|

इलाम : एकै सिजनमा स्कुस बेचेर इलाम सूर्योदय नगरपालिकाका तारमान तामाङले २० लाख रुपैयाँ आम्दानी गर्न सफल भए। सूर्योदय नगरपालिका ९ गैरीगाउँका ४१ बर्षीय तामाङले यो सिजनमा मात्र १ हजार ४ सय क्विटल स्कुस झापाको चारआली लगेर बेचे।

सिजनको सुरुवातमा १२ सय रुपैयाँ मनसम्म बिक्री भएको स्कुस सिजन सकिएपछि पनि प्रतिमन ४ सय ५० रुपैंयाँका दरले बिक्री गरेका थिए। मुन्टादेखि जरासम्म खान मिल्ने स्कुसको मुन्टा बेचेर मात्र तामाङले यो वर्ष ३० हजार रुपैयाँ आम्दानी गरे। स्कुसको जरा बिक्रीबाट डेढलाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको तामाङ बताउँछन्। गतवर्ष स्कुसको जरा बिक्रीबाट मात्र एकलाख २० हजार रुपैंयाँ आम्दानी गर्न सफल भएको उनले बताए।

चारआली मुख्य बजार रहेपनि कुनै कुनै समय भारतको सिलगुडीमा पनि निकासी हुने गरेको तामाङ बताउँछन्। १५ रोपनीमा व्यवसायिक स्कुस खेती गर्दै आएका तामाङले यसवर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका थिए। उनले स्थानीय दुईजना युवाहरुलाई रोजगारी समेत दिएका छन्। बिगत १० बर्षदेखि व्यवसायिक रुपमा अन्य तरकारी खेती गर्दै आएपनि स्कुस खेती भने चार वर्षअघि मात्र सुरु गरेका थिए। उनले चलानी जातको स्कुसको खेती गरेका छन्।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर अनि जग्गा जमिन समेत नभएको अवस्थामा छरछिमेकहरुसंग ऋण काढेर २० हजार रुपैयाँमा तामाङले खेती सुरु गरेका थिए। तामाङले स्कुस बेचेरै १८ रोपनी जमिन किनिसकेका छन्। तामाङ भन्छन् 'मेहनत र लगनशील भएर गर्न सकेको खण्डमा कोहिपनि युवायुवतीहरु पैसा कमाउन विदेश गइरहनु पर्दैन।'

स्कुस खेतीबाट मनग्ये आम्दानी लिने तारामान तामाङ उदाहरण मात्र हुन्। सुर्योदय नगरपालिकाको वडा नम्बर ९ का अधिकांश कृषकहरुले स्कुसबाट मनग्ये आम्दानी लिइरहेका छन्। उक्त वडाको हरेक घरका कृषकले कम्तीमा ३ रोपनीदेखि देखि २० रोपनी जमिनमा स्कूसको ब्यबसायिक खेती गर्दै आएका छन्। उक्त क्षेत्रमा उत्पादन भएको स्कुसको मुख्य बजार भने झापाको चारआली, शनिश्चरे र बिर्तामोड नै हो। यातायातको पनि सहज सुबिधा भएको उक्त वडामा उत्पादन भएको स्कुस खरिदका लागि स्थानीय एवं झापाका व्यापारीहरु घर–घरमा आउने स्थाद्दीय किसान मातृका दाहाल बताउँछन्।

पछिल्लो समय अर्गानिक ढंगबाट व्यवसायिक स्कुस खेतीमा लागेका उक्त क्षेत्रका कृषकहरुको मुख्य गुनासो भने निश्चित मूल्य नहुनु हो। चियाखेतीलाई पनि संगसंगै अँगालेका उक्त क्षेत्रका कृषकहरुको आर्थिक जीवन बिषेशत स्कूसले नै उकासेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.