|

काभ्रे : काभ्रेमा कोरोना भाइरसबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ। जसमा २२ पुरुष र १० महिला रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेहरूमा जिल्लाभित्रका १३ पुरुष र ८ महिला गरी २१ जना रहेको छ। त्यस्तै अन्य जिल्लामा स्थायी घर भई काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ८ पुरुष र ३ महिला गरी ११ जनाका रहेको कार्यालयले जनाएको छ।

शुक्रबार चौरीदेउराली गाउँपालिका ५१ वर्षीय विष्णु चौलागाईंको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको हो। उनको ओम अस्पतालमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको थियो। उनी काभ्रे पोष्टका प्रकाशक तथा प्रधान सम्पदकसमेत हुन्।

नेपालमा पहिलो पटक सिन्धुपलञ्चोक घर भई धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु भएको थियो। त्यसयता देशभर कोरोना संक्रमणबाट ९ सय ४ जनाको मृत्यु भइसकेको छ।

४४ नयाँ संक्रमित थपिए

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा शुक्रबार ४४ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरूमा बनेपा नगरपालिकाका सबैभन्दा धेरै रहेको छ।

डा. झाका अनुसार बनापा नगरपालिकाका १० महिला र १५ पुरुष गरी २५ जना रहेका छन्। त्यस्तै, मण्डनदेउपुर नगरपालिकाका १ पुरुष, पनौती नगरपालिकाका १ महिला ३ पुरुष, धुलिखेल नगरपालिकाका ३ महिला र ८ पुरुष, बेथान गाउँपालिकाका १ पुरुष र भुम्लु गाउँपालिकाका १ महिला रहेका छन्।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ६ जना पुगेको छ। जसमा महिला ६ सय २४ जना र ९ सय ८२ जना रहेका छन्। त्यसैगरी, आज निको भई घर फर्किनेको संख्या ५ जना रहेको छ।

अस्पतालमाभन्दा होम आइसोलेशनमा बढी संक्रमित

जिल्लामा सक्रिय संक्रमित संख्या महिला २ सय १४ जना र पुरुष २ सय ६८ जना गरी ४ सय ८२ जना रहेका छन्।

पछिल्लो समय कोरोना संक्रमित अस्पतालमाभन्दा होम ओसोलेशनमा बढी रहेका छन्। अस्पतालमा संक्रमितले धेरै मूल्य तिरेर उपचार गर्नु पर्ने अवस्थाले पनि होम आइसोलेशन बस्नेको संख्यामा वृद्धि भएको हो।

जिल्लामा सक्रिय संक्रमितहरू मध्ये अस्पतालको आइसोलेशनमा महिला ३६ जना र पुरुष ५४ जना गरी ९० जना रहेको छ। त्यस्तै, होम आइसोलेशनमा महिला १ सय ७८ जना र पुरुष २ सय १४ जना गरी ३९२ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.