|

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१० का धीरेन्द्र श्रेष्ठले ३० वर्ष राष्ट्रिय वाणिज्य बैंकको जागिरे जीवन बिताए। हाल उनी सेवानिवृत्त भइसकेका छन्।

लामो समय जागिरे जीवन बिताएका श्रेष्ठलाई अवकास प्राप्त भइसकेपछि पनि त्यसै बस्न मनले मानेन।

३ दशक लामो जागिरे जीवनपछि  त्यत्तिकै बस्न उनको मनले मानेन। जीवनको ऊर्जाशील समय जागिरमा बिताएका श्रेष्ठ अहिले कृषि पेशामा तल्लिन बन्न थालेका छन्। प्राय मानिसहरु आफ्नो जागिरबाट सेवानिवृत्त भएपछि परिवारको साथमा रमाउने र केही हदसम्म भए पनि विलासी जीवन बिताउने गर्दछन् श्रेष्ठमा भने यो कुरा लागू भएन।

श्रेष्ठले अहिले आफ्नै डेढ बिघा जग्गामा कागतीको खेती गरिरहेका छन्। बजारमा पनि राम्रो माग भइरहेको र तराईमा पनि राम्रो उत्पादन हुने भएपछि श्रेष्ठलाई कागतीखेतीले आकर्षण गरेको हो।  कागतीको माग अनुसार स्वदेशको उत्पादनले नपुग्दा भारतबाट आयात हुँदै आईरहेको छ। कागतीको मूल्य पनि राम्रो पर्ने हुनाले श्रेष्ठले कागती खेती गर्न सुरु गरेका हुन्।

उनले कृष्णगोपाल एकिकृत कृषि फर्म दर्ता गरेर कागतीको खेती सुरु गरेका हुन्। विभिन्न संचारमाध्यममा आउने कृषि समाचार र कृषि पत्रिकाको अध्यनबाट आफूलाई पनि कृषि क्षेत्रमा लाग्न प्रेरित गरेको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘दैनिक जीवनमा प्रयोग भैरहने स्वास्थ्यका लागि पनि उपयोगी भएपनि भारतबाट धेरै आयात हुने भएकोले अवकास पछिको जीवन कृषिमा समर्पित गरेको हुँ।‘

सजिलो छ कागती खेती

श्रेष्ठले भारतीय गोल्डन लेमन जातका कागतीका विरुवाहरु लागाएका छन्। खेतमा हुर्किरहेका कागतीका विरुवा ३ वर्षको भएपछि फल दिन सुरु गर्ने उनी बताउँछन्। यसका लागि धेरै सिँचाइको पनि आवश्यकता नपर्ने हिँउदमा २ पटक सिंचाई गरे पु्ग्ने र वर्षायाममा आकासकै पानीले पर्याप्त हुने भएकोले पनि कागती खेती गर्नल सहज भएको उनको भनाइ छ।

कागती खेतीका लागि धेरै पानी जम्ने ठाउ उपयुक्त नहुने भएकोले पानी नजम्ने गग्गाको छनोट गर्नु उपयुक्त हुने श्रेष्ठले बताउँछन्।

श्रेष्ठले अहिले डेढ विगाहा जग्गामा १ हजार ५ सय कागतीको विरुवा रोपेका छन्। उनले यस खेतीका लागि जग्गा बाहेक ६ लाख लगानी गरेका छन्। एकपटक विरुवा रोपेपछि त्यस बोटबाट २५ देखि ४० बर्ष सम्म उत्पादन लिन सकिने उनी बताउँछन्। उत्पादन राम्रो भएमा एउटै बोटमा एक वर्षमा ५ सय देखि १ हजार २ सय वटासम्म फल लाग्ने उनको भनाइ छ।

उत्पादित कागतीलाई बजारको कुनै अभाव नहुने र मूल्य पनि राम्रो पर्ने भएकोले पनि यस खेतीबाट लाखौं रुपैयाँको आम्दानी गर्न सकिने भएकोले पनि कागती खेतीले आफ्नो मन जीतेको श्रेष्ठले बताए।

उनले कागती खेतीका अलावा माछा पालन र धान खेतीसमेत गर्दै आएका छन्। उनको विहान देखी साँझ सम्म हरेक दिनको दैनिकी कृषि कर्ममै बित्ने गरेको छ।

कतिपयले कृषि गर्ने बाहनामा नेताको आसेपासे बनेर चाकडी गरेर अनुदान लिने गरेको भए पनि आफु भने कसैको आसेपासे नभएकै कारण अहिले सम्म अनुदान लिन नगएको उनले बताए।

जिल्लामा कागति खेतीसँग सम्बन्धीत कृषि प्राविधिक नहुँदा रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका माध्यमबाट प्राप्त गर्ने ज्ञानकै आधारमा खेती गरिरहेको उनको भनाइ छ। कम्तीमा एकजना भए पनि कागती खेतीसँग सम्बन्धित कृषि प्राविधिकको व्‍यवस्था हुन सके समय समय परामर्श लिन सहज हुने उनी बताउँछन्।

पश्चिम नवलपरासीमा पछिल्लो पटक अन्य किसानहरुको पनि कागती खेतीमा रुचि बढ्दै गएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.