|

बैतडी : नौ जनाको ज्यान जाने गरी बैतडीमा दुर्घटना भएको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राती भएको बस दुर्घटना प्रकरणमा अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

दोगडाकेदार गाउँपालिका-७ खोचलेक घर भएका चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटना परी घाइते भएका कार्कीलाई माया मेट्रो अस्पताल धनगढीले डिस्चार्ज गरेलगत्तै शनिबार नियन्त्रणमा लिइएको हो। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिसकेको छ।

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘कानूनी रुपमै प्रक्रिया अगाडी बढाएका छौं, नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दा अन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेका छौं।’ नियन्त्रणमा लिइएका चालक गाडी धनी पनि हुन्‌। 

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर खोड्पेमा दुर्घटनामा परेको थियो। सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कैलाली र कञ्चनपुरका दुई/दुई जना गरी नौ जनाको ज्यान गएको थियो। चालक घाइते भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन। बस सडकबाट ६०० मिटर तल खसेको थियो।

चालकलाई प्रशिक्षण दिने तयारी 

यसैबीच बैतडीमा नौ जनाको ज्यान जानेगरी बस दुर्घटना भएपछि जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षहरूबीच सवारी दुर्घटना न्यूनीकरणका विषयमा छलफल भएको छ। यातायात व्यवसायी र अन्य सरोकारवाला पक्षहरूबीच छलफल भएको हो।

चालकहरूलाई समेत सवारी दुर्घटना न्यूनीकरणका बिषयमा प्रशिक्षण दिने तयारी भएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। ट्राफिक नियम र दुर्घटना न्यूनीकरणका विषयमा चालकलाई प्रशिक्षण दिने तयारी भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.