सन्दीप लामिछानेले पाउलान् त अवसर?

|

काठमाडौं : यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद आमनेसामने हुँदैछन्।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र हैदरावाद जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्।

हालसम्म आईपीएलको फाइनलमा पुग्न नसकेको दिल्ली हैदरावादविरुद्ध सकेसम्मको बल प्रयोग गर्नेछ। दिल्लीलाई आज पहिलोपटक फाइनल पुग्ने अवसर पनि छ। पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध हारेको दिल्ली हैदरावादविरुद्ध गल्ती नदोहोर्‍याउने लक्ष्यमा हुनेछ।

जारी सिजनको लिग चरणमा दिल्लीले १४ मध्ये ८ खेलमा जित र ६ खेलमा हारको सामना गरेको थियो। दिल्ली १६ अंकका साथ शीर्ष दुईमा रहँदै क्वालिफायर वानमा प्रवेश गरेको थियो। तर, क्वालिफायर वानमा मुम्बई इण्डियन्सविरुद्ध पराजित भए पनि दिल्ली इलिमिनेटरमा विजेता बनेको हैदरावादसँग फेरि क्वालिफायर म्याच खेल्न लागेको हो।

हैदरावादले आईपीएल २०२० मा लिग चरणका १४ मध्ये समान सातमा हार र सातमा जित हासिल गरेको थियो। हैदराबाद १४ अंकका साथ प्लेअफमा प्रवेश गरेको थियो। इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई हराउँदै क्वालिफायर टुमा पुगेको हैदरावाद पछिल्लो समय लयमा देखिएको छ।

सुरुवात म्याचमा लय नदेखाएको हैदावादले पछिल्ला चार खेलमा भने लगातार जित हासिल गरेको छ। लिग चरणका दुबै खेलमा हैदरावादविरुद्ध दिल्ली पराजित भएको थियो।

दिल्लीले सुरुवात म्याचमा राम्रो प्रदर्शन गरे पनि फाइनल पुग्ने बेला भने खराब लय देखाएको छ। उसले पछिल्ला ६ खेलमध्ये एक म्याचमा मात्र जित हासिल गर्न सफल भएको छ।

आजको खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ। फाइनलमा मुम्बई इण्डियनसँग भिड्नेछ। यस खेलमा पराजित हुने टिम भने बाहिरिनेछ। त्यसैले दुई टिमबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएको थियो। तर, आईपीएलको नियम अनुसार दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली हैदरावादलाई हराउँदै पुनः मुम्बईसँगको भेट पक्का गर्न चाहन्छ। तर, दिल्लीलाई हैदराबादविरुद्ध जित निकाल्न सहज हुने छैन।

डेविड वार्नरको कप्तानीमा रहेको हैदरावाद पनि दिल्लीलाई हराएर फाइनल पुग्न चाहन्छ। दिल्लीविरुद्ध हैदरावादको अघिल्ला नतिजा समेत राम्रो छ। लिग चरणको दुबै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो।

लिग चरणको पहिलो भेटमा हैदरावादले दिल्लीलाई १५ रनले हराएको थियो। दोस्रो भेटमा हैदराबादले ८८ रनको जित निकालेको थियो।

दुवै टिमको यअसघिको प्रदर्शन

दिल्लीले सुरुवाती ९ खेलमा ७ मा जितका साथ उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यस पछि दिल्लीले लगातार ४ खेलहरू गुमायो। र, उसलाई प्लेअफमा स्थान बनाउन कठिन भयो। लिग चरणको अन्तिम खेलमा बैंग्लोरलाई हराएर ऊ प्लेअफको लागि क्वालिफाइ गर्‍यो। 

तर, दिल्ली मुम्बईविरुद्ध प्लेअफमा पनि संघर्ष गर्‍यो। दिल्लीले पनि यस पटक पृथ्वी शालाई एक मौका दियो। तर, उनको प्रदर्शन राम्रो रहेन। शा फेरि आफ्नो खाता खोल्न असफल भए। मुम्बईविरुद्ध शिखर धवन र अजिंक्य रहाणेले पनि शूल्य रनमा आउट भएका थिए।

सनराइजर्स हैदरावादका ऋद्धिमान साहले सुरुवातमा राम्रो प्रदर्शन गरिरहेका छन्। तर, बैंग्लोरविरुद्धको खेल भने उनले चोटका कारण गुमाएका थिए। तर, पनि हैदरावादले अन्तिम खेलमा बैंग्लोरलाई हराएको थियो। साहको चोटको अहिलेसम्म कुनै नयाँ अपडेट भएको छैन। यदि उनी फिट छन् भने आज दिल्लीविरुद्ध खेल्न सक्छन्।

दिल्लीले सन्दीपमाथि गर्ला विश्वास?

