|

साठी हजार निर्दोष नेपालीको बलि खाएर त्यस्तो युद्ध सकियो, जुन युद्धसँग नेपाल र नेपालीको कुनै सरोकार थिएन। त्यो दोस्रो विश्वयुद्ध थियो। नेपाली रगतले लतपतिएको बेलायती साम्राज्यवादसहितको समूहले युद्ध जित्यो। नेपालका लागि लडेर होइन, बेलायतका लागि लडेर गोर्खाली सेना विश्वप्रसिद्ध भयो। एक प्रकारले भन्ने हो अजेय भयो। तर त्यो अजेयको मूल्य हीरा भन्दा महँगो भो नेपालका लागि।

प्रजापरिषदको सदस्य त थिएन ऊ। तर ऊ प्रजापरिषदका नेताहरूको भक्त भएको थियो। झुण्ड्याएर र गोली ठोकेर मारिएका शहीद सबै उसका लागि मान्यजन थिए नै। त्यसमाथि दशरथ चन्द त उसको आस्थाको केन्द्र थियो। दशरथ चन्दको शत्रु आफ्नो पनि शत्रु हो भन्ने टुङ्गोमा पुगेको थियो ऊ।

युद्धको तनावबाट मुक्त भैसकेको थियो, रामप्रसाद राई। तर नेपालभित्रको तनावले उसलाई पिरोल्न थालेको थियो। उसलाई नेपाल माताको सेवा गर्न उत्साह प्रदान गर्ने ठकुरी बाबुसाहेबको नाम दशरथ चन्द थिएछ भन्ने रामप्रसादलाई थाहा भैसकेको थियो। 'श्री ३ ले झ्यालखानमा थुनेका श्री ५ लाई कैदबाट निकालेर राज्यको वैधानिक नेतृत्व प्रदान गर्नुपर्छ भन्ने दशरथ चन्दलाई फाँसी दिने राणाको पारिवारिक अदालतको निर्णय स्वीकृतिको ठप्पा लाउने' त्रिभुवन राजाप्रति रामप्रसादको सम्मान स्वात्तै झरेर शून्यमा पुगेको थियो।

'यस्ता राजाले जनताको सुरक्षा कसरी गर्लान्?' ऊ मनमनै यो प्रश्नको उत्तर खोजिरहेको थियो र दिनदिनै ऊ निराश भैरहेको थियो। राणाजीले राजालाई तराईको ठूलो शिकारमा त लाँदैनथे तर काठमाडौँ ओरिपरि शिकार क्याम्प खडा गरेर राणा प्रधानमन्त्री सम्मानपूर्वक र कहिलेकाहीँ त गचक्कै बोकेर त्यस्ता शिकार क्याम्पमा लैजान्थे। राजाको आत्मसम्मान मरेको देख्थ्यो रामप्रसाद राई। रक्सी र केटी भएपछि राजालाई सबैथोक पुग्ने।

'यस्ता राजाबाट केही हुँदैन। यिनले केही लछारपाटो लाउँदैनन्' भन्ने निष्कर्षमा पुगिसकेको थियो ऊ। 'युवराज महेन्द्र बाठा छन्, राणाहरूबाट भरसक टाढै बस्छन्' भन्ने खासखुस सुनेको थियो रामप्रसादले। टाढाबाट देखेको पनि थियो उसले युवराजलाई। तर बाउलाई वास्तविक राजा बनाउनेहरूको सुरक्षा गर्न नसक्ने युवराजप्रति पनि सम्मान पलाउन सकेको थिएन।

राजाप्रति त उसमा कुनै सम्मान थिएन। युवराजप्रति भने 'पर्ख र हेर'को परीक्षामा थियो ऊ।

