|

अर्घाखाँची : सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएको अवस्थामा मृत्यु भएकी महिलाको शव उठेको छ। गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबार साँझ सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो।

गीताको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको भन्दै परिवार र आफन्तले शव उठाउन मानेका थिएनन्। निष्पक्ष छानविन भई क्षतिपूर्ति पाउनुपर्ने माग राखी बाहिर धर्ना दिएका गीताका परिवार, आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार विहान एक चरणको छलफल भएपछि दिउँसो शव उठाउन परिवार राजी भएका हुन्।

घटनाको बारेमा कार्तिक २० गते अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट लगायतसँग फेरि वार्ता गर्ने सहमतिमा अहिलेको लागि शव उठाइएको मृतकका भाइ मोहन पाण्डेले जानकारी दिए।

उनले भने, ‘शव उठे पनि हाम्रा बिभिन्न मागहरु छन्। अस्पतालको लापरबाही नभएको भए गीताको ज्यान बच्थ्यो। यहाँ चिकित्सकको गम्भीर लापरबाही छ। यस्तै हो भने पटकपटक अरू गीताहरु अकालमै नमर्लान् भन्न सकिन्न। त्यसैले हामीले घटनाको छानबिन गरी दोषीमाथी कडाकारबाही गरिनु पर्दछ र हामीले पनि क्षतिपुर्ति पाउनु पर्दछ।‘

गीताका परिवारले शल्यक्रिया गर्ने चिकित्सक डा. अनुपा थापाको लापरबाहीकै कारण गीताको अकालमा ज्यान गएको भन्ने आरोप लगाएका छन्। आफन्तहरू भन्छन्, ‘डाक्टर थापाले आमा र बच्चाको स्थितिको सामान्य पनि ज्ञान राख्न सकिन्न्। शिशु मरिसकेको थाहा पाए पनि नर्मल डेलिभरी गराउन उद्धत भइरहिन्। अन्तिम अवस्थासम्म पनि उनले हामीलाई झुटो विवरण बताइन्। आमा र बच्चाको स्थिति क्रिटिकल हुँदासमेत गम्भिर बनिनन्, यो उनको लापरबाही नभएर के हो?’ मृतकका भाई पाण्डेले आक्रोश हुँदै प्रश्न गरे।

‘म सुरुदेखि अन्तिमसम्म बारम्बार चिकित्सक थापाको सम्पर्कमा नै छु। शिशु छैन भने पनि आमा बचाइदिनुहोस् भनेर मैले भनेकै थिएँ। जति रगत खोज्न परे पनि म खोज्छु। तर अप्रेसन गरेर बच्चा निकाली आमालाई बचाइदिनुहोस् प्लिज ! मैले भनिरहेको थिएँ। तर उहाँले नर्मल हुन्छ , दुवै सुरक्षित नै हुनुहुन्छ भनेर मलाई अन्तिमसम्म पनि डाक्टरले झुटो कुरा  भन्नुभयो’ उनले दुखेसो सुनाए।

चिकित्सकको चरम लापरबाही भएकै कारण दिदीले अकालमा ज्यान गुमाएको भन्दै डाक्टर थापालाई कानुनबमोजिम कारबाही नगरिए कडा कदम चालिने मृतकका भाई पाण्डेले  चेतावनी दिएका छन्।

मृतकका आफन्त कमलराज गिरीले भने, ‘पाँच मिनेटअघि बच्चा ठिक छ। त्यसपछि बच्चा मरिसक्यो। त्यसपछि आमालाई पनि बचाउन सकिएन भनेर ब्रिफिङ हुन्छ। बच्चा र आमाको अवस्था तिनचार घण्टा अघि थाहा हुन्छ कि दुईचार मिनेटमै उथलपुथल हुन्छ ? यो लापरबाही नभएर के हो?’

गीताको जिन्दगीमा चिकित्सक थापाले गम्भीर लापरबाही गरेकाले अस्पतालमाथि नै सय प्रतिशत शंका रहेकोले चिकित्सकबारे छानबिन हुनुपर्ने उनको माग छ।

चिकित्सकको लापरबाही होइन : अस्पताल

यता अस्पतालले भने चिकित्सकको लापरबाहीका कारण गीताको ज्यान नगएको दाबी गर्दै आएको छ।  अस्पताल प्रशासनले फेरि बैठक बसी गलत भएको ठहरिए चिकित्सकमाथि कारबाही हुने जनाएको छ।

अस्पतालबाहिर भएकाहरुले पनि अरु गीताहरुले यसरी मृत्युवरण गर्न नपरोस् भन्दै तुरुन्त सेवामा विश्वसनीयता ल्याउन अस्पताललाई सुझाव दिएका छन्। यो अस्पतालको लाहापर्वाहीका कारण नै सुत्केरी महिलाको मृत्यु भएको हो।

अहिले अस्पताल प्रशासनले मृतकका आफन्तलाई थामथुम गराएर गल्ती ढाक्ने प्रयास गरिएको छ। तर अस्पतालमा कार्यारत लापरबाही गर्ने चिकित्सकमाथि कारबाही भएन भने यो अस्पतालमा धेरैले ज्यान गुमाउन सक्ने अस्पतालमा आएका सेवाग्राहीहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.