|

बारा : बाराका थप एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ। निजगढ नगरपालिका–९ का ६३ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा शनिबार बिहान मृत्यु भएको हो।

उनको उपचार क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामाले जानकारी दिए। मृतकको उनको छोरा–बुहारी, ५ र ९ वर्षको नातीनातीनामा समेत कोरोना संक्रमण भएको छ। उनीहरुमा कुनै लक्षण देखिएकाले होम आइसोलेसनमा बसेका छन्। घरका अन्य तीन सदस्यमा पनि परीक्षण गरिने उनले जानकारी दिए। 

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन नेसनल मेडिकल कलेनको आइसोलेसन सेन्टरमा भर्ना गरिएको थियो। आइसोलेसन भर्ना गर्दा नै कोभिड निमोनियाका कारण उनको अवस्था गम्भीर भएको थियो।

असोज ११ सम्म कोरोना संक्रमण शून्य रहेको निजगढमा दशैं नजिकिएसँगै सक्रिय संक्रमितको संख्या बढेर १८ जना पुगेको छ। निजगढमा एक बालकसहित ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको संयोजक लामाले जानकारी दिए।

त्यस्तै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बारामा एक हजार ८ सय ८८ जनामा कोरोना संक्रमण भएकोमा सक्रिय संक्रमित एक सय ६० जना छन् भने २० जनाले ज्यान गुमाएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.