|

काठमाडौं : यतिबेला स्पेनिस महारथी बार्सिलोना गम्भीर आर्थिक संकटमा परेको छ। यो सिजन ९७ मिलियन युरो घाटा भएको आर्थिक विवरण सार्वजनिक गरेको बार्सिलोनालाई आफ्ना प्रमुख खेलाडी लियोनेल मेसीलाई पाल्नै धौ धौ को अवस्था आएको छ।

अर्को सिजनपछि पनि मेसीलाई नोउ क्याम्पै रोक्ने तयारी गरेको बार्सिलोनाले यही सिजनमै उनको तलब कटौती तयारी गरिरहेको छ। उपाधिको खडेरी झेल्दै आएको बार्सिलोनाले मेसीलाई अर्को सिजन अरु क्लबमा जान नदिने रणनीति एकातिर बनाउँदै गर्दा अर्कातिर उनको तलब पनि कटौती तयारी गरेको हो।

यस्तोमा प्रशिक्षक रोनाल्ड कोम्यानले शनिबार हुन लागेको रियल बेटिसविरुद्धको खेलमा अप्रत्यासित निर्णय लिएका छन्। उनले लिगको सातौं चरणको खेलमा आफ्ना प्रमुख स्ट्राइकर लियोनेल मेसीलाई बेन्चमा राखेर आक्रमणको जिम्मा एन्टोइन ग्रिजम्यानलाई सुम्पिएका छन्। 

मेसीले यो सिजनमा खासै प्रभाव जमाउन सकेका छैनन्। यस सिजनमा उनले सबै गोल पेनाल्टी मार्फत गरेका छन्। च्याम्पियन्स लिग र ला लिगामा नियमित खेलसँगै विश्वकप छनोटका लागि अर्जेन्टिनाबाट समेत खेलिरहेकाले कोम्यानले पहिलो पटक बेञ्चमा राख्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमले उल्लेख गरेका छन्। प्रशिक्षक कोम्यानले बार्सिलोना आएयता पहिलोपटक मेस्सीबिना टोली उतार्न लागेका हुन्। 

ग्रिजम्यानसँगै रियल बेटिसविरुद्धको आक्रमण पंक्तिमा दुई किशोर अन्सु फाती र पेड्री तथा राम्रो लयमा नरहेका डेम्बेलेलाई उतारेका छन्। मेसीले यो सिजन चार गोल गरेका छन्। तर ती सबै पेनाल्टीबाट गरेका हुन्।

त्यसैगरी डिजोङ, सर्जियो बुस्केट मध्यभागमा रहेका छन्। बार्सिलोनाका लागि सर्जियो रोबर्टो, जेरार्ड पिके, क्लेमेन्ट लेगनेन्ट र जोर्डी अल्बाले रक्षापंक्ति सम्हाल्दै छन्।

लिगको आफ्नो सातौं खेलमा बार्साले कप्तान लियोनल मेसीलाई विश्राम दिएको हो। लगातार चौथो खेलमा पनि जितविहीन बनेको बार्सिलोनाले मेसीलाई बेन्चमा राखेसँगै खेल रणनीतिमा फेरबदल ल्याउन यस्तो गरेको हो। लगातार खराब प्रदर्शनको प्रमुख दोषीका रुपमा बार्साले मेसीलाई जिम्मेवार ठहर्‍याउँदै आएको छ। 

यो सिजन म्यानचेस्टर सिटीमा जान तयार मेसी बार्सिलोनाविरुद्ध कानुनी लडाईं नलड्ने भन्दै त्यहीँ बसेका थिए। 

बार्साका प्रमख हतियार मेसी घाइते वा बिरामी हुँदा मात्रै यसअघि बेन्चमा हुन्थे। तर पहिलो पटक उनी खेल्न तयार हुँदा पनि बेन्चमा राखिनुलाई अर्थपूर्ण मानिएको छ। मेसीले सम्भवत: अर्को सिजन बार्सासँगको सम्झौता सकिएसँगै क्लबलाई बिदाको हात हल्लाउन सक्नेछन्। 

अर्कातिर बेटिसको आक्रमण लाइनमा एन्टोनियो सानाब्रियालाई क्रिस्टियन टेलो र जोएकिनले साथ दिनेछन्। सर्जियो कानालेस गुइडो रोड्रिग्वेज र विलियम कार्भाहालोले मिडफिल्डमा रहँदै आक्रमण र डिफेन्ससँग समन्वय गर्नेछन्। 

डिफेन्समा इमर्सन, एसा मेन्डी, मार्क बार्टरा र एलेक्स मोरेनो रहनेछन्। यसै सिजनमा म्यानेस्टर सिटीबाट आएका बार्सिलोनाका पुर्व गोलरक्षक क्लाउडियो बाभ्रोले बेटिसको गोलपोष्ट सम्हाल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.