प्रजापरिषदको सदस्य त थिएन ऊ। तर ऊ प्रजापरिषदका नेताहरूको भक्त भएको थियो। झुण्ड्याएर र गोली ठोकेर मारिएका शहीद सबै उसका लागि मान्यजन थिए नै। त्यसमाथि दशरथ चन्द त उसको आस्थाको केन्द्र थियो। दशरथ चन्दको शत्रु आफ्नो पनि शत्रु हो भन्ने टुङ्गोमा पुगेको थियो ऊ। कहिलेकाहीँ ऊ झ्यालखानको निरीक्षणमा जान्थ्यो। राजा र राणाद्वारा डामिएका टंकप्रसाद आचार्य, रामहरी शर्मा नेपाल र तिनका साथीलाई टाढैबाट मनको प्रणाम पस्किएर फर्किन्थ्यो। प्रजातन्त्रप्राप्तिका योद्धाहरूलाई आफूले कुनै सहयोग गर्न नपाउँदा आफ्नो जागिरसँग बेस्सरी रिस उठ्थ्यो उसलाई। तर उसले जेलको जमदारलाई आदेश दिएको थियो- 'सबै कैदी बन्दीले आफ्ना परिवारसँग ढुक्कले कुरा गर्न पाऊन्। राजनीति र फौजदारी भनेर कसैप्रति भेदभाव गर्न नदिनू। कैदी सिधामा तिमीहरूले आँखा नलाउनू। लाएको थाहा पाएँ भने आफ्नो जागिर सकियो भनेर जान्नू।'

त्यतिबेलासम्म नेपालमा प्रजापरिषदपछिको अर्को कुनै पार्टी जन्मिएको थिएन। आफैँ पार्टी बनाउने तयारीमा पनि थिएन रामप्रसाद। उतिबेलाको काठमाडौँको साँझ शान्त एवम् शीतल हुन्थ्यो। शहर आठै बजे निदाउँथ्यो। ओमबहालमा डेरा लिएको थियो रामप्रसादले। शान्त साँझले उसलाई आनन्द दिँदैनथ्यो तर के अर्को दशरथ चन्द या गङ्गालाल जन्मिँदैनन् अब? त्यस्तो भैदिए म तिनको सेनाको कमाण्डर भैदिन्थेँ र नेपालमा प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न सबैभन्दा जिम्मेवार भूमिका निभाउँथेँ।

दोस्रो विश्वयुद्ध सकिएपछि रामप्रसादले तीन महिनाको छुट्टी पायो। त्यो छुट्टीलाई उसले आफ्नो उद्देश्यमा खर्चिने योजना बनायो। छुट्टी पाउनेबित्तिकै कान्छी पत्नी दिलकुमारी र कान्छो छोरा मानबहादुर राईलाई लिएर रामप्रसाद आफ्नो घर, बाँसीखोरातिर लाग्यो, दक्षिणको बाटो भएर।

दोस्रो विश्वयुद्धले भौतिक रूपमा बर्मा र मणिपुरलाई सेकेको थियो। बर्मा क्षतविक्षत भएको थियो। युद्धका बाछिटालाई बङ्गालको सीमासम्म छरेर युद्ध फर्किएको थियो। बर्मामा भोग्नुपरेको युद्धको बिनाशले बेलायतलाई थर्थर बनाएको थियो।

'गोर्खा फौज नभएको भए हाम्रो दिल्ली राज सकिने थियो', यो बेलायती मनोभावना थियो।

बाँकी भारत एक प्रकारले सुरक्षित नै थियो। तर ऊजाड भएको थियो भारत। धनको खति राज्यको भएको थियो। तर जनको खति त बाउआमाको भएको थियो। थोरै संयुक्त प्रान्त (अहिलेको उत्तर प्रदेश) अनि धेरै बिहारको यात्रामा यो खतिको अनुहार देख्यो रामप्रसाद राईले। धेरै परिवारको कोही न कोही मरेको थियो। नेपालले सहयोगको नाममा दुई लाख पचास हजार पेल्नुपरेको थियो भने संयुक्त प्रान्त र बिहार त अङ्ग्रेजकै राजभित्र पर्थे। कति लाखको ज्यान गयो होला ती दुई प्रान्तको!

