|

स्याङ्जा : गल्याङ नगरपालिका–७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ। मगर समुदायको भाषा, लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए।

‘पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्,’ प्रअ रानाले भने, ‘मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं।’

विद्यालयले गत माघदेखि कक्षा १ मा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा १०० पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो। ‘कक्षा एकमा अध्ययनरत विद्यार्थीलाई मगर भाषा पढाएका छौं,’ प्रअ रानाले भने, ‘आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयकोरुपमा मगर भाषा पढाउन  शुरु गर्छौं।’

विद्यालयमा हाल कक्षा १ देखि ३ सञ्चालन हुँदै आएको छ। मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताए। मगर भाषा, कला, संस्कृति, लिपिको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्न नगरपालिकाले मगर भाषा अध्यापनका लागि एक जना शिक्षक उक्त विद्यालयलाई उपलब्ध गराएको शाखा प्रमुख आचार्यले बताए। नगरपालिकाले नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषालाई मान्यता दिने निर्णय गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.