बदाम, ओखर र काजुले गर्छ स्वास्थ्यलाई धेरै राम्रो

|

काठमाडौं :  आज तिहारको भाइटीका।  तिहारमा टीका लगाएर दिदीबहिनीले आफ्ना दाजुभाइलाई विभिन्न प्रकारका मिठाईका साथै रोटीहरू भाइमसलाका रूपमा दिने गरेको पाइन्छ। तिहार भन्नेबित्तिकै विभिन्न प्रकारका रङ, बत्ती, मिठाई, रोटीहरूको पर्व भनेर चिनिने गरिन्छ।

कोरोना भाइरस संक्रमणले गर्दा यसपटकको तिहारमा गत वर्षहरुमा जस्तो चहलपहल देखिँदैन। अरू बेलाभन्दा तिहारको बेलामा मिठाईहरूको व्यापार धेरै हुने व्यापारीहरू बताउँछन्। छिटो र बजारमा सजिलै किन्न सकिने यस्ता मिठाईका परिकारहरूमा प्रयोग हुने विभिन्न प्रकारका रङ र रसायनहरू स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन्।

यसपटक धेरै जना कोरोना संक्रमित भएर आइसोलेसन बसेको र धेरै भर्खरै संक्रमण मुक्त भएको अवस्थामा तिहारमा खाने खानेकुरामा विशेष ध्यान दिनुपर्छ।तिहारमा दिदी-बहिनीले दाजुभाइलाई प्रेमपूर्वक दिने केही बजारिया मिठाइहरु अस्वस्थकर हुने हुँदा विशेष ध्यान दिनुपर्छ।

मिठाईमा मिसाइने रसायन र रङहरूले तत्कालीन रूपमा फुड प्वाइजन हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालसम्म असर गर्न सक्छ। जसले गर्दा स्वास्थ्यमा हानि पुर्‍याउँछ अझै  भर्खरै संक्रमण मुक्त भएकाहरूमा झन् यस्ता विशाक्त तत्व मिसाइएका खानेकुरा खुवाउँदा स्वास्थ्यमा असर गर्ने हुँदा विशेष ध्यान दिनुपर्छ।

घरमै बनाएको खानेकुरा उत्तम

तिहारको बेलामा दाजुभाइलाई विभिन्न प्रकारका मीठामीठा परिकारहरू दिने भन्दै दिदीबहिनीहरूले बजारमा लामो समयदेखि बनाएर प्लाष्टिकमा राखेका खानेकुराहरू दिने गर्छन्। लामो समयसम्म प्लाष्टिकमा प्याक गरेर राखिएका बासी खानेकुराले स्वास्थ्यमा असर गर्ने हुँदा सकेसम्म आफ्ना दाजुभाइलाई सकेसम्म घरमै बनाएको खानेकुरा दिनु राम्रो हुन्छ।

यस्ता खानेकुराले दाजुबहिनी, दिदीभाइबीचको आत्मीयतालाई बलियो बनाउनुका साथै घरमै बनाइएका खानेकुराहरू स्वास्थ्यका लागि पनि त्यति धेरै हानिकारक हुँदैन।

घरकै ताजा घ्यू, तेलमा बनाइएको विभिन्न प्रकारका रोटीहरू स्वादिष्ट हुनुका साथै शक्तिवर्द्धक पनि हुने गर्छन्।​ यसपटकको तिहार गत वर्षभन्दा अलि चिसो मौसममा परेको हुँदा यस्ता घरमै बनाइएका ताजा खानेकुराले शरीरलाई राम्रो पनि गर्छ।

बदाम, ओखर काजु धेरै दिनु राम्रो

तिहारमा सगुनका रूपमा दाजुभाइलाई ओखर, पास्ता, बदाम, काजु जस्ता खानेकुरा प्रशस्त मात्रामा दिँदा राम्रो हुन्छ। यस्ता खानेकुरामा शरीरलाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्त्वहरू पाइन्छ। यी पौष्टिक तत्त्व शरीरका लागि फाइदाजनक हुने गर्छन्। ओखरमा हुने तेल मुटुका लागि अत्यन्त राम्रो मानिन्छ।

