|

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण बहादुर खड्का सहितको प्रहरी टोलीले आइतबार बिहान सदरमुकाम कुस्मा बजारमा गुडिरहेका सवारीलाई रोक्दै एक मिनेटमा आफ्ना कुरा राख्नमा व्यस्त थिए।

गुडिरहेका सवारी रोकिरहेका ट्राफिक प्रहरीले कागजात खोजेका होलान् भनी हतार हतार कागजपत्र मिलाउँदै गरेका चालकहरू ट्राफिक प्रहरीको व्यवहारबाट दङ्ग पर्दै थिए। ड्युटीमा रहेका प्रहरीले चालकहरूलाई नमस्कार गर्दै एक मिनेटका लागि सवारी रोक्न अनुरोध गर्दै एक मिनेटमा धेरै कुरा सिकाउँदा चालकहरू हौसिएका देखिन्थे।

सवारी रोकेपछि ट्राफिक प्रहरीले सवारीका सबै यात्रुलाई अनिवार्य रूपमा मास्क लगाउन भन्ने, सवारीमा सेनिटाइजर राख्ने, आफूले पिउने पानीको व्यवस्थापन आफैले गर्ने, एक अर्कामा सम्मुख हुने गरी नबस्ने, सवारी चलाउनु पूर्व अवस्था जाँच गर्नुपर्ने, सिट बेल्ट बाँध्ने, सवारी र चालकका कागजपत्र ठिक अवस्थामा राख्ने, यात्राको क्रममा मादक पदार्थ सेवन गर्न नहुने लगायतका कुराहरू सिकाउँदै थिए।

ट्राफिक प्रहरीको यो अभियान पर्वतमा मात्र होइन गण्डकी प्रदेशका ११ वटै जिल्लामा आइतबारदेखि लागू भएको छ। लकडाउन फुकुवा भएपश्चात् सडकमा सवारी साधनको सङ्ख्या वृद्धि भएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै कोरोना नियन्त्रणको प्रयास गर्न गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले यो अभियान थालेको हो।

राजमार्ग तथा सहरी क्षेत्रहरूमा सञ्चालन हुने गरी कम्तीमा पनि एक महिना दैनिक रूपमा ‘चालकसँग १ मिनेट कार्यक्रम’ सञ्चालन गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक मनोज कुमार शाहीले बताए।

‘यस कार्यक्रमअन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सवारीलाई रोकेर सम्मानपूर्वक नमस्कार गर्दछन्। त्यसपछि कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दूरी कायम गरी अनिवार्य रूपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउँदा अनिवार्य रूपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल वा स्कुटर चलाउँदा हेल्मेट र हेलमेटको फित्ता अनिवार्य रूपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य वस्तु सेवन गरी सवारी नचलाऔँ भन्छ।’ उनले भने, ‘एक मिनेट भित्रमा ट्राफिक प्रहरीले ती कुराहरू सम्झाएर चालकहरूलाई शुभ यात्रा भनी बिदा गर्दछन्।’

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक पोस्टहरूले एकै पटक यो कार्यक्रम सुरु गरिएको छ भने यसलाई पहिलो चरणमा १ महिनासम्म सञ्चालन गरिने छ।

कोरोना सङ्क्रमणबाट बच्ने/बचाउने र सवारी चालकको लापरबाहीबाट हुने दुर्घटनामा न्यूनीकरण होस् भन्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ। साथै तीव्र गति नियन्त्रणका लागि राजमार्ग तथा खुला सडक खण्डमा ‘लेजर गन’ को सहायताले गति मापन गरेर तीव्र गतिमा चलाउनेहरूलाई सचेत गराउँदै कारबाही गर्ने काम पनि सुरु भएको प्रहरी निरीक्षक शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.