सन्दीपले मौका पाउने सम्भावना कति?

|

काठमाडौं : युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत पहिलो क्वालिफायरमा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। त्यसैले दुई टिमबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

मुम्बईले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। मुम्बईले १४ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो।

दिल्लीविरुद्ध मुम्बई लिग चरणको प्रदर्शन कायम राख्न चाहन्छ। यस्तै मुम्बई दिल्लीविरुद्ध लिग चरणमा अपराजित समेत रहेको थियो। लिग चरणको दुई भेटमा मुम्बईले दुबै खेल जितेको थियो। पहिलो खेल मुम्बईले ५ र दोस्रो खेल ९ विकेटले जितेको थियो।

दिल्ली लिगको दोस्रो स्थानमा रहँदै क्वालिफायर पुगेको थियो। दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अंक जोडेको थियो।

तर, पहिलो क्वालिफायरमा दिल्लीको टिम मुम्बईलाई हराउने लक्ष्यसहित मैदान उत्रने छन्। दिल्ली लिग चरणमा व्यहोरेको दुई हारको बदलासमेत लिन चाहन्छ। 

चार पटकको च्याम्पियन मुम्बईले पछिल्ला पाँच प्लेअफमध्ये चार जितेको छ। तर, दिल्लीले अहिलेसम्म ६ प्लेअफ खेल्दा एक खेलमा मात्र जित हात पारेको छ। दिल्ली अहिलेसम्म एक पटक पनि फाइनल पुग्न सकेको छैन। त्यसैले आज खेलमा जित निकाल्दै दिल्ली फाइलन पुग्न चाहन्छ। मुम्बई पनि फाइनल पुगेर पाँचौं पटक आइपिएल उपाधि उचाल्न चाहन्छ।

मुम्बई इन्डियन्सका कमजोरी

१) स्पिनरहरू नचल्नु
मुम्बई इण्डियन्सका लागि स्पिनरहरुले टुर्नामेन्टको सुरुदेखि नै कमजोरी प्रदर्शन गरिरहेका छन्। युवा लेग स्पिनर राहुल चहार बाहेक मुम्बईसँग अन्य कुनै राम्रो स्पिनर छैन। 

जुन खेलमा राहुल चहारले शानदार बलिङ गर्छन् त्यो खेलमा मुम्बईले विपक्षी टोलीलाई कडा ठक्कर दिएको देखिन्छ। तर, जुन दिन उनको बलिङ प्रदर्शन राम्रो भएन त्यो समयमा टिम समस्यामा पर्छ।

चाहरले लिग चरणको १४ खेलमा १५ विकेट लिएका छन्। अर्का स्पिनर कृणाल पाण्ड्या १४ खेलमा मात्रै ५ विकेट लिन सफल भएका छन्। यदि दिल्लीलाई मुम्बईका तीव्रगतिका बलरले समस्या गरेपनि स्पिन बलिङको कमजोरीको फाइदा लिई ठूलो स्कोर बनाउन सक्दछन्।

२) हार्दिक पाण्ड्या फिट नहुनु

हार्दिक पाण्ड्या पछिल्ला २ खेलमा टिमको प्लेइङ इलावेनबाट बाहिर छन। हार्दिक फिट छैन भन्ने अनुमान लगाइएको छ। यदि हार्दिक फिट छैन र उनले प्लेअफ खेलमा खेल्दैन भने मुम्बईलाई ठूलो झटका लाग्न सक्छ।

यद्यपि हार्दिकको चोटपटकको बारेमा आधिकारिक रूपमा खबर गरिएको छैन। यस्तो अवस्थामा यदि उनी खेल्दैनन् भने दिल्लीले ठूलो फाइदा लिन सक्छ।

३). कप्तान शर्माको फर्म र फिटनेस

कप्तान रोहित शर्माको फर्म र मुम्बई इन्डियन्सका लागि शीर्ष अर्डरमा उनको फिटनेस पनि चिन्ताको कारण हो। रोहितले आइपिएल २०२० को १० खेलमा २६४ रन बनाएका छन्। 

जबकि उनी ४ खेलमा बेन्चमा बसेका थिए। उनी लिगको अन्तिम खेल खेलेका थिए। तर, रन बनाउन असफल रहे। रोहितको अनुपस्थिति र फर्ममा नहुनु पनि दिल्लीको लागि सकारात्मक पक्ष हुन सक्छ।

दिल्ली क्यापिटलको कमजोरी

१) स्पिन बलिङ

​दिल्लीमा पनि स्पिन बलिङमा समस्या छ।  किनभने दिल्लीका मुख्य स्पिनर अमित मिश्रा चोटपटकका कारण आईपीएल २०२० सिजनबाट बाहिरिएका छन्।यस तरिकाले आर अश्विनमा जिम्मेवारी बढेको छ। यद्यपि अक्षर पटेल पनि शानदार बलिङ गरेका छन्। तर, मुम्बईले पनि यो एक अभावको फाइदा लिन सक्छ।

