मेडिकल कलेजबाटै फोक्सोको सम्पूर्ण डायग्‍‍नोसिस

|

बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले फोक्सोको उपचारका लागि नयाँ प्रविधि भित्र्याएको छ। मेडिकल कलेजले फोक्सोको डायग्नोसिस गर्नका लागि ब्रोङकोस्कोपी प्रविधि शुक्रबारदेखि भित्र्याएको हो।

नेपालगन्ज मेडिकल कलेजले ब्रोङकोस्कोपी मेसिन भित्र्याएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका फोक्सो रोगका बिरामीलाई उपचारका लागि काठमाडौँ र भारतको लखनऊ जान पर्ने बाध्यता हटेको छ। ब्रोङ्कोस्कोपी उपकरणले फोक्सोमा जमेको खकार झिक्ने, फोक्सोको टिवी, फोक्सोको क्यान्सर समेत पत्ता लगाउन सकिने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका उप–निर्देशक डा. रोमन किदवाईले बताए।

उनले यसअघि काठमाडौं र चितवनमा मात्र ब्रोङकोस्कोपी मेसिनद्वारा उपचार हुने गरेको बताए। ‘फोक्सोको सम्पूर्ण जाँच अव नेपालगन्ज मेडिकल कलेजमै हुन्छ, यसले मध्य र सुदूरपश्चिम क्षेत्रका जनतालाई बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ डा. किदवाईले भने।

ब्रोङकोस्कोपीबाट फोक्सोको क्यान्सर पत्ता लाग्ने

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अहिलेसम्म एक्स–रे को आधारमा मात्र उपचार भैरहेको थियो। एक्स–रे को आधारमा उपचार गर्दा फोक्सोमा हुने सम्पूर्ण इन्फेक्सन र अवस्था जान्न नसकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन एवम् पल्मोलोष्ट डा. सुभाष योगीले बताए।

‘ब्रोङ्को–स्कोपीले फोक्सोको बास्तविक अवस्था पत्ता लाग्ने भएकोले रोग निदानमा चिकित्सकलाई सहज भएको छ,’ डा. योगीले भने, ‘ब्रोङकोस्कोपीले फोक्सोमा हुने क्यान्सर, मासु पलाउने, कुनै वस्तु अड्केको समेत पत्ता लगाउन सकिन्छ।’

उनले खकारबाट रगत आउने, निमोनिया, दम लगायतका विरामीलाई उक्त प्रविधिले राहत मिल्ने बताए। उनले फोक्सोको एक पटक डायग्नोसिस् गरेको ३ हजार शुल्क लाग्ने समेत जानकारी दिँदै काठमाडौँको तुलनामा सस्तो भएको बताए। ‘यहाँका विरामीको आर्थिक अवस्थालाई हेरेर शुल्क तोकेका छौँ, काठमाडौँको भन्दा यहाँ दोब्बर सस्तो छ,’ डा. योगीले भने।

दाङकी बिरामीको पहिलो पटक ब्रोङकोस्कोपी

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सुरु भएको ब्रोङकोस्कोपीको प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडिया र निर्देशक डा. एम किदवाईले शुक्रबार उद्घाटन गरे।

उद्घाटन लगत्तै दाङकी तुलसा बुढाथोकीको ब्रोङ्कोस्कोपी गरेर फोक्सोमा जमेको खकार सफा गरिनुका साथै फोक्सोको डायग्नोसिस गरिएको शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन एवम् पल्मोलोष्ट डा. सुभाष योगीले बताए। बुढाथोकी दमकी बिरामी हुन्। उनले शिक्षण अस्पताल नेपालगन्जको निगरानीमा उपचार गराइरहेकी छन्।

फोक्सो क्यान्सरका बिरामी बढ्दै

धुलो, धुवा, धु्रमपान र अस्वथकर खानाका कारण फोक्सोका बिरामी बढ्दै गएको डा. योगीले बताए । उनले हालसम्म ६९० जना विरामीको फोक्सोको उपचार गरेकोमा १५० जनालाई फोक्सोको क्यान्सर भएको फेला परेको बताए।

उनले निमोनियाको समस्याका कारण पनि फोक्सोमा समस्या हुने गरेको बताए। ‘३ वर्षको अवधिमा डेढ सय जनालाई फोक्सोको क्यान्सर हुनुले यसको अवस्था भयावह छ भन्ने बुझिन्छ,’ डा. योगीले भने। 

उनले छातीमा समस्या देखिएमा वा स्वास प्रस्वासमा समस्या देखिनासाथ जाँच गराउन सुझाव दिएका छन्। अन्तिम अवस्थामा उपचारका लागि आउनुभन्दा शंका लाग्नासाथ उपचार गराउँदा राम्रो हुने बताउँदै उनले ढिलो गरी उपचारमा आएका कारण क्यान्सर हुने गरेको बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.