सङ्क्रमितको सङ्ख्या २५ सय नाघ्यो

|

भद्रपुर (झापा) : कोरोना सङ्क्रमणबाट झापामा शनिवार एकै दिन एक स्वास्थ्यकर्मीसहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन्। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिकाका एक पुरुष र एक महिला, दमक नगरपालिका र शिवसताक्षी नगरपालिकाका एक एकसहित दुई महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। 

बिर्तामोड नगरपालिका-४ बस्ने ८५ वर्षीय श्रीकृष्ण चुडालको शुक्रवार राति आफ्नै घरमा मृत्यु भएको छ। उनको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

उनको शुक्रवार कनकाईस्थित कोटीहोम ल्याबमा कोरोनाका लागि पिसिआर परीक्षण गरिएको थियो। मृत्युपछि उनको शनिवार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखाएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

त्यस्तै सङ्क्रमणबाट शुक्रवार राति बिर्तामोड ६ बस्ने ४२ वर्षीय सुष्मा रेग्मीको उपचारका क्रममा विराटनगरको नोबेल हस्पिटलमा मृत्यु भएको छ। 

त्यस्तै कोरोना संक्रमित शिवसताक्षीकी एक स्वास्थ्यकर्मी महिलाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ६ बस्ने २५ वर्षीया सिर्जना काफ्लेको विराटनगरस्थित नोबेल अस्पतालमै शुक्रवार राति उपचारका क्रममा मृत्यु भएको छ। 

सतासी पोलिक्लिनकमा ल्याब टेक्निसियनको रुपमा कार्यरत काफ्लेलाई दमकको लाइफलाइन हस्पिटलमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर लगिएको र उनको उपचारको क्रममै मृत्यु भएको हो। 

त्यसैगरी दमक नगरपालिका-८ की ४२ वर्षिया महिलाको उपचारका क्रममा विराटनगरको नोबेल हस्पिटलमा मृत्यु भएको छ। दमक ८ स्थायी ठेगाना भए पनि ती महिला मोरङको भाउन्नेमा बस्दै आएकी थिइन्। 

मृतक महिलाको मोरङमै अन्त्येष्टि गरिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन्। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या झापामा ६२ पुगेको छ।

आज थपिए ७५ जना 

जिल्लामा शनिबार  २३ महिला र ५२ जना पुरुष गरी ७५ जना संक्रमित थपिएका छन्। सबैभन्दा बढी २७ जना संक्रमित दमक नगरपालिकाका रहेका छन्। 

दमकमा ६ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। त्यस्तै बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना संक्रमित थपिएका छन्। 

सङ्क्रमितमध्ये तीन स्वास्थ्यकर्मी हुन्।  यसैगरी भद्रपुर नगरपालिकामा ४ महिला र ९ पुरुष गरी १३ जना, कमल गाउँपालिकामा ४ महिला र २ पुरुष, गरी ६ जना, कनकाईमा ५ पुरुष, शिवसताक्षी र बुद्ध शान्तिमा १-१ महिला र १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। 

त्यसैगरी मेची नगरमा ३ पुरुष, अर्जुनधारा र बाह्रदशीमा १-१ महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २ हजार ५ सय ९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.