नेकपाकै नेता भन्छन्–भ्रमण नै गलत !

|

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणले नेपाल–भारतबीच निम्तिएको पछिल्लो विवाद सुल्झाउन महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण भइरहेका छन्। यतिखेर भारतीय सेना प्रमुखको नेपाल भ्रमण र विवादास्पद बनेको भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटले नेपाल–भारतको सम्बन्ध केही सुधारोन्मुख रहेको भान भएको छ। 

रअका प्रमुख सामन्तकुमार गोयलले कात्तिक ५ गते बुधबार राती प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। उनको भेटको उद्देश्यबारे अहिलेसम्म केही जानकारी बाहिर आएको छैन। यद्यपी भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण तयारीको क्रममा गोयल नेपाल आएको बताइएको थियो। 

सम्बन्धमा दरार

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत कुटनीतिक सम्बन्धमा फाटो आएको थियो।

त्यस्तै, प्रधानमन्त्री ओलीले हिन्दु धर्ममा भगवान मानिएका राम भारतको अयोध्यामा नभई नेपालकै ठोरीमा रहेको अयोध्यामा जन्मिएको अभिव्यक्ति दिएपछि तित्तता थप बढेको थियो।

सीमा विवादका विषयमा नेपाल सरकारले पटक-पटक भारत सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक नोट/पत्र पठाएपनि भारतले त्यसलाई बेवास्ता गर्दै आइरहेको छ। भारतले नाकाबन्दीका गरेको बखत पनि प्रधानमन्त्री ओलीले दिएका अभिव्यक्तिप्रति नयाँदिल्ली असन्तुष्ट रहँदै आएको थियो। 

कसले कसलाई फकाउँदै

दक्षिणी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री ओलीले प्रयास गरेको पनि देखिन्छ। यस्तै, नेपालमा सुक्ष्म व्यवस्थापन गर्न पल्केको भारतले पछिल्ला वर्षमा त्यस्तो भूमिका गुमाउँदै गएपछि ओलीलाई फकाउँदै हस्तक्षेपको पुरानै लयमा फर्कने कोशिश गरिरहेको अनुमान लगाउन गाह्रो छैन।

नयाँ नक्सा जारी गरेसँगै झन्‌ बिग्रिएको सम्बन्ध सुधार गर्न ओलीले भारतलाई कुटनीतिक पत्र पठाएका थिए। भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनसमेत गरेका थिए।

त्यति मात्रै होइन, उनले भारतीय प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर ट्वीटरमा पनि स्वतन्त्रता दिवसको शुभकामना दिए। 

सेना प्रमुखको भ्रमणले सम्बन्ध सुध्रिएला ? 

नेकपाका स्थायी कमिटि सदस्य लीलामणि पोखरेल त भारतीय सेना अध्यक्षको भ्रमण नै बेठीक भएको तर्क गर्छन्। उनले थाहाखबरसँग भने, ‘सेनाध्यक्षको भ्रमण नै बेठीक छ। राष्ट्रपति र प्रधानमन्त्रीले सेनामार्फत सन्देश पठाउने हो कि राजनीति रुपमा गर्ने हो? सम्बन्धको बिषय केही सुध्रिएला।’ 

नेपाल विरोधी अभिव्यक्ति दिने व्यक्तिलाई सम्मान दिन हतार भएको उनको आरोप छ। ‘उहाँको (नरवाणे) आगमनबारे नै प्रश्न उठिरहेको छ। पहिलो, नेपाल विरोधी अशिष्ट अभिव्यक्ति दिने व्यक्तिलाई सम्मान दिनुपर्ने हतार थिएन,’ उनले भने, ‘दोस्रो, सामन्तवादी परम्परालाई गणतन्त्रात्मक व्यवस्थामा पनि पछ्याउँदै सरकारले महारथी दिन उपयुक्त थिएन। उनी आउनु नै गलत हो। आइसकेपछि अब केही विषयमा छलफल होला र सम्बन्ध सुध्रिएला भन्ने आशा गरौँ।’ उनले नेपाल र भारतका प्रतिनिधिबीच आगामी मंसिरमा संवाद हुने तयारी भएको भन्दै विवादको समाधान निस्कने विश्वास व्यक्त गरे।

यता, प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण सेना प्रमुखले भ्रमण गरेकै आधारमा दुई देशको सम्बन्ध सुधार भइहाल्नेमा त्यति धेरै आशावादी हुन सक्ने आधार नरहेको बताउँछन्।

‘स्वदेशको मामलामा पनि र विदेशको नीतिको मामलामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्र देखिन्छ,’ उनले थाहाखबरसँग भने, ‘प्रधानमन्त्री बन्नुअघि पनि भारतका विभिन्न निकायका प्रतिनिधिसँग उहाँले भेट गर्नु भएकै थियो। अर्काे कुरा उहाँ बाहिर बोल्दा भारत विरोधी भएर बोल्ने, अनि भारत सरकारका प्रतिनिधिसँग म तपाईंहरूकै विदेश नीति अनुकुल छु भन्ने समस्या देखिन्छ। त्यसलै पनि नेपाल-भारत सम्बन्ध सहजै र पुरानै अवस्थामा आउला भन्नेमा शंका नै छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.