|

सुर्खेत : कर्णाली प्रदेशका कृषकले वार्षिक दुई प्रतिशत ब्याजमा ऋण पाउने भएका छन्। प्रदेशका कृषि तथा पशुपंक्षीका क्षेत्रमा व्यवसाय गर्ने किसानले वार्षिक दुई प्रतिशत ब्याजदरमा एक करोड रुपैयाँसम्म ऋण पाउने भएका हुन्।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई ऋण अनुदान दिनका लागि कृषि विकास बैंकसँग सम्झौता समेत गरेको छ। अब प्रदेशका व्यावसायिक रुपमा कृषि तथा पशुपंक्षी क्षेत्रमा काम गर्ने किसानका लागि पैसाकै कारण रोकिनुपर्ने अवस्था नआउने प्रदेश सरकारले जनाएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र कृषि विकास बैंकबीच भएको सम्झौताअनुसार व्यवसाय गर्न चाहने व्यक्ति तथा फर्मलाई वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ। यसरी ऋण लिए एक लाख रकमको वार्षिक दुई हजार मात्रै ब्याज तिर्नुपर्नेछ। ऋण लिँदा उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ। आफ्नो व्यवसायको प्रकृति र कार्ययोजनाअनुसार एक लाखदेखि एक करोड रुपैयाँसम्म ऋण लिन सकिने सम्झौता समेत गरिएको छ।

कृषि विकास बैंकमार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट दुई प्रतिशत वार्षिक ब्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबीच सम्झौता भएको हो। कृषि मन्त्री विमला केसीले काम गर्ने किसानका लागि यो सुनौलो अवसर भएको बताइन्। ‘अहिले गाँउमा मासिक पाँच प्रतिशत ब्याजदरमा ऋण लिएर व्यवसाय गरिएको कुरा सुनिन्छन्’, मन्त्री केसीले भनिन्, ‘अब वार्षिक दुई प्रतिशत ब्याजदर व्यवसाय गर्नेका लागि राम्रो अवसर हुनेछ।’

यस अवसरलाई सकारात्मक रुपमा प्रयोग गरे कर्णालीका युवाहरु बेरोजगार बस्न नपर्ने उनको तर्क छ। मन्त्री केसीले बैंकले धितो राख्न नसक्ने किसानका लागि पनि ऋण प्रवाह गर्नुपर्ने बताइन्। ‘अहिले धितो राखेर ऋण दिने व्यवस्था रहेको छ, अब विस्तारै विनाधितो ऋण लगानी गर्ने गरी बैंक तयारी हुनुपर्छ,’ उनले भनिन्, ‘आगामी दिनमा प्रदेश सरकारले कार्यविधि पनि संशोधन गरी बरु मन्त्रालय जमानी बसेर भए पनि काम गर्ने तर धितो नभएकाहरुलाई पनि ऋण प्रवाह गर्ने व्यवस्था गरिनुपर्छ।’

सम्झौतामा प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र र कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले सम्झौतामा हस्तक्षर गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.