|

काठमाडौं : २०६४ सालको संविधान सभा निर्वाचन हुँदा मोहन वैद्य र नेत्रविक्रम चन्द तत्कालीन नेकपा माओवादीमै थिए। उक्त चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी बनेको पनि थियो। तर पहिलो संविधानसभा भंग भएपछि वैद्य र विप्लव दुवैले माओवादी छाडेर नेकपा - माओवादी गठन गरे। त्यसको केही वर्षमा विप्लवले वैद्यलाई पनि छाडेर नयाँ पार्टी गठन गरे।

वैद्य र विप्लव दुवै चुनिएर भन्दा युद्धबाट अरुलाई परास्त गरेर सत्ता स्थापना गर्न चाहन्थे। त्यसैले उनीहरुले दोश्रो संविधानसभा चुनाव बहिस्कार गरे। सरकारले अहिले घोषणा गरेको चुनाव विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले त बहिस्कारको घोषणा गरिसक्यो। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भने आधिकारिक भनाइ सार्वजनिक गरेको छैन।   

क्रान्तिबाटै सत्ता कब्जा गर्ने उद्देश्य रहेको यी दुई पार्टीका विद्यार्थी संगठन यसवर्ष स्ववियु चुनावमा सक्रिय सहभागी भए। उनीहरु स्ववियु चुनावमा सहभागी मात्रै भएनन्, उनीहरुकै शब्दमा 'संसदीय भासमा डुबेका' एमाले, कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुसँग गठबन्धन समेत गरे। विद्यार्थीका मतबाट यी दुई संगठनका कतिपय विद्यार्थी नेता क्याम्पस स्ववियुमा स्थान बनाउन सफल भएका छन्। 

कति पाए मत?

अखिल क्रान्तिकारी (विप्लव) ले त्रिभुवन विश्वविद्यालयसँग पूर्ण समानुपातिक स्ववियु र तीन ठूला दलका संगठनको सिन्डिकेट अन्त्य गर्नुपर्ने माग राखेर विभिन्न क्याम्पसमा तालाबन्दी गरेको थियो। यही मागमा त्रिवि र अन्य विद्यार्थी संगठनलाई स्ववियु चुनावको मिति ४ दिन सार्न मनाएको अखिल क्रान्तिकारी (विप्लव) ले ४ वटा क्यामपसमा स्ववियु अध्यक्ष जितेको दावी गरेको छ।

अध्यक्ष पूर्ण सिंहका अनुसार अन्य संगठनहरुसँग गठबन्धन गरेर ६ क्याम्पसमा उपाध्यक्ष, ४ क्याम्पसमा सचिव, २ क्याम्पसमा सहसचिव, ३ क्याम्पसमा कोषाध्यक्ष, प्रत्यक्ष तर्फबाट सदस्य २८ र ६ समानुपातिक सदस्यमा जित हासिल गरेको छ। स्ववियु अध्यक्ष जितेका ४ क्याम्पसमध्ये १ अछामको र बाँकी ३ रुकुमका रहेको सिंहले जानकारी दिए। छोटो समयको तयारीमा पनि संगठनको उपस्थिति देखाउन सकेको उनले बताए। 

अखिल क्रान्तिकारी (मोहन वैद्य) ले भने जितेको जानकारी नआइसकेको अध्यक्ष सेवन्तराज भण्डारीले बताए। उनका अनुसार मोरङको पथरी बहुमुखी क्याम्पसमा दोस्रो भएको छ भने कञ्चनपुरको रौलेश्वर बहुमुखी क्याम्पसमा अध्यक्षका उम्मेदवार ५ मतले पराजित भए। अध्यक्ष भण्डारी पार्टीको चुनाव उपयोग गर्ने रणनीति अनुसार नै चुनावमा सहभागी बताउँछन्। उनले टुटफूटबाट थिलथिलो भएको संगठन निर्माण गर्ने अवसरको रुपमा स्ववियु चुनावलाई लिएको बताए।

चुनावबारे धारणा 

हालै जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा महाधिवेशन गरेको नेपाल कम्युनिष्ट पार्टीले संसदीय व्यवस्थाको विकल्प क्रान्तिद्वारा खोज्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टीका महासचिव विप्लवले सरकारद्वारा बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई सरकारको नौटङ्की भन्दै त्यसको बहिस्कार गर्ने बताएको छ। तर स्ववियु निर्वाचनमा भने नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनले महासचिव विप्लवकै 'ग्रीन सिग्नल'मा सहभागिता जनाएको थियो।

अखिल क्रान्तिकारी  (विप्लव) का अध्यक्ष पूर्ण सिंहले चुनावमा सहभागी भएर विद्यार्थीको स्वतन्त्रताको हक उपयोग गरेको बताए। 'स्ववियुमा नेतृत्व गर्नु विद्यार्थीको हक भएकाले हामी सहभागी भएका हौं', उनले भने, 'हामी शैक्षिक क्षेत्रको सुधार गर्ने संकल्पसहित सहभागी भएका हौं। हाम्रो संगठनमा देशभरिका ३५ हजार सदस्य छन् उनीहरुलाई साथमा लिन र बहिस्कार गर्नुपर्ने केही कारण नभएकोले चुनावमा गएका हौं।' स्ववियु चुनावमा भाग लिएपनि स्थानीय निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीले निर्णय गर्ने विद्यार्थी नेता सिंहले बताए।

अखिल क्रान्तिकारी (मोहन वैद्य) का अध्यक्ष सेवन्तराज भण्डारीले भने पार्टीको सुझावकै आधारमा स्ववियु चुनावमा सहभागी भएको बताए। 'संगठनको पुनर्गठनका लागि भएपनि निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्छ भनेर पार्टी नेतृत्वलाई भनेका थियौं', भण्डारीले भने, 'पार्टीको निर्णयका आधारमा नै हामी स्ववियु चुनावमा सहभागि भएका हौं।'

क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा सहभागिता जनाउनेबारे निर्णय नगरे पनि चुनावमा भाग लिनुपर्छ भन्नेबारे बहस भइरहेको भण्डारीले बताए। उनले भने, 'स्थानीय तहको चुनावमा भाग लिनुपर्छ भन्नेमा छलफल भइरहेको छ, यद्यपी निष्कर्षमा पुगिसकेका छैनौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Baidya g maupartyma aaunus 2bai Jana majjale chunav ladhda hunchhani ?aakhir padkai lagi party phodnuvaho kyare !