खेलेर बाँच्‍ने वातावरण बनाइदिन माग

|

इलाम : २०४१ सालताका अहिलेको जस्तो प्रविधिको विकास हुन्थ्यो त इलामका मंगेश बस्नेतले नामको अगाडि पूर्व-राष्ट्रिय खेलाडी जोडिन्थ्यो। फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जाल र इमेलको विकास तत्कालीन समयमा भएको भए सूर्य, चन्द्र अंकित राष्ट्रिय टोलीको जर्सी लगाएर उनले आफ्नो सपना पूरा गर्ने थिए। तर, इमेल इन्टरनेटको पहुँचको त कुरा छाडौँ राष्ट्रिय टोलीका परेको आकाशवाणी सूचना समयमा नपाउँदा उनले नेपाली टिमबाट खेल्ने अवसर गुमाए।

मंगेशसँग पहिलो पटक श्रीलंकाको कोलम्बोमा तय भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय टिमको झण्डा अंकित जर्सी लगाउने अवसर थियो। तर, श्रीलंकामा तमिल टाइगर (लिट्टे) को सशस्त्र युद्धका कारण प्रतियोगितामा रद्ध भएपछि पाएको पहिलो अवसर उनले गुमाए। झण्डै एक महिना लामो जावलाखेलमा भएको क्लोज क्याम्पमा बसेका मंगेशको पहिलो पटक राष्ट्रिय टोलीको खेल्ने सपना अधुरो नै रह्यो।

           २०४१ सालमा सगरमाथा अञ्चलको राजविराजमा सम्पन्न १५ औं राष्ट्रिय नरट्रफी फुटबल प्रतियोगिताको विजेता मेची अञ्चल टिमको तस्वीर

त्यसपछि लगत्तै पाकिस्तानमा भएको कैद–ए– आजाम अन्तर्राष्ट्रिय प्रतियोगितामा मंगेशलाई नेपाली टिममा बोलाइएको थियो। तर त्यसपटक उनलाई सूचनाको पहुँच र भौगोलिक विकटताले धोका दियो।

दीपेन्द्र ढकाल नेतृत्वमा पाकिस्तान जाने टोलीमा उनको नाम पनि थियो। प्रविधिको विकास र सहज सूचनाको अभावका कारण उनले महत्वपूर्ण अवसरको फाइदा लिन सकेनन्। ‘अहिलेको जस्तो इमेल इन्टनेट वा सूचनाको पहुँच भएको भए म पनि राष्ट्रिय टोलीको सदस्यका रूपमा रहन पाउँथे’ उनी सम्झन्छन् ‘त्यो अवसरलाई सदुपयोग गर्न पाएको भए सायद मेरो लक्ष्य पूरा हुन्थ्यो। जागिर नखाई फुटबल रोज्थेँ होला’

त्यसवेला सूचनाको माध्यम भनेको आकाशवाणी थियो। काठमाण्डौबाट झापाको चन्द्रगढीमा सूचना आउँथ्यो त्यसलाई लेखेर सम्बन्धित ठाउँमा पठाइन्थ्यो। मंगेशले आकाशवाणी त पाए तर निक्कै ढिलो। अर्थात् राष्ट्रिय टोली पाकिस्तान उडेको ७ दिनपछि मात्र।

‘दीपेन्द्रले ब्राजिलियन कोचलाई भनेर २ दिन पर्खिएको पनि थियो तर मैले चिठ्ठी त्यतिबेला पाएँ जति बेला टिम पाकिस्तान उडिसेकेको थियो। एउटा महत्वपूर्ण मौका गुम्यो। ’ उनी सम्झन्छन् ‘झापाबाट इलाम आउन त्यसबेला झण्डै ८ घन्टा भन्दा बढी लाग्थ्यो। मेची राजमार्ग भए पनि पक्की नभएका कारण गाडी तान्दै र ठेल्दै इलाम आउनुपर्ने मान्छे कोहो भनेर चिन्नै हम्मेहम्मे पर्‍थ्यो।’

२०४१ सालमा राजविराजमा सम्पन्न १५ औं राष्ट्रिय नरट्रफी फुटबल प्रतियोगितामा फाइनलमा बागमती अञ्चल टिमलाई ३–१ ले पराजित गरी मेची    अञ्चल टिमले पहिलो स्वर्ण पदक हात पारेको थियो। जसको सदस्य थिए मंगेश।

         २०४२ सालमा इलाममा संचालित 'कमल मेमोरियल शिल्डको' विजेता इलाम ११ को टिम

झापाका शनिश्चरेका दीपेन्द्र ढकालको नेतृत्वमा उत्रिएको टोलीले सशक्त मानिएको बागमतीलाई पराजित गर्नु मंगेश जीवनको महत्वपुर्ण उपलब्धी पनि थियो। त्यो उपाधि मेची अञ्चल टीमले राष्ट्रिय फुटबल प्रतियोगितामा स्वर्ण पदक जितेको पहिलो अनि अन्तिम पनि हो।