२) पृथ्वी शा फ्लप

​पृथ्वी शा दिल्लीको सबैभन्दा कान्छो ओपनर हुन्। तर, उनले रन बनाउन सकिरहेका छैनन्। यो दिल्लीका लागि दोस्रो सबैभन्दा ठूलो समस्या हो। पृथ्वी शो यस आईपीएलमा फ्लप हुँदै गइरहेका छन्। ब्याट र प्याडको बीचको कमजोरीका कारण उनी टिममा र बाहिर रहँदै आएका छन्।

उनले आइपिएलमा १२ खेलमा २२८ रन मात्र बनाउन सकेका छन्। यस्तो अवस्थामा मुम्बईले फेरि दिल्लीको कमजोर ओपनिङ जोडीलाई आक्रमण गर्न चाहन्छ।

३). मध्यक्रममा ब्याटिङ समस्या 

दिल्लीको मध्यक्रममा ऋषभ पन्त ब्याटिङ गर्न आउँछन्। तर, उनको प्रदर्शन जारी आईपीएलमा सन्तोषजनक छैन। उनले यस सिजनमा कुनै यादगार इनिङ्स खेलका छैनन्। 

उनले आफ्नो स्तरभन्दा तल ब्याटिङ पनि गरेका छन्। जसको कारणले दिल्लीको मध्यक्रम कमजोर देखिन्छ। पन्तले जारी लिगमा ११ खेलमा ३१.३३ को औसतमा २८२ रन मात्र बनाएका छन्। जबकि उनले जारी आइपिएलमा ३८ रनको सर्वाधिक इनिङ्स मात्रै खेलेका छन्। त्यसैले पन्तको कमाजोर ब्याटिङको फाइदा मुम्बईले लिनसक्छ।  

मुम्बईविरुद्ध सन्दीपको सम्भावना कति?

लिग चरणका कुनै पनि खेलमा मौका नपाएका दिल्ली क्यापिटल्समा आबद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि अवसर पाउने सम्भावना कम छ। यद्यपि टिमका महत्वपूर्ण स्पिनर रविचन्द्रन आश्विन घाइते भएको खबरले सन्दीपलाई राहत पुग्न सक्छ।

भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाका अनुसार आश्विन पूर्णरूपमा फिट छैनन्। आकाश पनि अहिले कमेन्ट्रीका लागि युएईमै छन्। यदि आज आश्विन मैदान नउत्रिए उनको स्थानमा सन्दीपले मौका पाउन सक्ने आकाशले औँल्याएका छन्।

टिममा भारतीय स्पिनरका रूपमा प्रवीण दुबे पनि छन्। तर, उनलाई आइपिएलको अनुभव छैन । दुबेले आइपिएलमा एक म्याच मात्र खेलेको छन्। जसकारण आश्विनले विश्राम लिए सन्दीपले प्लेइङ–११ मा मौका पाउन सक्ने छन्।

सन्दीपले मौका पाउन आश्विन घाइते भएर मात्र पुग्दैन। विदेशी कोटाबाट खेलिरहेका एनरिक नोर्टजे, कागिसो रबाडा, मार्कस स्टोइनिस र डानियल साम्समध्ये एकले विश्राम लिएपछि सन्दीपको सम्भावना हुन सक्छ। 

‘आश्विन फिट नभए सन्दीपलाई खेलाउनुपर्छ’

क्रिकेट केमेन्टेटर चोपडाका अनुसार यदि दिल्लीले सन्दीपलाई मौका दिएमा साम्सले विश्राम लिनुपर्ने हुन्छ। उनी आइपिएलमा खेलेका दुवै म्याचमा विकेटविहीन पनि छन्।

बिहीबार आफ्नो युट्युब च्यानलमार्फत एक भिडियो सार्वजनिक गर्दै आकाशले भनेका छन्, ‘यदि आश्विन फिट नभए उनको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाउनुपर्छ। विदेशी कोटाबाट अघिल्लो म्याच खेलेका डानियल साम्सलाई विश्राम दिनुपर्छ। र, उनको स्थानमा फास्ट बलरको रूपमा हर्षल पटेललाई आज दिल्लीले मैदान उतार्नुपर्छ।’

यदि आश्विन फिट भएमा भने दिल्लीको प्लेइङ–११ मा परिवर्तन आवश्यक नरहेकोसमेत चोपडाले बताएका छन्। आश्विन फिट भएमा अघिल्लो खेलमा उत्कृष्ट जित हासिल गरेकोले दिल्लीले सोही प्लेइङ सेटलाई निरन्तरता दिने सम्भावना छ।

मुम्बईको सम्भावित प्लेइङ–११ 

क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड (कप्तान), हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, राहुल चहर, जेम्स प्याटिनसन, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह

दिल्लीको सम्भावित प्लेइङ–११ 

शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, हर्षल पटेल, डानियल साम्स/सन्दीप लामिछाने र एनरिच नोर्टजे
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.