बराहक्षेत्रको अक्कर! यात्रीहरूका लागि आतङ्कको एउटा नाम। दर्जनौँ भरियाहरू ऐया पनि भन्न नपाई झुम्लुङ्ग सप्तकोशीको खसेर क्षणभरमै हराउने भीर र पनि जिन्दगी चल्नै पर्थ्यो। मान्छे मात्र होइन, भरिया पनि हिँड्नै पर्थ्यो।'

जोगवनीमा रेलबाट ओर्लिएपछि पत्नीलाई अघि लगाउँदै रामप्रसादले भन्यो, 'माने सानै छ। उसले अहिले देखेको कुरो भोलि बिर्सन्छ। पछिपछि यस्तो यात्रा यसलाई सपना जस्तो लाग्छ। तँलाई भने अनौठो लाग्ला कान्छी, यताको रीतिथिति। जर्साबले यो केटीले जस्तोसुकै दुःख पनि खेप्न सक्छे भनेपछि मैले तँसँग बिहे गरेको हुँ। अब त्यो अप्ठ्यारो भोग्ने समय आयो। कतै लरी भेटियो भने धरानसम्म त्यसैमा जाने हो। त्यसपछि दिनभरिको तेर्सो। अक्करे भीर। त्यसपछि उकालो र ओरालो।'

पत्नी र छोरालाई एउटा कोठामा बसालेपछि रामप्रसादले भन्यो, 'तिमेरु आराम गर। म बजार जान्छु। किनमेल गर्नु छ। तीन जना भरिया खोज्नु छ। म काम सकेर बेलैमा आउँछु। भोलि बिहानै हामी बाटा लाग्छौँ।'

बराहक्षेत्रको अक्कर! यात्रीहरूका लागि आतङ्कको एउटा नाम। दर्जनौँ भरियाहरू ऐया पनि भन्न नपाई झुम्लुङ्ग सप्तकोशीको खसेर क्षणभरमै हराउने भीर र पनि जिन्दगी चल्नै पर्थ्यो। मान्छे मात्र होइन, भरिया पनि हिँड्नै पर्थ्यो।'

घर पर्खिरहेको थियो- रामप्रसाद, दिलकुमारी र मानबहादुर राईलाई। सबैका लागि लडाइँ सिद्धिएको थियो। नेपालभित्रको विश्वयुद्धले कसैलाई मृत्युको पीडा दिएको थियो भने कसैलाई टङटङ बज्ने कम्पनी दिएको थियो।

दिलकुमारी सबैको चासो थिई। चासो नै भइरही।

पिखुवापारि छिनामखुमा पहिलो बास बसेर काठमाडौँतिर सोझिएको रामप्रसाद भोलिपल्ट खार्मी डाँडागाउँको बमबहादुर राईको घरमा बास बस्न पुग्यो। घाम डुबेको थिएन डाँडामा। उज्यालो थियो पृथ्वी।

बमबहादुर राई र रामप्रसाद राईले एकअर्कासँग हात मिलाए, अँगालो हाले। अलग अलग पल्टनका भए पनि तिनीहरूबीच चिनजान थियो।

'बुहारी जातकी होइनन् कि क्या हो!', बमबहादुरले पनि जिज्ञासा पोख्यो।

'ठकुरीकी छोरी हो', छोटो उत्तर दिएपछि उसले आफूले सामना गर्नुपरेको घटना जस्ताको तस्तै राखिदियो।

बमबहादुर राई!

दोश्स्रो विश्वयुद्धको बहादुर योद्धा। विश्वयुद्ध सकिएपछि पोहोर मात्रै बिदा भएर फर्किएको योद्धा। अब लडाइँतिर लाग्दिनँ, स्कूल खोल्छु, केटाकेटीलाई पढाउँछु भनेर गाउँमा बसेको योद्धा।

स्टालिन र चर्चिलसँग हात मिलाउन पाएको नेपाली योद्धा।

रामप्रसादको दिमाग चर्खा जसरी घुमिरहेको थियो।

'बमबहादुर दाइ, तिम्ले विश्वयुद्धका नेतासँग हात मिलाउन पाएका थियौ रे भनेर मसम्म कुरा आएको थियो।'

'तेही त, चर्चिल त आफूले जाने सुनेकै परे। स्टालिनचाहिँ नचिनेका। छ फुटे। अग्ला न अग्ला। तिनको ठूलो पञ्जामा मेरो सानो हात, कता हरायो हरायो।'

'... मेरो सानो हातलाई आफ्नो पञ्जाभित्र लुकाएर उनले मसँग केही सोधजस्तो लाग्यो। म एकछिन अलमल्ल परेँ। पछि हाम्रो दोभाषेले भन्यो, 'महामहिम राष्ट्रपतिले के तपाईंको गाउँमा स्कूल छ? भनेर सोधेका हुन्।' म त भुतुक्कै परिहालेँ। कहाँ आफू १५ वर्षअगाडिसम्म कालो अक्षर भैँसी बराबर, कहाँ उनी राष्ट्रपति!'

