|

काठमाडौं : युएईमा जारी १३औँ सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल आज हुँदैछ। यो पटक उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्न लागेका हुन्। यी दुईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ।

आइपिएल २०२० मा दुबै टिमले राम्रो गर्दै फाइनलसम्मको यात्रा गरेका हुन्। मुम्बईले दिल्लीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो। दिल्लीले आइतबार राति सनराइजर्स हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलको टिकट काट्न सफल भयो।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। तुलनात्मक रूपमा जारी सिजनमा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ। उसले दिल्लीलाई पहिलो क्वालिफायर र लिग चरणका दुबै खेलमा पराजित गरेको थियो।

दिल्लीले सुरुवातका म्याचमा राम्रो सुरुवात गरे पनि पछिल्लो खेलमा खराब लय समातेको थियो। यद्यपि क्वालिफायर–२ मा हैदराबादविरुद्ध भने दिल्लीले फेरि लय देखाएको छ। फाइनलमा पनि त्यही लय कायमै राखे मुम्बई र दिल्लीको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।

१३औँ सिजनसम्म आइपुग्दा दिल्लीले उपाधि जित्न सकेको छैन। तर, मुम्बईले भने चार पटक आइपिएल ट्रफी हात पारिसकेको छ। मुम्बई गत सिजनको विजेता टिम पनि हो।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आइपिएलकै सर्वाधिक सफल टिम हो। दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौँ उपाधि आफ्नो बनाउन चाहन्छ।

मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो। तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्लीको इतिहास भने मुम्बईको ठीकविपरीत छ।

यसअघि १२औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ। अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ। तर, बलियो टिम मुम्बईविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन। 

दिल्ली अघिल्ला तीन खेलमा बेहोरेको हारको बदला लिन पनि चाहन्छ। लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेल ९ विकेटको जित निकालेको थियो। यस्तै पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो।

पहिलो क्वालिफायरमा हार ब्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुनः मुम्बईसँगको भेट पक्का गरेको हो। दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराएको थियो।

दिल्लीबाट लगातार तेस्रो सिजन आइपिएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले फाइनलमा खेल्न पाउने सम्भावना निकै कम रहेको छ। यसवर्ष सन्दीपले मैदान उत्रने मौका पाएका छैनन्। उनी बेन्चमै सिमित हुँदै आइरहेका छन्।

मुम्बईको प्रदर्शन

यस सिजन अघि युएईमा मुम्बई इन्डियन्सको प्रदर्शन त्यति राम्रो थिएन। टोलीले यसवर्ष औसत प्रदर्शन दिन सक्षम रहेको छ। 

यस सिजनमा मुम्बईको सुरुवात पनि राम्रो रहन सकेन। पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो। साविक विजेता मुम्बई पराजय पछि जितेको लय समात्यो। र, फाइनलमा पुग्यो।

अंक तालिकामा १८ अंकका साथ लिग चरणमा शीर्ष स्थानमा रहँदै मुम्बईले प्लेअफ पुग्यो। पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हरायो। मुम्बई एकपटक फेरि दिल्लीलाई हराउँदै उपाधि जित्न चाहन्छ।

मुम्बईका प्रायः सबै खेलाडीहरू फर्ममा छन्। ब्याटिङमा सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्ड्या र किरोन पोलार्ड क्विन्टन डिकक राम्रो खेलिरहेका छन्। उसका जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले लगातार घातक बलिङ गरिरहेका छन्।

बोल्टले फाइलमा खेल्ने

मुम्बईका मुख्य बलर ट्रेन्ट बोल्ट दिल्लीविरुद्धको पहिलो क्वालिफायर खेलमा घाइते भएका थिए।  तर, अहिले उनी पूर्ण रूपमा फिट भएका छन्। कप्तान रोहित शर्माका अनुसार बोल्ट दिल्लीविरुद्धको खेल खेल्ने छन्।

बोल्टले मुम्बईका लागि अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन्। यस सिजनमा उनले १४ खेलमा २२ विकेट लिएका छन्। उनको इकनोमी रेट ८ छ।

