‘सुन हराउनुभन्दा एक गिलास पानी पोखिए पछुतो लाग्छ’

|

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीकी जमुना तिवारी हिउँद लागेपछि बिहान चार बजे नै उठेर करिब एक घण्टा टाढा रहेको राहालेपानी वा आधा घण्टा टाढा रहेको धारापानीमा पानी बोक्न जान्छिन्।

ढिला हुँदाको दिनमा एक गाग्री पानी बोकेर घरमा आइपुग्दा १० सम्म पनि बज्छ। उनले यो नियति भोगिरहेको वर्षाैं भयो। ‘म बिहे गरेर आउँदा नि समस्या यही थियो। अहिले बूढी हुँदा पनि यही समस्या छ। जहिलेसुकै काकाकुल भएर बस्नुपर्ने यो ठाउँमा,’ उनले दुख पोखिन्, ‘बर्खा याममा आकाशे घैँटामा बलेसीको पानी जम्मा गरेर पिउने बनाइन्छ। हिउँद लागेसी पानी खेज्दै बिहान बित्छ।’ 

चुनावको बेलामा पानीको आश्वासन दिनेहरु चुनावपछि भने फर्केर नआउने गरेको गुनासो गर्दै तिवारीले शंकरपोखरीमा खानेपानीको आपूर्ति गराइदिने नेता पाएमा ती नेतालाई जयजयकार गर्दै सबैले सम्मान गर्ने धोको रहेको बताइन्।

‘धेरै जना भएको घरमा त बिहानै बिते पनि केही भएन। घरमा एकसरो महिला मात्र हुँदा त पानी लिन जानु कि खाना पकाउन? पानी लिएर आउँदा मेलामा जाने बेला भइसक्छ। भोकै हिँड्नुपर्छ,’ उनले थपिन्, ‘सबैभन्दा बढी समस्या महिलालाई भएको छ। यहाँ पानी ल्याइदिने नेता पाए त सबै मिलेर जयजयकार गरेर कति पो गरौँला भन्ने धोको छ।’

शंकरपोखरीकै चन्द्रबहादुर थापाले पैदल यात्रा गरेर करिब तीन घण्टामा पुग्न सकिने डहरेको लेकमा रहेको स्रोतबाट शंकरपोखरीमा पानी ल्याइएको भए पनि लामो दूरी हुँदा ठाउँठाउँमा पाइप भाँचिने गरेका कारण पानीको आपूर्तिको भर नभएको बताए।

‘हामीले आकाशे घैँटोमा जम्मा भएको पानी खान्छौं। नुवाइधुवाइ गर्न र पशुलाई पनि त्यही पानी हो। बरु सुन हराउँदा पछुतो लाग्दैन होला, एक गिलास पानी पोखिए त्यति पछुतो लाग्छ,’ उनले भने, ‘एक घर एक धारा बनाउने हुन् अरे भन्ने पनि सुनेको हो। खै अहिलेसम्म केही अत्तोपत्तो छैन्।’

आफू बच्चा हुँदा ग्रागी डोकोमा राखेर बोकेको सम्झिँदै उनले अहिले बुढेसकालमा पनि डोकोमा पानी ओसार्नुपर्दा देशमा सरकार नै नभएको लागेको बताए। सोही ठाउँकी ७० वर्षीया तुलसी तिवारीलाई हिउँदै भए पनि आकाशे वर्षा भइदिए हुँदो हो भन्ने लाग्ने गरेको छ।

बूढेसकालको शरीरले डेढ घण्टा टाढाबाट पानी ओसार्नुपर्दा उनको सास फुल्छ, हातखुट्टा गल्छन्। तर प्राण धान्न प्राणै फालेर पानीको खोजी गरेरै जीवन सकिन लागेको उनी बताउँछिन्।

‘बुहरी, नातिनातिना घरमा हुँदा त पानी ल्याउँछन्। म एक्लै परेको बेलामा कसरी पानी ल्याएर प्यास मेटुँ?’ तुलसी भन्छिन्, ‘हिउँद होस् कि बर्खा। सधैँ बर्खा भइदिए त घैँटामा पानी भरिने थियो। बिहानभर पानी खोज्न हिँड्नुपर्ने थिएन।’

जमुना, चन्द्रबहादुर र तुलसीले भोगिरहेको समस्या शंकरपोखरीका करिब ६ सयभन्दा बढी परिवारले भोगिरहेका छन्। यीमध्ये कोहीले पानीकै कारण योभन्दा बढी दुःख पाएका छन् त कोहीले केही कम।

दिनको एक समयमा थोरै भए पनि डहरेको लेकमा रहेको पानीको मुहानबाट पानी आउने गरेको भए पनि सडकको बिस्तारसँगै बिछ्याइएका पाइप फुटेपका छन्। देखिएका ठाउँमा मर्मत गर्ने गरिएको भए पनि निकै लामो दूरी भएका कारण हरेक दिनजसो ठाउँ ठाउँका पाइपमा समस्या आउँदा पानी नियमित आउँदैन्।

पिउने पानीको त अभाव रहेको शंकरपोखरीका कृषकले हिउँदे बाली लगाएर त्यसमा सिँचाइ गर्नु परको कुरा हो। सिँचाइका लागि तत्कालै कुनै योजना नभएको भए पनि खानेपानीको सहज आपूर्तिका लागि करिब ६० करोडको लगानीमा लिफ्ट सिस्टममार्फत लमाए खोलाको पानी तानेर वितरण गर्ने योजना रहेको वडाध्यक्ष अर्जुनबहादुर कार्की बताउँछन्।

उनका अनुसार लकडाउन अगाडिसम्म त्यसको काम धमाधम भइरहेकोमा हाल भने प्रभावित भएपछि बल्ल ट्यांकी निर्माणका काम पूरा हुन लागेका छन्। ‘अब शंकरपोखरीबासीले सधैँको जस्तो पानी पिउन पनि नपाउने अवस्था रहँदैन। लिफ्ट सिस्टमको खानेपानी आयोजनाको काम चलिरहेको छ,’ उनले आश्वासन दिए, ‘यो आयोजनाबाट शंकरपोखरीमा पानीको चरम संकटमा परेका ६ सयभन्दा बढी परिवारलाई पानीको आपूर्ति हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.