अण्डाका क्रेट बोकेर घर-घरमा, पति र छोरालाई विदेसिनबाट रोकिन्

|

बारा : सुविधामोह र भ्रष्ट प्रवृत्तिका कारण संघदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरू बदनाम भइरहेका बेला बाराकी एक महिला जनप्रतिनिधिले भने प्रेरणादायी काम गरेकी छिन्‌।

गृहस्थीका लागि कृषि र पशुपालन गर्दै आएकी निजगढ–५ की लक्ष्मी गौतम सामाजिक गतिविधिमा सक्रिय थिइन्। तत्कालीन नेकपा एमालेबाट स्थानीय तह निर्वाचन, २०७४ मा वडा सदस्य उम्मेदवार बनेकी लक्ष्मीलाई नगर कार्यपालिका सदस्यमा लैजाने पार्टीले निर्णय गर्‍यो। उनी कार्यपालिका सदस्यको निर्वाचनमा निर्वाचित पनि भइन्।

जनप्रतिनिधिको रुपमा नगरपालिका क्षेत्रमा निभाउनुपर्ने भूमिकासँगै एक वर्षयता उनले व्यावसायिक कुखुरापालन थालेकी छिन्। राजनीतिसँगै आफ्नो व्यवसायलाई बढाउनुपर्छ भनेर कुखुरा पाल्न थालेको लक्ष्मी बताउँछिन्। ‘राजनीतिले मात्रै आर्थिक उन्नति हुँदैन,’ उनले भनिन्, व्यवसायलाई पनि उत्तिकै प्रोत्साहन गर्नुपर्छ।’ जनप्रतिनिधि भएपछि अरुको आशमा बाँच्नुभन्दा आफ्नै व्यवसाय गरेर जनताको सेवा गर्नुपर्ने उनको धारणा छ। 

परिवारलाई विदेसिनबाट रोकिन्

देशभित्रै रोजगारी सिर्जना गर्ने र समृद्धि दिने सपना बाँडेर राजनीति गरेकी लक्ष्मीलाई आफ्नै सन्तानलाई परदेश जानबाट कसरी रोक्ने भन्ने चिन्ता थियो।

‘औपचारिक शिक्षा लिएर जागिरमा झुण्डिने कि विदेश पलायन हुने भन्ने दोधार थियो, जुक्ति खोज्दै जाँदा कुखुरा पालन रोजेँ,’ लक्ष्मी भन्छिन्, 'स्नातक अध्ययन गरेका दुई छोरालाई विदेश गएर पलायन हुनबाट रोक्न र पतिलाई स्वदेश फर्काएर देशभित्रै आत्मनिर्भर बनाउनु थियो।' 

अण्डा उत्पादन गर्ने कुखुरापालन व्यवसाय कम भएको देखेर परिवारको सल्लाहमा व्यवसाय थालिन्। विदेश जाने पैसालाई देशमै लगानी गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र सहकारी संस्थाबाट गरी २५ लाख रुपैयाँ ऋण निकालेर खोर निर्माण, चल्ला र दानामा खर्च गरिन्। दुई हजार कुखुरालाई पाँच महिनासम्म लगानी गरेर हुर्काइन्‌। त्यसपछि कुखुराले अण्डा दिन थाल्यो। 

कोरोनाले अत्यायो

कुखुराले अण्डा दिन शुरू गरेसँगै कोरोना संक्रमणका कारण सरकारले लकडाउन घोषणा गर्‍यो। कुखुराका लागि दाना ल्याउन र अण्डा बिक्री गर्न समस्या भयो।

दाना अभाव भएपछि अण्डा दिने कुखुरा नै बेच्नुपर्ने अवस्था आयो। कुखुरा अण्डा लगेर दाना ल्याइदिने हेटौंडाको डिलरले हात उठाए पनि लक्ष्मी आफैँले कम्मर कसिन्। उनी आफैं गाडी लिएर दाना लिन गइन्।

‘दाना त आफैं गएर ल्याएँ,’ उनले भनिन्, ‘अण्डा खोरमा थुप्रिँदै गयो। बजारमा अण्डा बिक्रीका लागि पठाउन सकिएन।'

आफैँ अण्डा बेच्न हिँडिन्

​अन्यत्र पठाउन नसकिएपछि उनले गाउँमै डुलाएर अण्डा बेच्ने मनस्थिति बनाइन्। लाजले समस्या समाधान नहुने भन्दै लक्ष्मी क्रेटमा अण्डा राखेर स्कुटर लिएर गाउँ पसिन्।

‘दाना ल्याउनेले नै अण्डा लैजाने भएर ढुक्कले कुखुरा पालेका छोरा र पति अण्डा बेच्न जान अप्ठेरो माने,’ लक्ष्मीले भनिन्, ‘आफ्नै बस्तु बिक्री गर्न के नै हुन्छ र भन्ने सोचेर म आफैँले पहिलो दिन २० क्रेट अण्डा बिक्री गरें। लिएर हिँडेको केही समयमा नै अण्डा बिक्री भयो।’

तीन दिनमै स्टक अण्डा सकियो। त्यसपछि उत्पादन भएका अण्डा अहिले पतिले पनि बेच्न सघाएका छन्। लकडाउन शुरू हुँदै गर्दा अण्डाको मूल्य घटेर ब्यहोरेको नोक्सानीलाई उनले उतारिसकिन्।

‘व्यवसायमा उतारचढाव हुने रहेछ,’ भन्छिन्, आफूले थालेको व्यवसायलाई निरन्तरता दिन सक्नुपर्ने रहेछ। लकडाउन खुकुलो हुँदै हटिसकेपछि अहिले कुनै समस्या छैन।'

जनप्रतिनिधि भएर पनि अण्डा बेच्न हिँडेको भनेर पनि निन्दा गरे उनलाई। 'जनप्रतिनिधि भएर पनि आफ्नो काम गरेर खानुपर्छ। काम गर्नमा लाज मानेको छैन, म खुसी भएर काम गरेकी छु,' उनी निर्धक्क भन्छिन्।

कृषिलाई प्राथमिकता 

निजगढ नगरपालिकाले कृषिलाई प्राथमिकता दिएको लक्ष्मी बताउँछिन्।

कृषिलाई व्यावसायिक बनाउन बीउबिजन, घाँस, उन्नत जातका बोका खरिद गर्ने योजना अघि पनि उनले अघि सारेकी छन्। भन्छिन्, 'एउटा दुईवटा भन्दा पनि व्यावसायिक रुपमा कृषि, पशुपालन गर्न आवश्यक छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.