|

डडेल्धुरा : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ५५ वर्षीय हर्कबहादुर धामी दशैँको लागि पहाड घर दार्चुला आए। दशैँ उनले पहाड घर दार्चुलामै मनाए। देउता पुज्नको लागि दशैँमा उनी दार्चुला आएका हुन्।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार मनाउनको लागि उनी कञ्चनपुर घर जाँदै थिए।

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराति भएको बस दुर्घटनामा उनी घाइते भए। उनीसहित उक्त बस दुर्घटनामा ३४ जना भएका छन्।

‘देउता पुज्नको लागि दशैँमा पहाड आएको थिएँ। दार्चुलाको गोकुलेश्वरबाट बसमा बसेर आएको हुँ’, डडेल्धुरा अस्पतालमा उपचररत धामीले भने, ‘सामान पनि लिएको थिएँ। दाल, मकैलगायत तीन–चार कट्टा सामान पनि थियो।’

बिग्रेको थियो गाडी

बिग्रेको बस चालकले हाँक्दा दुर्घटना भएको घाइतेहरूको भनाई छ। ‘गाडी बिग्रेको थियो। चालकले चलाएर ल्याउँदा नै टायरबाट गन्ध आउँदैछ भन्दै त्यसलाई कस्दै आउँदै गरेका थियौँ’, धामीले भने, ‘हामीले चालकलाई बिग्रेको गाडी किन चलाउँदै हुनुहन्छ राम्रोसँग बनाउनुस् भन्यौं तर चालकले केही हुँदैन भनेर चलाएर ल्याए। त्यसको केही समयपछि त दुर्घटना भइहाल्यो।’ दुर्घटनामा परेका धामीलाई सामान्य चोट लागेको छ।

अछामका अमृत कुमाल दार्चुलामा स्काभेटर चलाउँथे। उनी पनि तिहार मनाउन अछाम घर आउँदै गर्दा बस दुर्घटनामा परे। उनी पनि अहिले डडेल्धुरा अस्पतालमा उपचररत छन्। उनको टाउकोमा चोट लागेको छ। उनी पनि दार्चुलाको गोकुलेश्वरबाट सो बसमा चढेका हुन्।

दुर्घटना भएको बसमा यात्रुको संख्या बढी नभएको उनी बताउँछन्। ‘यात्रु त त्यति धेरै थिएनन्। किनकि पछाडिमा सिटमा ६ जना बस्नको लागि हुन्छ तर हामी तीन जना मात्रै थियो। गाडी पाटन बजारबाट माथि चड्दा विस्तारै हिँडिरहेको थियो। गाडी अघि जाने रोकिने भइरहेको थियो।’ उनले भने, ‘गाडीमा केही न केही समस्या छ भनेर उत्रिन खोजेको हुँ म। विस्तारै विस्तरै लगिहाल्छ होला भन्ने लाग्यो। मलाई छिटो स्याउले पुगेर अछामको गाडी पनि चढ्नु थियो।’

पाटन नगरपालिका–८ खोड्पेमा बस पल्टिनु केहीअघि पनि उक्त गाडी दुर्घटना हुनबाट जोगिएको उनले सुनाए। ‘गाडीमा बसिरहेको थिएँ। केही अगाडि पनि चालकले बस फाल्न खोजेको थियो। गाडी फाल्छ कि भनेर डर लागिरहेको थियो। तर, त्यसको केही समयपछि त बस पल्टिहाल्यो’, कुमाल भन्छन्,‘गाडी चालकले नै चलाएको थियो। बसको अगाडि बसेको भए त हाम फालिहाल्थेँ होला। पछाडि बसेको थिएँ। गाडी तीन–चारचोटि पल्टेपछि बस टुक्राटुक्रा भयो अनि बाहिर निस्किएँ।’ बाहिर निस्किएपछि आफैं सडकमा आएको उनको भनाइ छ।

काठमाडौं जानका लागि खोचलेकबाट उक्त बसमा चढेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ का २२ वर्षीय नितेश भट्ट गाडी बीच बाटोमा बिग्रेको बताउँछन्।

‘बीचमा गाडी बिग्रियो भनेर चालकले बस राख्यो भयो। अनि गाडी बनाउनुभयो।’ उनले भने,‘बाटोमा हामी निधायौँ। खोड्पे नजिकै निधाइरहेको बेला गाडी रोडबाट तल खजेको महसुस भयो। गाडी चार पाँच पटक पल्टेपछि केही थाहा भएन। सबैले चिच्चाए पछि मात्रै थाहा दुर्घटना भएको थाहा पाएँ।’

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका–८ खोड्पे नजिकै बिहीबार राती साढे १० दुर्घटनामा परेको हो। दुर्घटना भएको बसमा दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, अछामका समेत यात्रु थिए।

सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका वीरेन्द्र कार्कीसमेत घाइते छन्। बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.