नरट्रफीको उपाधिपछि मंगेशमा तत्कालीन अखिल नेपाल फुटबल संघका अध्यक्ष कमल थापाको नजर पनि परेका थिए। होचा कदका एवम लेफ्ट फुट सुटर भएकाले उनलाई नेपाली फुटबलका म्याराडोना उपमा पाएका मणी शाहसँग तुलना गरिन्थ्यो। मिडफिल्डमा मणी र मंगेशको पोजिसन र खेल्ने शैली उस्तै भएकाले दाजोमा आउने गरेको थिए।  नर ट्रफीले दिलाएको त्यो मौका गुमेपछि उनको फुटबल आकर्षण पहिला जस्तो रहेन।

फुटबलमा पहिलो पाइला

भूपू हवल्दार बुबा पदम बहादुर बस्नेतको फुटबल क्रेज र दाजुहरु खेलाडी भएकाले मंगेशलाई फुटबलमा लाग्न त्यती असहज भने भएन्। जेठा दाजु स्व मदन दिपबिम (संगीतकार ) र माइला दाजु महेश बस्नेत ( हाल इलाम नगर प्रमुख) खेलाडी भएकाले कान्छा मंगेश उनीहरुसंगै फुटबलमा लागे।

२०४५ सालको १८ औ नरट्रफीमा कोशी अञ्चलसँग ३–२ ले पराजित बन्दै सेमीफाइनलबाटै बाहिरियो मेची। २०४६ सालमा पोखरामा आयोजित १९औं राष्ट्रिय नरट्रफी फुटबल प्रतियोगितामा मेची अञ्चललाई कप्तानी गर्दै उनले क्वार्टरफाइनलसम्म पुर्‍याए।

राष्ट्रिय टोलीका गोलरक्षक अजर अधिकारी नेतृत्वको गण्डकी टिमलाई हराएर क्वाटरफाइनल पुगेको मेची अञ्चल टिम पुलिससँग पराजित बन्यो। २०५३ सालसम्म खेलाडीको रुपमा रहँदै उनले पुर्वको प्रतिष्ठित त्रिभुवन गोल्डकप, महेन्द्र गोल्डकप, कमल शिल्ड लगायत एक दर्जन प्रतियोगितामा इलाम टिमको नेतृत्व गरे।

५ संस्करणको नरट्रफी खेलेका उनले पहिलो पटक प्रशिक्षण २०३८ सालमा पाए। झापाका रामदर्शन गुरुङ उनको पहिलो प्रशिक्षक बने। ‘मेची टिममा पहिलो पटक पर्नु अघि खेलमा वाम अप गर्नुपर्छ भन्नेसम्म थाहा थिएन्। रामदर्शन गुरुले नै हो पहिलो पटक सिकाएको। ’ उनी सम्झन्छन् ‘ १३ औ संस्करणको नरट्रफीमा पहिलो पटक बुट लगाएर खेल्दा साहै समस्या परेको थियो। ’ १७ जना झापाका खेलाडी टिममा पर्दा इलामबाट उनी एक्लै थिए।

 ०५२ सालमा राखेपद्वारा संचालित क्षेत्रीय फुटबल प्रतियोगितामा विराटनगरमा भाग लिन गएको इलाम जिल्लाको फुटबल टिम

तत्कालीन समयमा मेची खेलकुद विकास समितिका अध्यक्ष भुतपूर्व एसपी नकुल शम्शेर जबरा थिए। काकडभिट्टा र भद्रपुरमा भन्सार भएकाले त्यहाँबाट आयात हुने सिमेन्ट र जस्तामा खेलकुदका लागी १ रुपैया कर लिने गरिएको थियो। जसले गर्दा खेलाडीहरुलाई विभिन्न प्रतियोगितामा सहभागितामा खासै समस्या थिएन। रामदर्शन पछि नेपालका पहिलो फिफा प्रशिक्षक धीरेन्द्र श्रेष्ठ (केदार) ले मंगेशलाई निखारे।

आफनो जीवन नै फुटबल विकासमा लगाएका उनी २०४३ सालपछि खेल जीवनलाई भन्दा पनि महेन्द्र रत्न बहुमुखी क्याम्पको जागिरलाई महत्व दिएर अगाडि बढाउन थाले। तर फुटबल खेललाई भनेर छाडेनन्।