यस्तै, ओखरमा हड्डी र छालालाई राम्रो बनाउने विभिन्न प्रकारका भिटामिन, मिनरल, आइरन र ओखरमा क्यान्सरबाट बचाउने विशेष प्रकारको तत्त्व पाइने भएकाले दाजुभाइलाई सगुनको रूपमा ओखर दिनु राम्रो हुन्छ।

अझै अहिले भर्खरै संक्रमण मुक्त भएका र कमजोर अनुभव गरिरहेकाहरू दाजुभाइहरूलाई यस्ता खानेकुरा दिनु धेरै राम्रो पनि हुन्छ।

बजारिया पेय पदार्थभन्दा घरमै बनाएको कागती पानी दियौँ

दाजुभाइलाई दिदिबहिनीले तिहारमा प्रेमपूर्वक मिठोमिठी खानेकुराको नाममा बजारमा पाइने विभिन्न खालका पेय पदार्थहरू दिने गर्छन्। जसमा पलाष्टिकको प्याकमा लामो समयदेखि प्याक गरिएका जुस, कोक जस्ता पेय पदार्थ दिने गर्छन्।

यसले तत्कालको समयमा मिठो लाग्ने भए पनि स्वास्थ्यको लागि त्यति राम्रो हुँदैन। अझै अहिले यस्तो कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको बेलामा झन् यस्ता खानेकुरा सेवन गर्नु राम्रो हैन। त्यसैले सकेसम्म दाजुभाइलाई घरमै बनाएको मोही दही अझै अहिलेको समयमा  कागती पानी दिनु राम्रो हुन्छ।

फलफूल दिनु धेरै राम्रो

तिहारमा दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्ण रूपमा दिइने खानेकुराहरूमा सकेसम्म मिठाई, चिल्ला रोटीभन्दा फलफूल, दही दिनु राम्रो हुन्छ। चाडपर्वको समयमा धेरै खानेकुरा खाने र शारीरिक व्यायाम कम गर्ने हुँदा शरीरमा उल्टो असर गरिरहेको हुन्छ।

तिहारको बेलामा धेरै प्रयोग हुने गुलिया परिकारहरूले शरीरमा ठूलो हानि पुर्‍याइरहेका हुन्छन्, जसले गर्दा तिहारलगत्तै धुमेह उच्च हुनुका साथै उच्च रक्तचाप भएका धेरै बिरामीहरू उपचारका लागि आउने गर्छन्।

त्यसैले दाजुभाइलाई सकेसम्म मौसमअनुसारका विभिन्न प्रकारका फलफूल, दूध-दही दिनु राम्रो हुन्छ। यी खानेकुरा सजिलै पच्ने र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रा मानिन्छन्।

बजारमा पाइने रंगीन मिठाई दिँदै नदिनु

विभिन्न प्रकारका रोटी र मिठाईहरूको प्रयोग तिहारमा बढी नै हुने गर्छ। तर, तिहारमा दाजुभाइलाई सगुनको रूपमा दिइने कतिपय यस्ता खानेकुराहरू स्वास्थ्यको दृष्टिकोण हानिकारक पनि हुन्छन्।

तिहारमा बासी तेल र विभिन्न रसायनिक रङहरूको प्रयोगबाट बनाइने यस्ता मिठाईहरू  दाजुभाइलाई दिँदा  शरीरमा चिनीको मात्रा बढ्नुका साथै धेरै गुलियो मिठाईहरू खाँदा माइग्रेन, मिर्गौलाको समस्या देखिने गर्छ। साथै यस्ता मिठाईहरू धेरैजसो दूध र मैदाबाट बनाइने हुँदा ग्यास्ट्रिक हुनसक्ने सम्‍भावना बढी हुन्छ। सकेसम्म दाजुभाइलाई बजारमा बनाइएका यस्ता मिठाईहरू खान दिनु उचित हुँदैन।

विभिन्न रङहरूको प्रयोग गरेर बनाइने मिठाईहरूमा क्यान्सर मुटु रोग निम्त्याउने विभिन्न खालका रासायनिक तत्त्व हुने गर्छन्।

वरिष्ठ पोषणविद् डा अरुणा उप्रेतीसँग गरिएको कुराकानीमा आधारित ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.