ठूलो खालमा प्रहरीको आँखा पुग्दैन, सानालाई भने छाड्दैन

|

डडेल्धुरा : ‘सानालाई ऐन र ठूलालाई चैन’ यो उखान नेपाली समाजमा नौलो भने होइन। हरेक घटनामा पहुँच नहुनेहरुका लागि थुप्रै कानुनी आधारहरु खडा गरिन्छन् भने सोही प्रकृतिका घटनामा पहुँच हुनेहरुका कागजात मिलाएर कानुनलाई हातमा लिने काम हुन्छन्।

हरेक नागरिकका लागि कानुनको कार्यान्वयन समान हुनुपर्नेमा साना र ठूलाका आधारमा विभेदको सिकार बन्नु परिरहेको हुन्छ। जिल्लाका विभिन्न स्थानमा अहिले जुवातास भइरहँदा प्रहरी प्रशासन भने मौन छ। डडेल्धुरा सदरमुकामका विभिन्न स्थानमा दैनिक लाखौं रुपैयाँको जुवातासको खाल बनिरहेका छन्।

अमरगढी नगरपालिकाको बागबजार, कीर्तिपुर, तुफानडाँडा, पोखरालगायत स्थानमा दैनिक ठूलै जुवातासको खाल चलिरहँदा पनि न त प्रहरीले केही गर्न सकेको छ प्रशासनले नै चासो देखाएको छ। नियमित जुवा खेल्ने र खेलाउने व्यक्तिहरु प्रहरीसँगको मिलोमतोमा छन् भने प्रहरीले पनि नदेखे जस्तै गर्नेगरेको स्थानीयको आरोप छ ।  

जिल्ला प्रहरी कार्यालयबाट एक किलोमिटरको दूरीमा रहेको बागबजारमा खुलेआम लाखौंको जुवा खेलिन्छन्। तर नियमनकारी निकाय मौन छ। प्रहरी कार्यालय नजिकै यसरी जुवातास चलिरहँदा पनि प्रहरी मौन बस्नुले प्रहरीको नियतमाथि शंका गर्न सकिने स्थानीय बताउँछन्। सार्वजनिक स्थलदेखि जंगल र घरघर यतिबेला जुवाका अखडा बनेका छन्।  

जिल्लाका विभिन्न प्रहरी चौकी तथा पोष्टहरु भएका अन्य स्थानमा समेत दिनहुँ यस्ता क्रियाकलाप भइरहेका छन्। खेल्ने तथा खेलाउनेलाई कारबाही गर्नुको सट्टा प्रहरी नै सूचना दिएर यस्ता गतिविधिलाई प्रश्रय दिइरहेको स्थानीयको आरोप छ। 

‘दशैं सकियो। तिहार आउँदैछ। बजार क्षेत्रमा दैनिक जुवातास खेलिरहेका छन्,’ यहाँका एक स्थानीयले भने, ‘नियन्त्रणका लागि प्रहरीले त्यति चासो देखाएको छैन। प्रहरीले चाहे तुरुन्तै बन्द हुन्थ्यो। तर चासो नदेखाएकै कारण दिनप्रतिदिन झन् जुवा तास खेल्नेको संख्यामा बढेको छ।’ 

प्रहरी देखावटी रुपमा मात्रै नियन्त्रणमा लागेको छ। जिल्ला सदरमुकामको बागबजारका केही स्थानमा दैनिक ज्यालादारी गर्नेदेखि लिएर ठूला व्यापारी, सरकारी कर्मचारीले समेत ठूलो रकम राखेर जुवा खेल्ने गरेका छन्। 

प्रहरीले ठूला जुवाडेलाई नसमातेकोमा स्थानीय रुष्ट छन्। 'सामान्य रमाइलोका लागि खेलिरहेकालाई प्रहरीले समात्छ,’ एक स्थानीयले भने, ‘प्रहरीले ‘एक्सन’ लिन सकेको छैन। यदि उसले एक्सन लिने हो भने लाखौं रुकम राखेर जुवा खेल्ने पनि पक्राउ पर्थें होलान्।’ पहुँचको भरमा जुवाडेहरूलाई प्रहरीकै संरक्षण मिलेको स्थानीय बताउँछन्। 

सूचना संकलनका लागि सादा पोसाकमा बजारमा डुल्ने प्रहरी सिपाहीदेखि उच्च ओहदाका अफिसरसम्म जुवातास हुने अड्डाहरुका बारेमा जानकार भए पनि अहिलेसम्म 'ठूला' अड्डाहरुमा छापा मार्न सकेको छैन। सामान्य व्यक्तिहरु खेलिरहेको ठाउँमा प्रहरी पुगे पनि ठूला भनाउँदा जुवाडे अहिलेसम्म समातिएका छैनन्। 

प्रहरीले शुक्रबार राति डडेल्धुरा सदरमुकामबाट ११ जना जुवाडेलाई भने पक्राउ गर्‍यो। अमरगढी नगरपालिका– ५ स्थित एउटा खाली घरमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा १८ हजार ३ सय ८५ नगदसहित ११ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका ११ जना अमरगढी– ५ कै स्थानीय रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए। उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया बढाइएको भए पनि यहाँका पेसेवर जुवाडेहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन। लाखौंको जुवा हुने ठाँउमा नभई जहाँ ११ जनाबाट १८ हजार बरामद हुन्छ प्रहरी पनि त्यहीँ पुग्ने गरेको छ। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल भने जुवातास खेल्ने र खेलाउने जो कोही भए पनि कानुनी कारबाही गर्ने बताउँछन्। खबर पाएपछि प्रहरीले निगरानी बढाएको र सार्वजनिक स्थल र जंगलमा समेत टोली परिचालन गरिएको उनले दाबी गरे।

थुनामा रहेका व्यक्तिहरुलाई समेत कानुनी कारबाहीको प्रक्रिया सुरु भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.