'ती स्टालिन कम्युनिस्ट हुन् भन्ने थाहा पाएका थियौ तिमीले?'

'अँ, भन्थ्यो दोभाषेले। यिनी संसारका सबैभन्दा ठूला कम्निस्ट हुन्। जर्मनहरूलाई धूलो चटाउने तिमी गोर्खा र यिनै स्टालिन हुन् भन्थ्यो।'

'तेसो भए स्टालिनको पढाउनुपर्छ भन्ने सुझावले छोयो तिमीलाई? तिमीले केही जवाफ दिएनौ?'

'अब पल्टन छाड्छु, गाउँ फर्किएर स्कुल खोल्छु सर भनेँ। एक्कैचोटि यति धेरै कसरी बोलेँ थाहा नै पाइनँ। बोलिसकेपछि पो चोट लागेजस्तो भो।'

एकछिन केही सोचेर बमबहादुरले भन्यो, 'फर्किन्छु खार्मी, खोल्दछु स्कुल, पढाउँछु केटाकेटी भनेर त आइयो। यता भने मास्टरै नपा'र पो सङ्कट पर्लाजस्तो छ। स्कुल खोल्न सकिनँ भने म त लाजैले मर्छु त्यत्रा ठूला मान्छेलाई दिएको वचन!'

'मास्टर खोजेनौ कतै?'

'यो अन्धकारमा कता खोज्नु?'

'खोटाङमा भाषा पाठशाला छ। अहिलेलाई तिनैबाट काम चलाऊ। पछि तिमीले दार्जिलिङ नगै' हुँदैन।'

'तिमी के गर्छौ? तिम्ले पनि मास्टर हुने पढाइ छिचोलेर नाम कटाएर नेपाल फर्किएको भन्थे पल्टनेहरू।'

'हो त। म नेपाल आएँ। नेपालका जर्नेलले 'तिमी जस्तो पढालेखा मान्छे हामीलाई नै चाहिन्छ, नाम कटाएर आऊ, यताकै मान दिउँला' भनेका थिए। तिनै जर्नेलको विश्वासमा यता आएको हुँ। उनले बोलेको वचन पूरा गरे। अब मन लागुन्जेल यतै काम गर्ने। मन लाग्न छोडेपछि जनसेवा गर्ने।'

बमबहादुर केही बोलेन। रामप्रसाद के बोल्दै छ भनेर उसले लख काटिसकेको थियो।

'तर तिमीचाहिँ स्कुल खोल्ने काममा लागिहाल।'

फर्किने गरी बिदामा अनि नफर्किने गरी नाम कटाएर आएका छ जना लाहुरे रहेछन् छिमेकमा। तिनीहरूसँग पनि भेटघाट गरौँ भन्ने मन बनायो रामप्रसादले।

लाहुरबाट फर्किएका, जे भए नि समय मिलाउन जान्ने हुन्थे। भोलिपल्ट सबै भेला भए।

'यी हुन् भोजपुर हतुवाका रामप्रसाद राई। पल्टनमा नेपाली मास्टर छ भनेर हामीले सुन्या थियौँ नि! यी तिनै हुन्। अहिले नेपाली पल्टनमा सुवेदार छन्। यसपालि नयाँ पुराना साथीभाइसँग भेटघाट गर्दै काठमाडौँ जानुपरो भनेर यताको बाटो लाग्या रहेछन्।'

'यी बमबहादुर दाइले स्कुल खोल्ने अठोट गर्‍या रहेछन्। काम राम्रो हो। अब तपाईं दाजुभाइले सघाउ पघाउ गरेर स्कुल खोल्नुपर्‍यो। गाउँका केटाकेटीलाई बाह्रखरी सिकाउनुपर्‍यो। पल्टन जाँदा पनि कालो अक्षर भैँसी बराबर भनेर कसैले नहेपुन्। अथवा भोलि हामीलाई नै बाह्रखरी छिचोलेको मान्छे चाहिने हो कि!'