विभिन्न समयमा हुने प्रतियोगितामा क्याम्पसबाट बिदा मिलाएर इलामको टिमलाई नेतृत्व गरेर सहभागी गराए।  राष्ट्रिय टिमको सदस्य बन्न नपाएको वर्ष नै वैवाहिक जीवनमा बाँधिएकाले पनि उनको महत्व फुटबलभन्दा पारिवारिक भरणपोषणमा बढी केन्द्रित बन्यो।

खेलाडी जीवनपछि प्रशिक्षक

खेलाडी जीवनबाट सन्यासपछि उनको लक्ष्य खेलाडी उत्पादनमा मोडियो। २०५३ सालदेखि २०५९ सालसम्म राष्ट्रिय खेलकुद परिषद् मातहतमा सहायक प्रशिक्षक बनेपछि उनले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका लोकबन्धु गुरुङ, सुवास राई, नवयुग श्रेष्ठ लगायतका खेलाडीको क्षमता विकासका निम्ति सहयोगी भूमिका खेले।

राखेपमा करार प्रशिक्षक भएपनि अर्को जागिर मरब क्याम्पसमा थियो। उनले विश्व फुटबल महासंघ (फिफा) ले सन १९९८ मा आयोजना गरेको फुटुरो कोच कोर्स, राष्ट्रिय खेलकुद परिषदको तीन महिने एनआइएस कोच कोर्षलगायत प्रशिक्षकसम्बन्धी कोर्ष गरेका छन्। 

परिवारको बोझले गुमाएको ए डिभिजन मौका

ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा खेलाडीको रुपमा उनी सहित इलामका बिनोद श्रेष्ठ, मुकेश दाहाल र दर्शन भक्तराजलाई बोलाइएको थियो। अरूले एनआरटीबाट खेले तर मंगेशले जागिरका कारण खेल्न गएनन्। ‘तत्कालीन समयमा एनआरटीबाट खेल्न पाउनु सौभाग्य थियो। तर परिवारको जिम्मेवारीका कारण जागिर नै अवसर सदुपयोग गरिन्।’

उनलाई खेल्नका लागि दार्जिलिङको डाइनोमो र सिलगढीको महानन्द क्लबमा नाम दर्ता थियो। तर, त्यहाँ पनि खेलेनन्। फुटबलको व्यावसायिक करिअरलाई अन्त्य गरे पनि फुटबलप्रतिको माया अझै उनीमा छ। राखेपको करार जागिरपछि पनि उनले दर्शन गुरुङ, छिरिङ गुरुङ, विवेक बस्नेत लगायतका खेलाडीहरूलाई निखारे। २०६५ सालताका जिल्ला फुटबल संघ इलामको नेतृत्व गर्दा उनले विवेकलाई एन्फा एकेडेमीमा अवसर दिलाए। ‘ विवेकलाई एन्फामा हाल्दा कतिले विरोध पनि गरे।

फुटबल संघको झ्यालको सिसा पनि फोरे मनमा डर थियो कतै गलत त भएन भन्ने।’ उनी सम्झन्छन् ‘ विवेकलाई स्थापित गर्न डटेर लागे अहिले उसले आफुलाई प्रमाणित गरेपछि सहि रहेछु भन्ने महसुस भएको छ। नवयुग, लोकबन्धु, सुवास लगायतका खेलाडीहरुलाई फुटबल सम्बन्धि प्राविधिक ज्ञानहरू दिए उनीहरूले पनि इलामलाई चिनाएका छन्। नयाँ आउने पुस्तालाई पनि आफूले जानेको कुराहरू बाँड्ने गरेको छु।’

खेलेर बाँच्ने वातावरण बनाइदिन माग

अभावका बीचमा फुटबल अघि बढाएका उनले अहिले खेलाडीहरूलाई समस्या रहेको बताउँछन्। अझै पनि खेलेर बाँच्ने वातावरण नभएको उनी गुनासो पोख्छन्। ‘ विभागमा हुने खेलाडी जागिरले बाँचेका छन्। अरूले खुट्टा चलुन्जेल खेल्नुको विकल्प छैन ’ उनी भन्छन्। सरकार र सम्बन्धित पक्षले खेलेर बाँच्ने वातावरण बनाइदिनुपर्ने उनको माग छ।

खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रबाट सम्मान प्राप्त गरेका छन्। इलाम नगरपालिका र माईभ्याली फुटबल क्लबले समेत सम्मान गरेका छन्। इलाम सदरमुकाम स्थापना भएको २ सय वर्षको अवसरमा आयोजित कार्यक्रममा खेलकुद विधाबाट प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मानित भए।

त्यसैगरी, फुटबल खेलाडी, म्याच कमिसनर एवं प्रशिक्षकको रूपमा पाँचौँ माईभ्याली गोल्डकप समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको हातबाट सम्मानपत्र प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.