|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : अनौठो मुर्ती र दुई चामत्कारिक गुफाले चर्चामा ल्याएको स्याउलेस्थित हर्लङबर्लङ मन्दिर पर्यटकिय क्षेत्रका रुपमा विकसित हुन थालेको छ। २०६९ साल चैत ८ गते दिउँसै रात परेपछि यो मन्दिर स्थानीयमाझ चर्चामा आएको थियो।  

'मन्दिरको चौर सम्याउन डोजर लगाउने क्रममा ढुंगा उप्काउन खोज्दा अचानक डोजरको स्टार्ट बन्द भई मध्य दिनमा पुरै अन्धकार भयो। असिनापानी, हावाहुरी आएको थियो  उक्त दिन दिउसै बतीबाल्नु पर्ने अवस्था आएपछि स्थानीयले रहस्य पत्ता लगाउन देउता बोलाउने, पुजापाठ गर्ने गरेका थिए,' ७ वर्षअघिको घटना संझदैं स्थानीय थिरबहादुर ठकुरीले भने।

हरेकवर्ष भान्य पूर्णिको दिनमेला लाग्ने भएकाले यसअघि पनि यो मन्दिर चर्चामा थियो।  गुफा र अनौठो मुर्ती निस्केपछि मन्दिरमा पर्यटकको भीड बढेको छ।

मन्दिर घुम्न आउनेहरुको संख्या बढेपछि व्यवस्थित गर्नका लागि स्थानीय जुटेका छन्। स्थानीय महेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा हर्लाङबर्लाङ देविस्थान र इन्द्रेश्वर महादेव संरक्षण तथा विकास समिति गठन गरेर स्थानीय मन्दिर परिसरको विकासमा जुटेका हुन्।

मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकासित गर्न तयार गरिएको गुरुयोजना भने लागु हुन सकेको छैन्। मन्दिर परिसरमा धर्मशाला, पिकनिकस्पट, गुफासम्म जाने बाटो बनाइएको छ।

आफ्नो गाउँलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि सिङ्गो स्याउलेवासी जुटेका छन्। भूकम्प पहिला धेरै पर्यटकहरु आउने गरेको भएपनि भूकम्पपछि मन्दिर र गुफामा जाने बाटो व्यवस्थित गर्न नसक्दा आगन्तुकको संख्यामा कमी आएको स्थानीय थिरबहादुर ठकुरी बताउँछन्।

रहस्यमय गुफा जहाँ पस्ने बाटो छ, निस्कने बाटो छैन्

गुफाभित्र दुई घण्टासम्म भित्र पस्दा समेत बाहिर निस्कने कुनै बाटो नभेटिएकाले गुफाको अन्त्य कहाँ पुगेर भएको छ वा गुफाबाट अन्त कतै निस्कने ठाउँ छ भन्ने अझै पत्ता लागेको छैन । गुफाभित्र बाघ, सिंह लगाएत अन्य जनावर वा भगवानहरुको फोटो जस्तो भएको स्थानीय बताउँछन्।

मन्दिरलाई व्यवस्थित गर्न सके सिन्धुपाल्चोक जिल्लाको उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा आफ्नो ठाउँलाई चिनाउँन सकिने स्थानीय थिबहादुर ठकुरीले बताए। हर्लङबर्लङ क्षेत्रलाई धार्मिक, पर्यटकीय, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको रुपमा विकास गर्न लागिएको स्थानीयवासीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.