|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले आफूहरुले भण्डाफोर कार्यक्रम सञ्चालन गरेकाले प्रमुख प्रतिपक्षी एमालेलाई तत्काल मधेसमा कार्यक्रम लिएर नजान आग्रह गरेका छन्।

एमालेले आइतबारबाट शुरु गर्ने भनिएको मेची –महाकाली अभियान मधेसमा सञ्चालन गरे अप्रिय घटना हुनसक्ने भन्दै त्यस्ता कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन्। ‘जुनसुकै दललाई आफ्नो कार्यक्रम लिएर जान पाउने अधिकार रहन्छ’ मोर्चाको एक घटक सद्भावना अध्यक्ष मनिषकुमार सुमन भन्छन् ‘तर मोर्चाले आन्दोलनका कार्यक्रम अन्तरगत भण्डाफोर अभियान चलाइरहेको बेला एमालेले त्यहीँ कार्यक्रम जुधाए स्थिति नियन्त्रण बाहिर जानसक्छ।’

मोर्चाको अर्को घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मधेसी समुदायको भावना र माग विपरीतका एजेण्डा एमालेले बोकेका कारण आन्दोलनकै बेला तराई/मधेशमा अभियान लिएर जाँदा भिडन्त निम्तिन सक्ने चेतावनी दिए। झाले भने ‘एमालेले मधेसको मुद्धामा फरक मत राखेको कारण हामीले चाहेर मात्र हुन्न जनता नैं एमालेको कार्यक्रम रोक्न लागिसकेका छन्।’

एमालेले मेची–काली अभियानको नाममा आइतबारदेखि झापाबाट तराईका जिल्लाका सांगठानीक कार्यक्रम सञ्चालन गर्दैछ। एमालेले २३ गते मंगलबार दिउँसो सप्तरीको राजविराजमा सार्वजनिक कार्यक्रम आयोजना गरेपछि मधेसी मोर्चाले अघोषित रुपमा चक्काजाम कार्यक्रम आयोजना गरेको छ।

मधेसी जनतालाई विगतमा अपमान गर्ने, असभ्य र अमर्यादित ढंगले गाली गरेका कारण एमाले अध्यक्ष ओलीलाई मधेसका जनताले नरुचाउने सुमनले जनाए। उनले भने ‘एमाले र अध्यक्ष ओलीले विगतमा मधेसीलाई अपमान गरेकोमा क्षमा माग्दै संविधान संशोधन बिधेयक पारित गर्न सहयोग/समर्थन वा अघि बढ्ने वातावरण बनाउन प्रतिवद्ध भए मात्र मधेसमा कार्यक्रम गर्न सजिलो होला नत्र असम्भव।’

प्रमुख प्रतिपक्षी एमालेल एक हजार बढी स्वयंसेवक परिचालन गरेर भएपनि राजबिराजमा कार्यक्रम सञ्चालन गर्ने अडान लिएको छ भने राजविराजमा स्थानीय स्तरमै एमालेले आयोजना गर्ने कार्यक्रमका बिरुद्ध मसाल जुलुस, चक्काजाम आदि कार्यक्रमको घोषणा गरेको छ। सद्भावना महासचिव सुमनले ओली प्रधानमन्त्री भएकै बेला ६ जना सप्तरीवासीको हत्या भएको र सयौं घाइते भएकाले सप्तरिका जनता ओलीलाई स्वागत गर्नुको सट्टा अझै आक्रोशित रहेको जनाए। 

पार्टी कार्यक्रमको प्रचारमा रहेका एमाले कार्यकर्तालाई विहीबार राजबिराजमा स्थानीयले रोकेपछि झडप भएको थियो। शुक्रबार बिहान एमाले सप्तरीका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई राजविराजकै हटियामा कालोमोसे दलेका थिए। भने जिल्ला सचिव शम्भु यादवलाई प्रचार गर्नबाट भगाएका थिए। शुक्रबार नैं मोर्चाका कार्यकर्ताले एमाले सांसद रञ्जुकुमारी झा सवार गाडीलाई तोडफोड गरेका छन्।

सप्तरिमा एमालेले कार्यक्रम गर्ने भनेपछि दिन प्रतिदिन मधेसीको आक्रोस बढ्दै गएकोले तत्काल राजबिराज लगायत मधेसका अन्य क्षेत्रमा कार्यक्रम स्थगित गर्न आफूले एमाले सचिव योगेश भट्टराईलाई अनुरोध गरेको सुमनले वताए। उनले स्थितिलाई अन्यत्र मोडेर मधेसी जनतालाई दमन गर्ने षडयन्त्र रचिएको आशंका व्यक्त गरे।

रामसपा महासचिव झाले समेत एमाले नेताहरुलाई संविधान संशोधन बिधेयक पारित नगरी संविधान कार्यान्वयन गर्नु पर्यो भन्दै मधेशमा कार्यक्रम लिएर गए मधेसी जनतालाई सशक्त प्रतिकार गर्ने स्थिति आएको बताए। ‘एमालेलाई हाम्रो अनुरोध छ, उहाँहरु मधेसीको माग बमोजिम संविधान संशोधन गरेर कार्यक्रम लिएर जाने कि कार्यक्रमको नाममा द्वन्द्व वा मुठभेड निम्त्याउने?’ झाको प्रश्न थियो ‘एमाले के मधेसी मोर्चाको भण्डाफोर कार्यक्रमलाई जुधाउन खोजेकै हो?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.