|

काठमाडौं : नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै उर्जा मन्त्री जनार्दन शर्माले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन्।

नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल लगानीका लागि बाँझो जमिन भएको भन्दै उनले लाभ लिने अवसर नगुमाउन लगानीकर्तालाई आग्रह गरेका हुन्। नेपाललाई विकासको रहर भोक जागेको भन्दै उनले विकासका लागि अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन रहने विश्वास व्यक्त गरे।

'नेपालमा लगानी गर्दा बढी भन्दा बढी तपाईंहरुले फाइदा लिन सक्नुहुन्छ। अन्तर्राष्ट्रिय लगानी भित्र्याएर जलविद्युतका पूर्वाधार हामी निर्माण गर्दैछौँ, तपाईंहरुले अवसरको सदुपयोग गर्नुस् नेपालमा लगानीको वातावरण छ,' उनले भने।

शर्माले नेपालको पानी र भूगोल नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे। नेपाल सरकारले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार समेत गरिसकेको उल्लेख गर्दै ऊर्जा मन्त्री शर्माले नेपालमा लगानी गरेर मुनाफा आर्जन गर्न अव सहज हुने बताए।

उनले नेपालमा हाल ३ हजार ९ सय मेघावाट विद्युत निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिए। मन्त्री शर्माले स्वदेशी लगानीलाई आकर्षित गर्न सरकारले नेपालको पानीः जनताको लगानीसम्बन्धी अवधारणा अघि सारेको पनि स्पष्ट भन्दै ऊर्जा मन्त्रालयले ८ हजार जलाशाययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि आवश्यक तयारी पनि सुरु जानकारी दिए।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सडक, रेलवे र रोपवे निर्माणमा सरकारले वैदेशिक लगानी भित्र्याउन चाहेको स्पष्ट उल्लेख गरे।

उनले यातायातको पूर्वाधारको विकासमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए। मन्त्री लेखकले सरकारले ७ सय ५० किलोमिटर लामो राजमार्ग निर्माणको तयारी गरिरहेको जानकारी दिँदै त्यसमा लगानी गर्न आह्वान गरे। '१५ वटा जिल्ला जोड्ने गरी राजमार्ग निर्माण भइरहेको छ यसमा पनि लगानीको अवसर छ,' उनले भने।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसमा साथ दिन विदेशी लगानीकर्ताहरुलाई आह्वान गरे।

'१० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने नेपालको लक्ष्यमा तपाइँहरुले सहयोग गर्न सक्नुहुन्छ। त्यसका लागि उपयुक्त वातावरण बनाउने प्रतिवद्धता आइसकेको छ,' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.