|

नवलपरासी :दीपावलीको समयमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायणीपारिको सुस्तावासीले गज्जवको उपहार पाएका छन्। उज्यालोको पर्व दीपावलीको पूर्व-सन्ध्यामा घर घरमा विजुलीबत्ती बाल्न पाएपछि त्यहाँका स्थानीयले आफूहरुलाई उपहार नै पाएको जस्तै महसुस भएको बताएका छन्।

‘हामी वर्षौदेखि टुकीकै साहरामा रातकाट्न र विद्युत् नहुँदा सञ्‍चार सुविधाबाट समेत वञ्‍चित हुँदै आएका थियौं यसपटक लक्ष्मीपूजामा झिलिमिली बिजुली बत्ती पाएका छौं। सरकारलाई यो उपहारका लागि धन्यवाद छ।‘ सुस्ताका स्थानीय कमल हरिजनले भने।  कमल मात्र होइन अहिले सबै सुस्ताबासीले सरकारको बलियो उपस्थिति भएको महसुस गर्न थालेका छन्।

भारतिय अतिक्रमणको चपेटामा परेकै कारण पटक-पटक चर्चामा आउने सुस्तामा आफ्नै भुमीबाट पुग्ने सडक संजाल नभएको अवस्थामा राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युतिकरण गर्नु असम्भवनै रहेको थियो। सरकाले सुस्ताबासीलाई उज्यालो दिन सौर्य मिनिग्रिडको अवधारणा अगाडि सारेर योजना सम्पन्न भएपछि सुस्ताबासीका घरघरमा अहिले बिजुली बत्ति बल्न थालेको छ।

दशैँअगाडि नै सुस्तामा घर-घरमा बिजुली पुर्‍याउने बताइए पनि कोरोनाका कारण दीपावलीको पूर्व-सन्ध्यामा सुस्तामा विजुली बलेको हो। सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले ग्रिडको सुईच अन गरेसँगै सुस्ताबासीका घर घरमा बिजुली बल्न सुरु गरेको छ।

औपचारिक उद्घाटन दीपावलीपछि गरिने भए पनि परीक्षणको रुपमा अहिले विजुली बाल्न सुरु भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन्।
पटक-पटक आश्वासन पाउने तर काम नहुँदा निराश बन्ने सुस्तावासी पछिल्लो समय धमाधम विकासका योजनाहरु सञ्‍चालन भइरहँदा भने दंग छन्। गत वर्षको कात्तिक ५ गते नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री बर्षमान पुनले सौर्य मिनिग्रिडको शिलन्यास गरेका थिए।

२०७७ असार ४ गते सम्म निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको टपसन ईनर्जी प्रालिले तोकिएको समयभन्दा झण्डै ५ महिना पछि निर्माण कार्य सम्पन्न गरेको हो। कोरोना भाईरस महामारीका कारण निर्माण कार्य प्रभावित भएका कारण केहि ढिला हुन पुगेको कम्पनीले जनाएको छ।

१ सय किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट सुस्ताका २ सय ६५ घरधुरीले बिजुली बाल्नेछन्।  सुस्ता बासीहरुका लागि विद्युतीय उपकरणको प्रयोग गर्न र स–साना खालका विद्युतिय ऊर्जाबाट संचालन हुने उद्योग संचालन गर्न पनि सहज हुनेछ। खेतियोग्य जमिनको सिँचाइ गर्न पनि विद्युतको प्रयोग हुनेछ। सुस्तामा सिँचाइ सहज हुनासाथ कृषजन्य उत्पादनमा बृद्धि हुने र साना लघु उद्योगहरु संचालन हुँदा आन्तरिक रुपमा रोजगारको पनि सिर्जना हुने सौर्य मिनिग्रिड निर्माण समितिका अध्यक्ष रविन्द्र जैसवालले बताए।


मिनिग्रिड निर्माणका लागि ४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैयाँ लागत लागेको हो। जसमा बैकल्पिक सौर्य उर्जा प्रवद्र्धन केन्द्रको २ करोड ८८ लाख ५५ हजार ३ सय ६१, संघिय मामिला मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रम अन्तरगतको १ करोड ७५ लाख र सुस्ता गाउँपालिकाको १७ लाख ३६ हजार ९ सय ७ रुपैयाँ लगानी रहेको छ।
सुस्ताको सौर्य मिनिग्रिडमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विशेष चासो रहेकोले उहाँ मार्फतनै उद्घाटनको लागि पहल भैरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका छन्। स्तामा अहिले जनता आवास कार्यक्रम अन्तरगत १ सय ५० घर सरकारकै तर्फबाट निर्माण भइरहको छ।

घर-घरमा विजुली बाल्न पाउँदा मख्ख परेका सुस्ता बासी नारायणीमा निर्माणाधीन अवस्थामा रहेको झलुङ्गेपुलको निर्माण कार्यले तिब्रता पाए आफ्नै भुमीबाट सहज रुपमा ओहोर दोहोर गर्ने दिनको पर्खाईमा रहेका छन्। अहिले सुस्ताबासी कि त नारायणीमा डुङ्गामार्फत यात्रा गर्नुपर्छ कि त भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.