दिल्लीको उतारचढाव प्रदर्शन

आइपिएल २०२० मा दिल्ली क्यापिटल्सको उतार–चढाव प्रदर्शन छ। पहिलो ९ खेलमध्ये ७ जितेको दिल्ली कुनै समस्या बिना प्लेअफमा पुग्ने अपेक्षा गरिएको थियो।

लगातार ४ खेलमा पराजित भएपछि प्लेअफ पुग्नै कठिन भयो। लिग चरणको अन्तिम खेलमा बैंग्लोरलाई हराएर ऊ प्लेअफको लागि क्वालिफाइ गर्‍यो। 

दिल्लीले पुनः पहिलो क्वालिफायरमा खराब प्रदर्शन गरेको थियो। जसमा मुम्बईसँग दिल्लीले ५७ रनको हार ब्योहरेको थियो। तर, दोस्रो क्वालिफायरमा हैदराबादलाई १७ रनले हराएर दिल्ली पहिलोपटक फाइनलमा प्रवेश गरेको हो।

हैदराबादविरुद्ध शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडाले शानदार प्रदर्शन गरेका थिए। दिल्लीलाई ओपनरमा मार्कस स्टोइनिस र शिखर धवनलाई निरन्तरता दिने छ। यी दुई ब्याट्सम्यान राम्रो लयमा हुँदा उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ। 

पछिल्लो खेलमा हैदराबादविरुद्ध ८९ रनको साझेदारी गरेका यी दुई ओपनरबाट दिल्ली उत्कृष्ट प्रर्दशन चाहन्छ। क्वालिफायरमा स्टोइनिसले मुम्बईविरुद्ध ६५ रनको उत्कृष्ट इनिङ खेलेका थिए। कप्तान श्रेयस अय्यर, अजिंक्या रहाणे र विकेटकिपर ऋषभ पन्तले संघर्ष गरिरहेका छन्। यी तीन ब्याट्सम्यानलाई मध्यक्रममा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ। 

दुबईको बाउन्ड्री ठूलो हुँदा स्पिनरको प्रर्दशन निकै महत्वपूर्ण हुनेछ। रविचन्द्रन आश्विनले क्वालिफायरमा मुम्बईविरुद्ध ३ विकेट लिएका थिए। आश्विन र अक्षरलाई उत्कृष्ट प्रर्दशनको आवश्यक देखिन्छ।

तीव्र गतिका बलर रबाडाको प्रर्दशन दिल्लीलाई निकै महत्वपूर्ण हुने छ। जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका रबाडाको उच्च प्रर्दशनबिना जित कठिन पर्न सक्छ। 

सन्दीपको सम्भावना न्यून 

दिल्लीबाट लगातार तेस्रो सिजन आइपिएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले फाइनलमा खेल्न पाउने सम्भावना न्यून रहेको छ।

यसवर्ष सन्दीपले मैदान उत्रने मौका पाएका छैनन्। उनी बेन्चमै सीमित हुँदै आइरहेका छन्। टिममा रहेका अन्य विदेशी खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेकाले सन्दीले प्लेङ ११ मा मौका नपाएका हुन्।

हेड टु हेड 

आइपिएलमा हालसम्म मुम्बई इन्डियन र दिल्ली क्यापिटल्सबीच २७ खेल भएका छन्। यीमध्ये १५ पटक मुम्बई र १२ पटक दिल्लीको टीम खेल जित्न सफल भएको छ। 

एकै साथ २०२० लिग चरण र क्वालिफायरसहित यी दुई टोलीका बीच तीन खेल खेलिएका छन्। मुम्बईले तीनै पटक दिल्लीलाई हराएको छ। 

मुम्बईको सम्भावित प्लेइङ ११ 

क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पाण्ड्या, राहुल चहर, नाथनकुल्टर नाइल, जेम्स प्याटिन्सन÷ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह।

दिल्लीको सम्भावित प्लेइङ ११ 

शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, हर्षल पटेल/प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.