|
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल नेपाली धाविका सन्तोषी श्रेष्ठ ।

काठमाडौं : कोरोनाले आक्रान्त नेपाली खेलकूद क्षेत्र अझै लयमा फर्किन सकेको छैन। अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनुपर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडीहरू चिन्तित देखिएका छन्।

टोकियो ओलम्पिकमा पदक जित्ने लक्ष्य राखेका कराँते खेलाडीले मंगलबार सातदोबाटोस्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन्। नौ महिनादेखि कोरोनाले थला पारेको खेलकूद चलायमान गराउन चौतर्फी दबाब आएपछि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले सीमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ।

खेलाडी स्वयम्‌ले विभिन्न माध्यमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरेअनुसार खेलाडीहरू छिटपुट अभ्यासमा फर्किसकेका पनि छन्। यसैमध्येका कराँते खेलाडीले सन्‌ २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन।

घर बसाई पट्यार लाग्दो भइसकेकाले आफू अभ्यासमा फर्किन आतुर रहेकामा अभ्यासले आफूलाई उत्साह मिलेको कराँते खेलाडी अनु अधिकारीले बताइन्‌। अधिकारीले खेलाडीहरू घरमै बसिरहँदा फिट्नेसमा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकूद परिषदमार्फत अभ्यासको वातावरण मिलाइदिन समेत आग्रह गरिन्‌।

​यस्तै,  नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नवीन रसाइली पनि अभ्यासमा फर्किन पाउँदा दंग देखिएका छन्‌। कोरोनाले असर पारेको भन्दै नवीनले घरको वातावरणमात्र भन्दा पनि म्याटमा अभ्यास आवश्यक भएको बताउँछन्‌।

मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बहाना बनाएर खेलकूद गतिविधि रोक्न नहुने तर्क राख्दै आएका छन्‌। खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रिय स्तरमा अन्य देशले अबलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नु पर्ने समय आएको र सोही अनुसार  खेलाडीलाई फिट्नेसका लागि अभ्यासमा बोलाएको उनले जानकारी दिए।

नेपाली खेलाडीलाई टोकियो ओलम्पिक र्‍याङकिङका आधारमा त्यति सहज छैन। यद्यपि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई कोरोना महामारी थप बाधक बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.