दिल्लीले पहिलो क्वालिफायरमा मुम्बईसँग खेलेको थियो। तर, मुम्बईविरुद्ध पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर पनि खेल्नुपर्ने भएको हो।

मुम्बईविरुद्ध दिल्लीका बलर-ब्याट्सम्यानको खराब प्रदर्शन रह्यो। पहिला बलिङ गरेको दिल्लीले खराब सुरुवात गर्‍यो। रोहित शर्माको विकेट छिट्टै लिए पनि रनको गतिमा सुस्तता ल्याउन सकेन। जसकारण दिल्लीले २०१ रनको विशाल लक्ष्य पायो।

विशेष गरी मुम्बई विरुद्धको महत्वपूर्ण खेलमा दिल्लीका फास्ट बलर खर्चिला रहे। पहिलो क्वालिफायरमा दिल्ली महत्वपूर्ण बलर मानिएका कागिसो रबाडा र एनरिक नोर्टजे निकै महँगा सावित भए।

नोर्टजेले एक विकेट लिए पनि उनले चार ओभरमा ५० रन खर्चिन पुगे। त्यस्तै, रबाडाले चार ओभरमा बिनाविकेट ४२, डानियल साम्सनले चार ओभरमा विनाविकेट ४४ रन दिए।

फास्ट बलरको तुलनामा मुम्बईविरुद्ध स्पिनरले राम्रो प्रदर्शन गरे। स्पिनर रविचन्द्रन आश्विनले आफ्नो चार ओभरमा महत्वपूर्ण ३ विकेट लिएर २९ रन मात्र खर्चिए।

त्यस्तै, अक्क्षर पटेलले विकेट नलिए पनि ३ ओभरमा २७ रन दिए। दोस्रो क्वालिफायरमा दिल्लीले केही परिवर्तन गर्ने सम्भावना छ। उसले खराब प्रदर्शन गरिरहेका डानियल साम्सलाई आजको म्याचमा विश्राम दिने पक्का जस्तै छ। 

उनको स्थानमा दिल्लीले शिमरोन हेटमायर, किमो पउल र सन्दीप लामिछानेमध्ये एकले मौका पाउने सम्भावनाछ। यी तीन जनामध्ये बढी सम्भावना हेमायर र सन्दीपको छ। हेटमायरले सुरुवातका म्याचमा लगातार मौका पाएका थिए। केही म्याचमा राम्रो ब्याटिङ पनि गरे । तर, बीचमा उनले विश्राम पाए।

सन्दीपले जारी सिजनमा अहिलेसम्म मौका पाएका छैनन्। तर, आजको महत्वपूर्ण म्याचमा दिल्लीले उनीमाथि विश्वास गर्ने सम्भावना पनि कायमै छ। यूएईका पिच स्पिनर अनुकूल भइरहेका छन्।

र, सन्दीपको बलिङबारे विपक्षी टिमका खेलाडीले जारी सिजनमा खासै अध्ययन गरेका छैनन्। दिल्लीको चलाखी रणनीतिअनुसार सन्दीपले प्लेइङ–११ मा मौका पाउने सम्भावना छ।

चोपडाले छानेको दिल्लीको प्लेइङ-११मा सन्दीप पनि

भारतीय पूर्व क्रिकेटर तथा अहिलेका कमेन्टेटर आकाश चोपडाले दिल्ली क्यापिटल्सलाई सनराइजर्स हैदरावादविरुद्ध सन्दीप लामिछानेलाई मौका दिन आग्रह गरेका छन्।

आज आफ्नो युट्युब च्यानलमार्फत दुवै टिमको विश्लेषण गर्दै उनले सन्दीपलाई मौका दिन आग्रह गरेका हुन्। आकाशले दिल्लीलाई आग्रह गर्दै भिडियोमा भनेका छन्, ‘तीन स्पिनरका साथ उत्रिनुस्, यो पिचमा बढी टन भइरहेको छ। त्यसैले आश्विन, अक्क्षर र सन्दीपलाई खेलाउनुस्।’

अघिल्लो क्वालिफायरमा पनि आकासले डानियल साम्सको स्थानमा सन्दीप लामिछानेलाई मौका दिन आग्रह गरेका थिए। तर, दिल्लीले साम्सलाई नै मौका दियो। र, टिमले नराम्ररी हार ब्यहोर्‍यो।

आकासले आज दिल्ली एक खेलाडी परिवर्तन गर्न सक्ने औँल्याएका छन्। उनले साम्सको स्थानमा दिल्लीले हेटमायर र सन्दीपमध्ये एकलाई खेलाउनुपर्ने बताएका छन्। उनले हेटमायरभन्दा सन्दीपमा जोड दिएका छन्। आकाशले आफ्नो प्लेइङ–११ मा पनि सन्दीपलाई मौका दिएका छन्।

हेड टू हेड 

हेड टू हेड म्याचमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्समाथि हावी छ। आईपीएलमा दुई टोलीबीच कूल १७ खेलहरू खेलिएका छन्। जसमा हैदराबादले ११ पटक जितेको छ।

पछिल्ला ६ खेलमा हैदरावादले ४ पटक दिल्लीलाई पराजित गरेको छ। तर, यी दुई टोली २०१९ को एलिमिनेटरमा भिड्दा दिल्लीले हैदराबादलाई २ विकेटल हराएको थियो।

दिल्लीको सम्भावित प्लेइङ-११ 

शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), शिमरोन हेटमायर÷सन्दीप लामिछाने, ऋषभ पन्त, मार्कस स्टोइनिस, हर्षल पटेल, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन आश्विन र एनरिक नोर्टजे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.