|

पर्वत : पर्वतको जलजला गाउँपालिकाले आफ्नो पालिकाभित्रका कसैलाई पनि कोरोना सङ्क्रमणको पुष्टि भएमा बढीमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ।

संघीय सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि शुल्क लगाउने निर्णय गरेपछि महँगो उपचार भोग्न बाध्य हुने नागरिकलाई थोरै भए पनि राहतस्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले बताए। ‘एक घर एक पिसिआर’ अभियानबाट पोजेटिभ रिपोर्ट आएका तर स्वास्थ्य अवस्था सामान्य भएका सङ्क्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै गम्भीर अवस्थाका सङ्क्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था गर्नका लागि रकम उपलब्ध गराउने भएको हो।

‘कोरोना सङ्क्रमितलाई अस्पतालसम्म लैजानै नै कठिन छ। तर हाम्रो पालिकामा त्यो अवस्थामा छैन। म आफैं पनि सङ्क्रमणलाई जितेर आएको छु। सङ्क्रमितसँग टाढिने प्रयास गर्नुहुँदैन नजिकको व्यवहार गर्न सकेमा उनीहरूमा प्रतिरोधात्मक शक्ति बढ्छ।’ उनले भने, ‘उपचारको लागि यो रकमले त के पो हुन्छ र? त्यही पनि बिरामीलाई साहस आउँछ। गाउँपालिका बिरामीको पक्षमा छ भन्ने कुरा हो।’ पालिकाभित्रका सङ्क्रमित गम्भीर अवस्थामा पुगेर अस्पताल लैजानु परेमा यातायातको खर्चसम्म भए पनि बेहोर्न यो निर्णय गरिएको प्रमुख मल्लको भनाइ छ।

जलजलाले कोरोना न्यूनीकरण र रोकथाम गर्नका लागि पालिकामा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण पनि गर्ने भएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले पालिकाभित्रका सबै वडाहरूमा पुगेर समुदाय स्तरमा कोरोना परीक्षण गर्न थालेको छ।

गाउँपालिका अध्यक्ष सङ्क्रमित भएपछि गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। सङ्ख्या बढ्न थालेपछि पालिका भित्र सङ्क्रमणको थप अवस्थाको पहिचान गर्न ‘एक घर–एक पिसिआर जाँच’ अभियान सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।

जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दसैंभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन्। कोरोना सङ्क्रमणको बेलामा राज्यलाई आर्थिक भार परेको भन्दै जलजला गाउँपालिकाको कार्यपालिकाको बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झन्डै आठ लाख रुपैयाँ कोरोना उपचारमा खर्च गर्ने गरी फिर्ता गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.