भक्तपुर : बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर नआउने भएकी छिन्। यसअघिका वर्षहरूमा नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुरमा राष्ट्रपतिको सवारी हुने गर्थ्यो।
वि. सं. २०४५ पछि पहिलो पटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउने भएको बताइएको छ। कोरोना महामारीका कारण यस्तो अवस्था निम्तिएको हो।
बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन स्व. राजा वीरेन्द्रले शुरु गरेका थिए।
उनले वि. सं. २०४५ सालमा शुरु गरेको प्रचलनलाई पुर्व राजा ज्ञानेन्द्र, वि. सं. २०६२/०६३ को जनआन्दोलन पछि राजाको अधिकारी कटौती गरेर प्रधानमन्त्री र राष्ट्रप्रमुखको भूमिकामा रहेका स्व. गिरिजा प्रसाद कोइरालाले पनि निरन्तरता दिएका थिए।
त्यसैगरी गणतन्त्रको स्थापनापछि प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि यसलाई निरन्तरता दिएका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा उपराष्ट्रपति नन्दकिशोर पुनले समेत निरन्तरता दिएका थिए।
कोरोना भाइरस महामारीका कारण राष्ट्रपति भण्डारी भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवास शीतल निवास पठाउने तयारी देवगणले गरेका छन्। आउँदो मंगलवार नवदुर्गालाई विः ट्ङकेगु (महा नवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्ति सेवन) विधि सकाएर शीतल निवासमै प्रसाद दिन जाने तयारी गरिएको श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
समितिका सचिव रत्नमान बनमालाले शीतल निवासबाट कुनै बोलावट नभएपनि नियमित रुपमै प्रसाद ग्रहण गरिरहेको परम्परालाई नियमित गर्न प्रसाद शीतल निवास पुर्याउने तयारी गरिएको जानकारी दिएका थिए।
समितिका अध्यक्ष, सचिव लगायतका सदस्य र देवगण सहितको टोली शीतल निवास जाने र अध्यक्ष ब्रिजेश बनमाला मार्फत राष्ट्रपतिलाई बिमिरो, पञ्चरंगी धागो, फूलमाला लगायत प्रसाद दिने तयारी भइरहेको सचिव बनमालाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।