काठमाडाैं : नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताएका छन्।
भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दर्ज्यानी लिन यही कात्तिक १९ गते नेपाल आउँदै छन्। नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन रहँदै आएको छ।
सन् १९५० देखि दुवै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिँदै आएको पाइन्छ।
तर सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने २०२० जेठ २५ गते राजा महेन्द्रले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसा (मानेक साह) लाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथि पदवी दिने प्रचलन सुरु भएको बताएका छन्।
शुक्रबार एक अन्तरवार्ताका क्रममा थापाले अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाणअनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दर्ज्यानी नै पहिलो भएको बताएका छन्।
यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधान सेनापति रहेका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको दिएको लिखित प्रमाण रहको पनि उनले बताए।
त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दिने प्रचलन बसेको उनको भनाइ छ। तर २०४४ साल देखि २०४८ साल सम्मका नेपाली सेनाका प्रधान सेनापति महारथी सच्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पदवी नलिएको पनि उनले त्यस क्रममा उल्लेख गरे।
तत्कालीन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतको बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालीन प्रधान सेनापति जबराले भारत भ्रमण गरेका थिएनन्।
त्यसैकारण उनले पदवी नलिएका पनि थापाले स्पष्ट पारे। नेपालमा एकमात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पदवी दिने गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।