कोरोनाले फूलको मूल्य ह्‍वात्तै घटेपछि किसानको मन खल्लो

|

काठमाडौं : ‘कोरोनाले गर्दा फूलको व्यापार छैन। डरले ग्राहक यहाँ आउँनै छोडे।’ बुधबार थाहाकर्मी पुग्नासाथ फूल टिप्दै गरेकी ईश्वरी श्रेष्ठले पोखेको गुनासोको गन्थन हो योे। दुई दिनदेखि उनको दैनिकी बारीमै बितेको छ। फूलका थुंगा टिप्नमा उनी व्यस्त छिन्। तर,उनको मुहार हसिलो देखिँदैन अघिल्लो वर्षजस्तो। 

तिहार आइसक्यो। त्यसो त यतिखेर नागार्जुन नगरपालिका वडा–३ इचङ्गु बस्ती फूलैफूलका थुंगाले ढपक्क ढाकेको छ। तर, कोरोनाले सोचेजस्तै फूलको मूल्य नपाउँदा किसानको मन खल्लो भएको छ। ईश्वरी भन्छिन्,‘यहाँको हाम्रो पेशा भनेकै फूल व्यवसाय हो। खै यसपालि त कोरोना डरले फूल बिक्नै छाड्यो।’

पुस्तौदेखिको फूलखेती अहिलेसम्म कुनै किसानको मनमा गुनासा,पीडा उब्जिएको थिएन। अक्सर, यसवर्ष कोरोनाका कारण  व्यापार नहुँदा रोजीरोटीदेखि पेशा नै खोसिने हो कि भन्ने चिन्ताले पिरोलिएको छ किसानको मन। ‘धेरै फूलको मूल्य घटेकाले अब कसरी घरखर्च चलाउने भन्ने चिन्ता छ।’ फूल टप्पटप्प टिप्दै ईश्वरीले सुनाइन्।  

उनका अनुसार करिब एक रोपनीमा फूल रोपेका छन्। अघिल्लो वर्ष एक ढ्वाङ(चार पाथी अट्ने टिनको भाँडो) को एक हजारसम्ममा बिक्री हुन्थ्यो। एक सिजनमा एक लाख भन्दा बढी कमाइ हुन्थ्यो। तर, यस वर्ष ढ्वाङको तीन सय ५० देखि मूल्य बढ्न सकेन।

ईश्वरीले भनिन्,‘पहिला मेरोमा दैनिक १२ देखि १५ जना सम्म ग्राहक फूल लिन आउँथे। अहिले त एक,दुई जनादेखि आउँदैनन्। फूल त रोपियो। अब सबै बिकेन भने गाईलाई त खुवाउनुपर्ने होला।’ 

फूललाई स्याहारसुसार गर्ने पनि निकै कठिन हुने सुनाउँछिन् उनी। ‘फूलको विरुवा रोपेर मात्रै हुन्न,’ फूल खेती गर्दाको दुख सुनाउँछिन्,‘बेला बेला मल हाल्नुपर्छ। गोडमेल गर्नुपर्छ।’ उनका अनुसार फूल एकान्त, सयपत्री,असर्फी,नवरंगीलगायत फूलका प्रकारहरू छन्। अहिले भने प्रायले एकान्त फूल रोपेका छन्। सर्वसाधारणले तिहारमा त्यही फूल प्रयोग गर्छन्।

इचङ्गुकी ठुली भुजेल पनि फूलको मुल्य यस वर्ष नपाउँदा चिन्तित छिन्। ‘लकडाउन भएकाले धेरै पनि फूल रोपेकी थिइन्,’उनले भनिन्,‘एक रोपनीमा रोपेको थिएँ। त्यो पनि नबिक्ने देखियो। भाउ पनि छैन।’ २०७२ सालबाट उनी फूल व्यवसाय गरेकी हुन्। अहिले उनको घरवरिपरि एकान्त फूल फूलेका छन। उनका अनुसार त्यहाँका किसान सिजन अनुसार फूल रोप्ने गर्दछन्। 

ग्राहक नआएपछि फूल बेच्न आफैँ बोकेर वसन्तपुरमा 

पहिला घरमै ग्राहकहरू फूल लिन आउँदा किसानलाई सजिलो हुन्थ्यो। तर, यस वर्ष भने किसानहरू फूल बोकेर वसन्तपुर बेच्न लान बाध्य परेका छन्। ‘अघिल्लो वर्षसम्म तिहार नजिकिदै गर्दा यहाँ फूल लिन आउने ग्राहकको ओइरो लाग्थ्यो’ इचङ्गुका अर्का फूल खेती किसान शान्त लामा सुनाउँछिन,‘चहलपहल धेरै हुँथ्यो। यस वर्ष त तिहार आइसक्दा पनि त्यस्तो चहलपहल केही छैन। त्यसैले हामीले टिपेका फूल वसन्तपुरमा बेच्न लान्छौँ।’

उनले जम्मा चार रोपनी जग्गामा फूल रोपेकी छिन्। मूल्य राम्रो पाएमा फूल खेतीबाट घरसमेत बनाउन सकिने उनी बताउँछिन्। ‘धेरै जग्गा हुनेले फूलबाटै लाखौँ कमाउँछन्,’उनले सुनाइन्,‘एक सिजनमै एक रोपनी फूलबाट ५० हजार भन्दा बढी कमाई हुन्छ। यसपालि त कोरोनाले डुबाइहाल्यो नि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.