाई आपराधिक घटनाको संरक्षण गरेको बताएका छन्। हत्याजस्तो घटनाको प्रहरीले जाहेरी दर्तासमेत नगर्नु प्रहरीबाट कानूनी राज्यको खिल्ली उडाएको दाबी गरेका छन्। 

प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको उनीहरुको ठहर छ। जिल्ला प्रहरी प्रमुखबाट 'अमुक व्यक्तिको नाम राख र अमूक व्यक्ति हटाउ' भनिनु अपराधलाई प्रश्रय दिएको उनीहरुले बताएका छन्। 

पीडित निवेदनको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कार्वाही गर्न माग गरेका छन् मृतकलाई सहित घोषणा, मृत्तक परिवारलाई राहत, घाइतेहरुको निशुल्क उपचार र कर्तव्यच्यूत भएका पर्सा जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाही गर्नुपर्ने उनीहरुको माग गरेका छन्। 
 
को-को छन् हस्ताक्षर गर्ने?

पर्सा घटनामा सरकारको तर्फबाट पहलकदमी नभएको भन्दै सत्तारूढ दलका ३७ नेताले दोषीलाई कारबाहीको माग गरेको छन्। पर्सा घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै हस्ताक्षर गर्नेमा पूर्वमन्त्री यादवसहित प्रदेश सह इन्चार्ज विश्वनाथ शाह, नागेन्द्र प्रसाद चौधरी र महेन्द्र पासवान छन्। 

केन्द्रीय सदस्य रामचन्द्र झा, शत्रुध्नप्रसाद महतो, योगकुमार बरबरिया, श्रीप्रसाद साह, यदुवंश झा, सुधीरप्रसाद साह, अजयशंकर नायक, राजु खड्का, बोधमाया यादव, भरतप्रसाद साहले पनि सही गरेका छन्।

रामबहादुर यादव, प्रकाश पोखरेल, रामप्रित पासवान, दीर्घबहादुर योञ्जन, डाचाराज वाग्ले, रवीन्द्र बैठा, प्रह्लाद बुढाथोकी, हरिनारायण चौधरी, जगत यादव, गोपाल ठाकुर, रामचन्द्र यादव पनि हस्ताक्षर गर्नेमा छन्। रामकुमार शर्मा, दिनेश राई, रामचन्द्र साह, सरलाकुमारी यादव, कल्याणी खड्का, ममता गिरि, लक्ष्मण पौडेल, रत्नेश्वर गोइत, युवराज भट्टराई, अशोकुमार मण्डल, महादेव यादव, टेकबहादुर बलम्पाकी रहेका छन्।   

यसो भनेका थिए प्रचण्डले 

त्यसो त यसअघि नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घटनामा ज्यान गुमाएका चौरसियालाई शहीद घोषणा गर्न माग गरिसकेका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले चौरसियालाई शहीद घोषणा गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका थिए। 

‘म कार्यकारी अध्यक्षका रुपमा उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु’, दाहालले भनेका थिए, ‘म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.