हिटलरको पूर्वी विजय अभियानलाई पराजित गर्ने स्टालिनको सेना हो भने पश्चिमको विजय अभियानलाई पराजित एक मात्र हाम्रा नेपाली दाजुभाइ हुन्। मैले सुन्याथेँ, चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए रे, 'यी गोरखाली भनेका कस्ता हुन्?' ...

राती बमबहादुरको दलानमा सुत्न पल्टिँदा रामप्रसादले भन्यो, 'मैले धेरै कुरो गर्न मिलेन। तर तिमीले मेरो अभियानमा सहभागी हुनुपर्छ। म नेपाल मुक्तिको सपना देखेर फर्किएको हुँ। स्टालिनसँग हात मिलाएका तिमीले यो सपना देख्नुपर्छ र मातृभूमिप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ। यो विश्वयुद्धमा स्टालिन र गोर्खाली सेना हुँदैनथ्यो भने दुनियाँमा हिटलरको राज चल्थ्यो। त्यसैले नेपालको मुक्ति, स्टालिनसँग जोडिएको तिम्रा पौरखी हातको जिम्मेवारी पनि हो। यो लडाइँ जीते पनि बेलायत सम्पूर्णतामा हारेको छ। गोरखाली सेना हुँदैनथ्यो भने युद्धको आधाउधिमै बेलायत जर्मनको कब्जामा जान्थ्यो, फ्रान्स गएजस्तै। हिटलरको पूर्वी विजय अभियानलाई पराजित गर्ने स्टालिनको सेना हो भने पश्चिमको विजय अभियानलाई पराजित एक मात्र हाम्रा नेपाली दाजुभाइ हुन्। मैले सुन्याथेँ, चर्चिलले आफ्नो सचिवलाई सोधेका थिए रे, 'यी गोरखाली भनेका कस्ता हुन्?' ...

'...शून्य डिग्रीको चिसोमा युद्धको मोर्चामा उभिएर शत्रुलाई हायलकायल पारेर हाम्रा बेलायती दाजुभाइलाई शान्तिका साथ तातो कफीको स्वाद चुस्न दिने माउण्ट एभरेस्टको देशका नौजवान हुन्' भनेर उसले जवाफ दिएको थियो। त्यसैले विश्वयुद्धको विजय भनेको साँच्ची नै सोभियत सङ्घको सेना र नेपाली नौजवानको संयुक्त विजय हो। त्यसैले सोभियत सेनाका सर्वोच्च कमाण्डरले तिमीसँग हात मिलाउनु भनेको शिक्षित भएर मातृभूमिको कल्याण हुने काम गर भनेको हो। अहिले म काठमाडौँ जाँदै छु, तर त्यो मेरो अन्तिम टुङ्गो होइन। म फर्किएर आउनेछु दाइ। तिमीहरूकै बीचमा आउने छु र मातृभूमिको मुक्तिका खातिर युद्ध गर्नेछु, चाहे जोसुकैसँग किन लड्नु नपरोस्। मलाई यो अठोटबाट कसैले, कहिल्यै हटाउन सक्दैन।'

रातको सन्नाटामा रामप्रसाद साप्सु खोलाको सुसाइमा बोलिरहेको थियो। बमबहादुरले बुझ्यो रामप्रसादको सपना।

'तिमी सधैँ मलाई आफ्नो दायाँ भागमा पाउँछौ भाइ। यो स्टालिनसँग हात मिलाउने बमबहादुरको वचन भयो।'

'कामरेड स्टालिन भन दाइ, कामरेड स्टालिन। सबैले उनलाई त्यसै भन्दा रहेछन्। कामरेड स्टालिनले विश्वलाई हिटलरको तानाशाहीबाट मुक्त गराए। हामी हाम्रो नेपाललाई राणाशाहीबाट मुक्त गराउनेछौँ। मुक्त नेपालको स्थापना नै ती छ फिटे अग्ला स्टालिनका ठूला हातलाई तिम्रो उपहार हुनेछ।'

 

(गत बुधबार विमोचित प्रदीप नेपालद्वारा लिखित 'जननायक रामप्रसाद राई'को जीवनीमा आधारित उपन्यास 'क्रान्तिवीरको सपना'बाट)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.