कटान गरिएको माटो खोज्न पत्राचार

|

नवलपरासी : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम धमाधम चलिरहेको छ। सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले कोरोना महामारीका कारण जारी लकडाउनमा रोकिएको कार्यलाई फेरी तिव्रता दिएको छ।

सडक विस्तारको काम भइरहँदा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र यस मोड यतिवेला चर्चामा रहेको छ। एसमोडमा डाँडै काटेर माटो अन्यत्र लगिएको छ। पहिला अग्लो डाँडो रहेको यस स्थान माटो कटान भएपछि अहिले समथर मैदानको रुपमा परिणत भएको छ।

डाँडै काटेर माटो उत्खनन कार्य भइरहँदा त्यसको प्रकृयाबारे चासो राखिएको छ। पारिजात सामुदायिक वनअन्तर्गत पर्ने यो क्षेत्रमा रुख कटानका लागि भने डिभिजन वन कार्यालयमार्फत छपान स्वीकृति भए अनुसार काटिएको, तर माटो उत्खननको विषयमा भने केहि जानकारी नपाइएको सामुदायिक वनका अध्यक्ष चूडामणि भण्डारीले बताए।

भण्डारीले माटो उत्खनन कार्य शुरू भएपछि सामुदायिक बनले चासो व्यक्त गरेको र सम्बन्धित अधिकारीसँग कुरा गर्न खोज्दा भेट्न नसकिएपछि उत्खनन कार्यमा संलग्नहरूलाई निकाल्न मिल्ने/नमिल्ने भन्ने विषयमा आधिकारीक कुरा नआएसम्मका लागि उत्खनन गर्न रोक्नु भनी जानकारी गराइएको बताएका छन्। सामुदायिक वनले माटो उत्खनन कार्य रोक्न लगाए पनि उत्खनन कार्य भने नरोकिएको भण्डारीको भनाई छ।

राजमार्ग विस्तार गर्ने क्रममा नियमअनुसार राजमार्गको केन्द्र भागदेखि २५ मिटर दायाँ र २५ मिटर बायाँतर्फ मात्र खन्न मिल्ने भएपनि यस मोडमा भने २५ मिटर भन्दा बढि भागबाट उत्खनन्‌ भएको देखिएको डिभिजन वन कार्यालय नवलपरासी पश्चिमका डिभिजन वन अधिकृत शंकर प्रसाद गुप्ताले बताएका छन्। वन क्षेत्रमा माटो उत्खनन भएको पाइएकोले सवडिभिजन वन कार्यालय बर्दघाट सरावल बाट कर्मचारी खटाएर वास्तविकता बुझ्ने काम भैरहेको गुप्ताले थाहाखबरलाई जानकारी दिएका छन्।

सडक विभागसँग डिजाइन माग गर्ने र थप अध्ययन गर्ने कार्यका लागि अनुसन्धान अधिकृत तोकेर अनुसन्धान शुरू गरिएको गुप्ताले जानकारी दिए। के कति मात्रामा उत्खनन भएको छ र कति मात्रामा उत्खनन गर्न मिल्ने हो भन्ने विषयमा अनुसन्धान पछि तयार हुने प्रतिवेदनमा उल्लेख गरिने पनि उनले बताएका छन्। डिभिजन वन कार्यालयमार्फत सडक डिभिजनलाई पत्राचार गरी जवाफ माग गरिएको गुप्ताको भनाई छ।

यस मोडबाट उत्खनन भएको माटो राजमार्ग विस्तारकै लागि प्रयोग भएको छ वा अन्यत्र गैरहेको छ भन्ने विषयमा स्थानीयले जिज्ञासा राखिरहेका छन्। निकै परिमाणमा माटो उत्खनन कार्य भएपछि बर्दघाट नगरपालिकाले पनि सडक विभागसँग जानकारीरू माग गरेको बताएको छ। नगर प्रमुख धीरज शर्मा बस्यालले माटो उत्खनन गर्दा प्रकृया पुरा गरे नगरेको, वातावरणीय प्रभाव मुल्याङ्कन गरे/नगरेको र के कति परिमाणमा उत्खनन गर्न पाउने हो भन्नेबारे जानकारी लिनका लागि पत्राचार गरिएपनि वास्ता नगरेको बताएका छन्। 'हामीले पटक पटक सडक डिभिजनसँगै कम्पनीका प्रतिनिधिहरूलाई बोलाएका छौं, उनीहरू आएकै छैनन्,' नगर प्रमुख बस्यालले भने।

यता नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत पश्चिम क्षेत्रका सूचना अधिकारी युवराज पाण्डेसँग जानकारी लिने प्रयास गर्दा उनले यस मोडमा भएको माटो उत्खनन् गर्ने कार्यमा केहि समस्या भएको बताएका छन्। आफू डिभिजन वन कार्यालय र मन्त्रालयमा धाउनुपरेकोले विस्तृतमा पछि कुरा गर्ने उनले बताए।

उत्खननपछि यस मोडमा अहिले फराकिलो मैदान बनेको छ। उक्त ठाउँबाट के कति परिणाममा उत्खनन भएको छ भन्ने बारेमा पनि कुनै तथ्य बाहिर आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.